जुवा खेल्ने, खेलाउने र हेर्नेसहित २२ जना पक्राउ



लमजुङ । लमजुङ प्रहरीले बिहिबार साँझ जुवा खेल्ने, खेलाउने र हेर्ने गरि २२ जनालाई पक्राउ गरेको छ ।
बेसीसहरबाट खटिएको प्रहरी अप्रेसन टोलीले मस्र्याङ्दी गाउँपालिका ९, तल्लो पामचोकस्थित एक घरबाट जुवाडेलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट करिब साँढे ४ लाख रूपियाँसहित कौडा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा छिमेकी जिल्ला गोरखाका र केही लमजुङका रहेका छन् । उनीहरूको पहिचान गर्न मुचुल्का उठाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

विशेष सुराकको आधारमा जुवाडे पक्रिन ३ भ्यान प्रहरी परिचालन भएको थियो । जुवाडेले प्रयोग गर्ने गरेको सेतो गाडीको प्रहरीले केही समयदेखि फलोअप गरिरहेको स्रोतले बतायो ।

घटनाबारे विस्तृत विवरण प्रहरीले दिएको छैन । प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय ल्याईएको र मुचुल्का उठाउने कार्य भैरहेका बताए ।

प्रतिक्रिया दिनुहोस्