सय किलो सुन तस्करी प्रकरण : अब सीआईबीले अनुसन्धान गर्ने



काठमाडौं । विमानस्थल नजिकैबाट बरामद भएको एक सय किलो सुनको अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गर्ने भएको छ ।

उक्त सुन बरामद गरेको राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको सुनको बारेमा अनुसन्धान गरेको विभागले सुनका खास व्यापारी पत्ता लगाउन नसकेपछि थप अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिने निर्णय गरेको हो । १९ दिन लामो अनुसन्धानमा मुख्य अपराधी पत्ता लगाउन नसकेको विभागले अन्ततः थप अनुसन्धानका लागि नेपाल प्रहरीको साहारा लिने निर्णय गरेको छ ।

विभागले आइतबार पत्रकार सम्मेलन गरी विभागका महानिर्देशक नवराज ढुंगानाले पक्राउ परेको सुन तस्करीमा संगठित आपराधिक गिरोहको संलग्नता रहेको पाइएकाले थप अनुसन्धान गर्न प्रहरीलाई जिम्मा दिएकोे जानकारी दिनुभयो ।

विभागले गठन गरेको अनुसन्धान टोलीले मुख्य अपराधी पत्ता लगाउन नसकेको स्वीकार गर्दै भन्नुभयो– ‘हामीसँग साधन स्रोत र अनुसन्धान गर्ने विधि नभएकाले प्रहरीको विज्ञ समूहलाई जिम्मा दिने निर्णय गरेका छौं ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मातहतमा रहेको राजस्व अनुसन्धान विभागले शुरूमा अनुसन्धान गर्न विभाग आपंmैं सक्षम रहेको दाबी गर्दै अनुसन्धानमा प्रहरीको आवश्यकता नरहेको बताउँदै आएको थियो । विभागले ५ जना अधिकृत संलग्न रहेको छानबिन समिति पनि गठन गरेको थियो । विभागको टोलीले सुन कसको हो भन्ने जानकारीसमेत पाउन नसकेपछि आइतबार साँझ हालसम्म भएको अनुसन्धानको फाइल र पक्राउ परेका १९ जनालाई नै प्रहरी प्रधान कार्यालयको जिम्मा लगाएको छ । विभागका सूचना अधिकारी नवराज अधिकारीले हाल विभागका हिरासतमा रहेका सुन काण्डका अभियुक्त भनिएका सबैलाई सीआईबीको हिरासतमा पठाएको जानकारी नेपाल समाचारपत्रलाई दिनुभयो ।

सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेताहरूकै नाम आउन थालेपछि अनुसन्धानमा शिथिल बनेको विभागको टोलीले आफूहरूसँग अनुसन्धान गर्ने विज्ञ टोली नभएको बहाना बनाएर थप अनुसन्धान गर्न प्रहरीलाई जिम्मा लगाउने निर्णय गरेको बताइएको छ ।

उक्त सुन काण्डको अनुसन्धान गर्ने जिम्मेवारी पाएका सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्रार्चायले उक्त सुन काण्डलाई टुंगोमा पु¥याउने बताउनुभयो । उहाँले यो गम्भीर प्रकारको संगठित अपराध भएकाले सीआईबीले गहन रूपमा अनुसन्धान गरेर टुंगोमा पु¥याउने दाबी गर्नुभयो । विभागले अहिलेसम्म गरेको अनुसन्धानको फाइल हेरेपछि यसलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरेर अघि बढ्ने बताउँदै भन्नुभयो– ‘यो अनुसन्धान नेपालभित्र मात्र नभएर नेपाल बाहिर पनि गर्नुपर्ने भए पनि सीआईबीले गर्ने बताउँदै अनुसन्धानमा कुनै कसर बाँकी राख्दैनौं ।’

हाल ललिता निवास जग्गा काण्डको अनुसन्धान गरिरहेको सीआईबीले अब सुन काण्डको समेत छानबिन गर्ने भएपछि सुन काण्डमा मुछिएका नेपालका नेता तथा व्यापारीको मनमा ढ्यांग्रो ठोक्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्