ज्ञानेन्द्र मल्लद्वारा सन्न्यासको घोषणा



काठमाडौं ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा एक सफल ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।

ज्ञानेन्द्रले शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् । ज्ञानेन्द्रले अन्तराष्ट्रीय तथा घरेलु गरी सबै क्रिकेट करिअरबाट सन्न्यासको घोषणा गरेका हुन् । तसर्थ सन् २००६ देखि नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका ज्ञानेन्द्रको लागि गत जुलाई ४ मा आयरल्यान्डविरुद्ध भएको खेल नै करियरको अन्तिम खेल बन्न पुगेको छ ।

सन् २००५ यू-१५ टोलीबाट राष्ट्रिय युवा टोलीमा डेब्यू गरेका ज्ञानेन्द्रले सोही वर्ष यू-१७ र यू-१९ प्रतियोगिता पनि खेलेका थिए । सन् २००६ मा इन्टरकन्टिनेन्टल कपबाट सिनियर राष्ट्रिय टोलीमा डेब्यू गरेका मल्लले १८ वर्षसम्म नियमित राष्ट्रिय टोलीका प्रमुख खेलाडीको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

नेपाली क्रिकेट इतिहासका एक सफल क्रिकेटर ज्ञानेन्द्रले नेपालबाट ३७ ओडिआईमा सात अर्धशतकसहित ८ सय ७६ रन बनाएका छन् । उनले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक ओडिआई खेलमा डेब्यू गर्दै ५१ रन बनाएका थिए । ओडिआईमा ज्ञानेन्द्र अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याट्सम्यान समेत हुन् । ज्ञानेन्द्रले ४५ टि२० आईमा नेपालबाट एक शतक र दुई अर्धशतकसहित कुल ८ सय ८३ रन बनाएका थिए ।

उनी नेपालबाट टि२० आईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । उनले २० बलमै २०१९ मा मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । उनी अघि बिनोद भन्डारीले २५ बलमा अर्धशतक पूरा गरेका थिए । उनले १३औं सागमा २०१९ मा भुटानविरुद्ध १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए । ज्ञानेन्द्र पछिल्लो समय टोलीमा कम मौका पाउँदै आएका थिए । गत फागुनमा उनको स्थानमा भीम सार्कीले राम्रो प्रदर्शन गरेपछि टोलीमा कम अवसर पाएका थिए । लगातार कमजोर प्रदर्शनपछि ज्ञानेन्द्रले सन्न्यास लिने निर्णय लिएका हुन् ।

पूर्वकप्तान पारस खड्काले सन्न्यास लिएको दुई वर्षपछि ज्ञानेन्द्रले पनि नेपाली क्रिकेट टोलीबाट विश्राम लिने निर्णय लिएका हुन् । पारसले कप्तानी छाडेपछि ज्ञानेन्द्रले २०१९ देखी २०२१ सम्म नेपाली क्रिकेट टोलीको नेतृत्व गरेका थिए ।पारस खड्का सन् २००९ मा कप्तान हुँदा ज्ञानेन्द्र उपकप्तान चुनिएका थिए। ज्ञानेन्द्रले १२ टि२० आईमा कप्तानी गर्दा ९ मा जित र तीन खेलमा हार ब्यहोर्न पुगेका थिए । १० ओडिआई खेलमा कप्तानी गर्दा ६ मा जित र चारमा हार बेहोरेको थियो । ज्ञानेन्द्रले सन् २०१२ मा एसिसी ट्रफी इलिटमा साउदी अरेवियाविरुद्ध एकै ओभरमा लगातार ६ चौका प्रहार गरेका थिए ।

२०१४ को डिभिजन थ्रीमा उनले सिंगापुरविरुद्ध १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए । २०१९ को १३औं सागमा ज्ञानेन्द्र प्रतियोगिता उत्कृष्ट ब्याट्सम्यान चुनिएका थिए । नेपालले डिभिजन फाइभदेखि थ्री, २०१४ मा टि२० विश्वकप खेल्दा र २०१८ मा ओडिआई मान्यता पाउँदा ज्ञानेन्द्र टोलीका महत्वपूर्ण सदस्य थिए । ज्ञानेन्द्रले नेपालबाट यु१९ विश्वकप २००६ र २००८ मा खेलेका थिए । औपचारिक रूपमा सन्न्यासको घोषणा गर्ने क्रममा उनले भने-यो मेरो लागि उपयुक्त समय भएकाले सन्न्यास लिएको हुँ । यसै वर्ष नेपालले ओडीआई मान्यता जोगाउने यात्राका क्रममा खेलिएको विश्वकप लीग-२ मा पनि उनको महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सोही प्रतियोगिताको क्रममा ज्ञानेन्द्रले नामिबियाविरुद्धको खेलमा दोस्रो विकेटका लागि आसिफ शेखसँग मिलेर १ सय ३९ रनको साझेदारी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्