शिवशंकरको कमेडी झटारो लुछाचुँडी



हास्यकलाकार शिव शंकर रिजाल (जोगिन्दर पानवाला) ले गाईजात्रालाई लक्षित गर्दै कमेडी श्रव्यदृश्य लुछाचुँडी ल्याएका छन्।

ओएसआरको युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको लुछाचुँडीमा शिवशंकरले देशको राजनितिक, सामाजिक, आर्थिकजस्ता विभिन्न विषयका साथ भारतको हेपाहा प्रवृत्तिविद्ध समेत खुलेर चोटिलो व्यंग्य गरेका छन्। कमेडी प्रस्तुतिका क्रममा शिवशंरले देशका विभिन्न क्षेत्रमा भइरहेका भ्रष्टाचारविरुद्ध तिखो व्यंग्य प्रहार गरेका छन् भने भारतको सांसदमा नेपालको भूभागसहित राखिएको भारतको नक्सालाई समेत विषय बनाउँदै भारतको चेपा र हेपा प्रवृत्तिप्रति पनि उनले व्यंग्य गरेका छन्। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई समेत उनले व्यंग्यको विषय बनाउँदै यो निर्वाचनमा ठूलाठूला नेता हार्नुको कारण औंल्याएका छन्। व्यंग्य वाण प्रहार गर्ने क्रममा उनले हार्ने नेतादेखि जित्ने पार्टीसम्मलाई छाडेको छैनन्।

हरेक वर्ष गाईजात्राको छेको पारेर गाईजात्रे कमेडी प्रस्तुत गर्दै आएका कलाकार रिजालले विगतका वर्षमाजस्तै योपटक पनि प्यारोडी पनि समावेश गरेका छन्। योपटक उनले फिल्म घामड शेरेको चर्चित गीत कहिले साली मन प¥योलाई कहिले देउवा मन प¥यो, कहिले ओली मन प¥यो भन्दै रमाइलो प्यारोडी बनाएका छन्। गीतमा उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि आप्mनै पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुरसम्मलाई झटारो हान्न छोडेका छैनन्।

शिवशंकरलाई प्यारोडी गीत गायनमा प्रकाश ओझा, कर्णराज गिरी र राधिका हमालले साथ दिएका छन्। गीतका शब्द लोकराज अधिकारीले कोरेका हुन्। लुछाचुँडीमा कलाकार रिजालका अलावा घनश्याम गौतम (नक्कली प्रचण्ड), सुरेश तिमिल्सेना (नक्कली ओली) र गोपाल नेपाल (नक्कली देउवा) बनेका छन्। राधिका हमाल, सावित्रा लामिछाने, अर्जुन गिरी, ज्ञानदेव गिरी, प्रेम शर्मा पौडेल, शिवराम कार्कीलगायतले समेत यसमा अभिनय गरेका छन्। प्यारोडी गीतको नृत्य निर्देशन समन अधिकारीले गरेका छन् भने भिडियोको छायांकन ठिमी र स्वयम्भूमा गरिएको छ। कमेडीको लेखन, प्रस्तुति र निर्देशन भने शिवशंकर स्वयंले गरेका छन्।

गाईजात्राको अवसर पारेर विभिन्न माध्यमबाट दुई दशकदेखि लगातार गाईजात्रे कमेडी ल्याउँदै आएका रिजालको लुछाचुँडी २१औं प्रस्तुति हो। गतवर्ष उनले बकम्फुसाय नमः शीर्षकमा गाईजात्रे कमेडी ल्याएका थिए। सबैतिर लकडाउन भएको कोरोनाको समयमा समेत उनले लकडाउन ल्याएर मनोरञ्जन प्रदान गरेका थिए। गाईजात्रा हास्य कलाकारका लागि एउटा महान् उत्सव भएकोले सधै झै यो वर्ष पनि गाइजात्रे झटारो ल्याएको कलाकार रिजालले बताए। यो वर्ष पनि दर्शकश्रोताले मेरो कोसेलीमा माया दिनुहुन्छ भन्ने विश्वास छ, रिजाल भन्छन्।

प्रतिक्रिया दिनुहोस्