ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको औषधीसहित एक जना नियन्त्रणमा



काठमाडाैं ।

ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित औषधिसहित मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ चुरियामाईस्थित पूर्व पश्चिम लोकमार्गबाट साउन १८ गते सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । काभ्रे जिल्लाको मन्डन देउपुर नगरपालिका ९ बस्ने अन्दाजी ५० वर्षीय ज्ञानेन्द्र कुमार सापकोटालाई नं. १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो।

बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र.०१–००६ ख २६५६ नम्बरको ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको १ लाख ३१ हजार ७ सय ६० वटा ट्रमाडोल ट्याब्लेट र १ सय ५० वटा म्याड गुज्रीएको महरिच मल्टि भिटामिन ट्याब्लेट सहित उनलाई नियन्त्रणमा लिईएको हो । उनी ट्रकका चालक रहेका छन् ।

साथै ट्रकमा लोड गरी ल्याउँदै गरेको करीव १४ लाख ४६ हजार रुपैयाँ बराबरको लत्ताकपडा र प्रिन्टिङ्ग पेपरको बिलविजक फेला नपरेपछि उक्त लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिईएको हो । नियन्त्रणमा लिइएका सापकोटालाई बरामद औषधीसहित आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग शाखा कार्यालय बिरगंजमा र बरामद लत्ताकपडा, प्रिन्टिङ्ग पेपर र ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

चोरी निकासीको सामान बरामद:

इलाम जिल्लाको सर्योदय नगरपालिका २ स्थित दुईमाईल ईलाकाबाट साउन १७ गते सशस्त्र प्रहरीले ७ लाख ७८ हजार ४ सय रुपैयाँ बराबरको चुरोट र टु मेन टेन्ट (पाल) बरामद गरेको छ ।नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्यको खुकुरी, शिखर, पाइलट चुरोट र ५ थान पाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरले बरामद गरेको हो ।

सोही ठाउँमा रहेको जंगलको बाटो हुँदै लैजाँदै गरेका व्यक्तिहरुले गस्तीमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै चुरोट तथा पाल सोही ठाउँमा छाडी फरार भएका थिए । बरामद सामान पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाईएको छ ।

चोरीपैठारीको चिनीसहित दुई वटा मोटरसाईकल नियन्त्रणमा:

रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका ३ छोड्की रामनगर ईलाकाबाट साउन १८ गते सशस्त्र प्रहरीले करीव १ लाख ४७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको चिनीसहित मोटरसाईकल नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले दुई वटा मोटरसाईकलमा ल्याउँदै गरेको उल्लेखित मुल्यको ३ सय के.जी. चिनी प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले नियन्त्रणमा लिएको हो । बरामद चिनी तथा मोटरसाईकल भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्