वडा अध्यक्षको कृषिकर्म !



दोलखा । दोलखाको विगु गाँउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष दलबहादुर श्रेष्ठ जनप्रतिनिधिको जिम्मेवारीसंगै कृषिकर्ममा समेत सक्रिय छन् । श्रेष्ठले वडामा बसेर जनताको दैनिक काम र गुनासा सम्बोधनसंगै बचेको समय गोलभेडा लगायतका तरकारी खेतीमा सदुपयोग गरिरहेका छन् ।

मैले चारबर्ष अघिबाट विगु न्यु कृषि फर्ममार्फत गोलभेडा लगायतका तरकारी खेती गर्दै आएको थिए वडा अध्यक्ष श्रेष्ठले भने– गत बर्ष वडा अध्यक्षमा निर्वाचित भएपछि पनि कृषि कर्मलाई निरन्तरता दिई रहेको छु ।

वडा अध्यक्ष दलबहादुर श्रेष्ठले झण्डै २५ रोपनी जमिनमा कृषि खेती गरिरहेका छन् । गोलभेडाको लागि उनले १५ वटा टनेल निर्माण गरेका छन् । गोलभेडा खेतीबाटमात्र बार्षिक १०÷१२ लाख आम्दानी हुने वडा अध्यक्ष श्रेष्ठ बताउछन् । कूल आम्दानीमा झण्डै ५० प्रतिशत मुनाफा हुने श्रेष्ठको भनाई छ ।

श्रेष्ठले बार्षिक १४ हजार किलोसम्म सिर्जना जातको गोलभेडा बिक्रि गर्दै आएको बताए । सिजन अनुसार उनी ३० देखी ८० रुपैया केजीसम्ममा गोलभेडा बिक्रि गर्छन । उनले उत्पादन गरेको गोलभेडा धेरैजसो स्थानीय बजारमानै बिक्रि हुदै आएको छ । गाँउकै पसल, लामाबगरमा रहेको तामाकोसी जलविद्युत आयोजना, सिंगटी बजार र चरिकोट बजारमा गोलभेडाको खपत हुनेगरेको श्रेष्ठ बताउछन् । कुनै बेला भने काठमाडौँसम्म पनि उनले गोलभेडा पठाउने गरेको बताए ।

वडा अध्यक्ष श्रेष्ठले गोलभेडाको अलवा खोर्सानी, काउली, बन्दा र साग समेत उत्पादन गर्दै आएका छन् । गोलभेडा बाहेक अन्य तरकारी भने धेरै उत्पादन गर्न नसकिएको श्रेष्ठको भनाई छ ।

मैले वडा अध्यक्ष निर्वाचित भएर पनि कृषि व्यवसायलाई निरन्तरता दिएपछि धेरै वडाबासीलाई यो प्रेरणा समेत बनेको छ,’ वडा अध्यक्ष श्रेष्ठले भने । आफुले चारबर्ष देखि निरन्तर गोलभेडा लगायतका तरकारी खेती गर्दै आएकोले अन्य केही स्थानीयले समेत व्यवसायीक रुपमा तरकारी खेती सुरु गरेको र केही स्थानीयले अस्थाई रुपमा रोजगारी समेत पाएको वडा अध्यक्ष श्रेष्ठको भनाई छ ।

गाँउ फर्कनु अघि झण्डै नौ बर्ष काठमाडौँमा गोलभेडा व्यवसायनै गरेका दलबहादुर सरकारले कृषि व्यवसायलाई आवश्यकता अनुसार सहयोग गर्न नसकेको गुनासो गर्छन । गोलभेडामा कालो ढुँसी जस्तो रोग देखापर्ने र ठूलो हावाहुरी आयोभने धेरै नोक्सान हुने उनको भनाइ छ । यसको लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले कृषि विमालाई महत्वका साथ व्यापक बनाउनुपर्र्नेे श्रेष्ठ बताउछन् ।

विगु गाँउपालिकाका प्रवक्ता लोकबहादुर नेपाली पालिकाले कृषि व्यवसाय प्रवद्धनको लागि यो बर्ष सवारी साधन खरीदको लागि बजेट विनियोजन गरेको र सवारी साधन खरीद पछि कृषकहरुले उत्पादन गरेको तरकारी लगायतका सामग्री न्युन शुल्कमा बजारसम्म पु¥याईदिने नेपालीको भनाइ छ ।

पालिकाले अहिले पनि विउ विजन, औषधि र प्राविधिक सहयोग गर्दै आएको र वडा नम्बर ६ विगुलाई आलुको पकेट क्षेत्र घोषणा गरी काम गरिरहेको प्रवक्ता नेपालीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्