दीपेन्द्रको टोलीले जित्यो ग्लोबल टि २० उपाधि



काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टी २० क्यानडा २०२३ को उपाधि जितेको छ ।

फाइनलमा अर्का नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई ५ विकेटले हराउँदै टाइगर्सले उपाधि जितेको हो । जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको टाइगर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।

टाइगर्सलाई अन्तिम ६ बलमा जितमा १३ रन चाहिँएको थियो । वेस्ट इन्डिजका क्रिकेटर आन्द्रे रसेलले अन्तिम बलमा छक्का हान्दै खेल र उपाधि टोलीलाई दिलाएका थिए । त्यसअघि दोस्रो बलमा रसेलले छक्का हान्दै जितको सम्भाबना बलियो बनाएका थिए । रसेल ६ बलमा १ चौका र २ छक्कासहित २० रनमा नटआउट रहे ।

दीपेन्द्रले १७ बलमा १ चौकासहित १६ रनमा रिटायर्ट हर्ट हुँदै रसेललाई मौका दिएका थिए । शेर्फान रदरफोर्ड २९ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा नट आउट रहे । रदरफोर्ड प्लेयर अफ द म्याच र सिरिज दुबैमा छनोट भए । क्रिस लिन ३५ बलमा ३१ र दीलप्रित सिंह १४ रनमा आउट भए । बलिङमा सन्दीपले ३ ओभरमा २० रन खर्चिदा विकेटविहीन भए । इफ्तिखर अहमदले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सर्रेले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । सर्रेका ओपनर जतिन्दर सिंहले ५७ बलमा ३ चौकासहित सर्वाधिक ५६ रनमा बनाए । उनी नटआउट रहे । आयन खानले १५ बलमा २ छक्कासहित २६ रन बनाएका थिए । आयन र जतिन्दर बाहेक अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङमा टाइगर्सका आयन खानले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । कार्लोस ब्रेथवेट, अब्बास अफ्रिदी र आन्द्रे रसेलले समान एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्