लम्पीका कारण ४८ हजार पशुवस्तु मरे ११ लाख संक्रमित



–मन्त्रालयले अघि सा¥यो रोग नलागेका पशुवस्तुलाई मात्र खोप अभियान
–पशुवस्तु क्वारेन्टाइन नराख्ने गरेकै कारण रोग फैलियो
–रोग लागेपछि खोप लगाउनु महामारी फैलाउनु हो

काठमाडौं । देशव्यापी रूपमा पशुवस्तुमा फैलिएको लम्पी स्किन रोगको महामारी सातै प्रदेशका ७७ जिल्लामा फैलिएको छ । लम्पी स्किन रोगका कारण देशव्यापी रूपमा ठूलो संख्यामा पशुवस्तु संक्रमित हुनुका साथै मृत्यु भएको कृषि मन्त्रालय पशुसेवा विभागले जनाएको छ ।

महामारीका रूपमा फैलिएको यो रोगका कारण देशव्यापी रूपमा ११ लाख पशुवस्तु संक्रमित हुनुका साथै ४८ हजार पशुवस्तुको मृत्यु भएको विभागका सूचना अधिकारी चन्द्र ढकालले बताउनुभयो ।

गत वर्ष २०७९ फागुन, चैत्रदेखि फैलिएको यो रोगको उपचारका लागि सरकारले औषधिउपचार गर्नुका साथै रोगै लाग्न नदिनका लागि खोपको व्यवस्था गरेको जनाएको छ । रोग लागेका पशुवस्तुको औषधोपचार गर्न मिल्ने तर खोप लगाउँदा थप संक्रमण हुने हुनाले मन्त्रालयले रोग नलागेका पशुवस्तुलाई मात्र खोप अभियान अघि सारेको जनाएको छ ।

वागमती प्रदेशमा मात्र ९६ हजार पशुवस्तु संक्रमित भएका छन् भने १ लाख ३० हजार पशुवस्तुलाई भ्याक्सिनेसन गरिसकिएको पशुपन्छी विकास महाशाखा, वागमती प्रदेश पशुविकास अधिकृत, डा. निशान्त गेलालले जानकारी गराउनुभयो ।

वागमती प्रदेशमा १२ लाख पशुवस्तु रहेकोमा १२ प्रतिशतलाई लम्पी रोगविरुद्धको खोप लगाइसकेको र यही श्रावण २५ गतेदेखि ३१ गतेसम्म वागमती प्रदेशमा लम्पी रोग नलागेका पशुवस्तुलाई खोप लगाउने कार्यक्रम रहेको डा. गेलालले बताउनुभयो । उहाँका अनुसार यो खोप अभियानले ६५ लाख पशुवस्तु समेटिने अनुमान गरिएको छ ।

डा. गेलालका अनुसार वागमती प्रदेशमा लम्पी नियन्त्रणका लागि एउटा जिल्लालाई ५ लाखदेखि ९ लाखसम्म बजेट बिनियोजन भइसकेको छ । यसका साथै प्रत्येक जिल्लामा थप आकस्मिक बजेटसमेत निकासा गरिएको छ । यो खोप रोग नलागेका पशुवस्तुमा मात्र लगाउन मिल्छ । रोग लागिसकेका पशुवस्तुमा खोप लगायो भने महामारीको रूप लिन्छ । एकपटक रोग लागेका पशुलाई औषधि उपचार गर्न मिल्छ तर रोगविरुद्धको खोप लगाउन मिल्दैन । यस्ता पशुलाई एक वर्षपछि बुस्टर डोज लगाउन मिल्छ । रोग लागेका पशुलाई रोगसँग लड्ने क्षमताको विकास आफैं भएको हुन्छ । यो खोपले १६ प्रतिशतसम्म कभरेज गर्ने योजना रहेको छ । खोप नेपाल सरकारले स्वीकृत दिएको नेटफिलिङ ४ प्रकारको रहेको र सोही खोप लगाउने गरेको छ ।

यो रोग २०७७ साल असार महिनामा मोरङमा देखा परहेको थियो । गत वर्ष चैत्रबाट देखा परेको लम्पी बजेट अभावका कारण समयमै नियन्त्रण गर्न नसकेका कारण यति धेरै फैलिएको डा. गेलाल बताउनुहुन्छ । आतसी रोग नियन्त्रण योजनाअनुरूप गरिएको उपचार लम्पी स्किन डिजिज खुला सीमा, झिंगा, लामखुट्टे, किर्नाबाट सर्ने गर्छ । यो रोग खुला सीमाबाट विकासे जातका गाई भारतबाट ओसारपसार गर्ने र क्वारेन्टाइन नराख्ने गरेकै कारण फैलिएको डा. गेलाल बताउनुहुन्छ । यो रोगको रोकथामका लागि सरसफाइमा ध्यान दिनुपर्छ । पहिलाको दाँजोमा अहिले धेरै नियन्त्रणमा आएको उहाँको दाबी छ ।

डा.गेलाल भन्नुहुन्छ– यो रोग पशुबाट मानिसमा सर्दैैन । दूध राम्रोसँग उमालेर खायो भने कुनै पनि पशुबाट सर्ने दुग्धजन्य रोग सर्दैन र यो रोग पनि पशुबाट मानिसमा सर्दैन । तर, यो रोग लाग्नुअघि खोप उपयोगी भए पनि रोग लागेपछि खोप लगाउनु महामारी फैलाउनुजत्तिकै हुन्छ । रोग लागेको थाहा पाउनेबित्तिकै उपचार गर्नुपर्छ निको हुन्छ । रोग एक ठाउँबाट अर्को ठाउँमा नसरोस् भन्नका लागि अनावश्यक आफ्ना र अरूका गोठमा नजान पनि सल्लाह दिनुहुन्छ । यो रोगबाट २ देखि ५ प्रतिशत पशुको मृत्यु हुने गरेको भए पनि हालसम्म ३ प्रतिशतको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्