संसद्को गतिरोध अन्त्यका लागि सभामुख सक्रिय, सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग छलफल



काठमाडौं । सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन् ।

उक्त छलफलमा संसद्को गतिरोध अन्त्यका लागि सघन छलफल भइरहेको सभामुखको सचिवालयले बताइएको छ ।

निरन्तर संसदमा अवरोध हुन थालेको तथा ८ महिनासम्म संसदीय समितिको सभापति चयन गर्न नसकिरहेको बेला सभामुख घिमिरेले दलका शीर्ष नेतासँग छलफल गरेका हुन् ।

सभामुखले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसहित प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुनका लागि अनुरोध गरेका छन् ।

गत साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दलले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेपछि त्यसपछिका दुईवटा बैठक सूचना टाँसेर स्थगित भएको थियो ।

सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गरेर अवरोध हटाउन अनुरोध गरेका थिए भने प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गरिसकेका छन् ।

आइतबार पनि सिंहदरवारमा प्रमुख सचेतकहरुसँग छलफल गरेका सभामुखलाई सदनको अवरोध खुलाउन शीर्ष नेताकै तहमा बैठक बस्नुपर्ने सुझाव नेताहरुले दिएपछि शीर्ष नेताको बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्