डेंगु नियन्त्रणमा सरकार उदासीन



नेपालमा एकपछि अर्को स्वास्थ्य समस्या बढिरहनुको पछाडि सरसफाइमा ध्यान नपुग्नु नै हो । यति बेला विशेष गरी तराई तथा शहरी भेगमा बसोबास बढ्दै गएका क्षेत्रमा कोभिड–१९ पछिको अर्को महामारी डेंगु फैलिएको छ । डेंगुका कारण संक्रमण र मृत्युको संख्या बढ्दै गएको छ । यस अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रणका लागि ठोस कार्यक्रम अघि सार्न ढिला भैसकेको छ । डेंगुकै कारण विगत वर्षमा पनि झन्डै ५५ हजार मानिस संक्रमित भए । डेंगुको संक्रमण वर्षायाम शुरु भएदेखि करिब ३ महिना बढ्ने र जाडो मौसम शुरु भएसँगै आफैँ हराउने गथ्र्यो । तर गतवर्ष शुरु भएको डेंगुको समस्या कुनै पनि महिना ब्रेक भएन र यो आठ महिनाको अवधिमा ५ हजार ६ सय ८८ जनामा डेंगु संक्रमण देखिनुका साथै ४ जनाको मृत्यु भएको तथ्यांक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयको दायित्व र कर्तव्य भनेको देशमा कुनै रोगले महामारीको रुप लियो भने त्यसलाई तत्काल नियन्त्रण गर्न के–कस्ता विधि अपनाउनुपर्ने हो, त्यतातर्फ शीघ्र लाग्नु हो । यति बेला त्यस्तो नभएर सरकारको ध्यान कसरी हुन्छ आफू र आफ्नालाई धनी बनाउने र देश टाट पल्टाउनेतिर गएको भान आम नागरिकलाई भएको छ । पानी जमेर लामखुट्टेको बासस्थान बढ्दै गएको र लामखेट्टेको वृद्धिसँगै डेंगु फैलिएको जानकारी पाएको सरकारले यसको नियन्त्रणका लागि किन ध्यान दिँदैन ? सन् २००४ मा चितवनमा एकजनामा डेंगु प्रमाणित हुँदा सरकारले निकै चनाखो भएर नियन्त्रणका लागि सबै शक्ति प्रयोग ग¥यो र नियन्त्रण सम्भव भयो । सन् २००५ मा एकजना पनि डेंगुका बिरामी देखिएनन् । यसपछिका वर्षमा केही संख्यामा डेंगुका बिरामी तराई भेगमा मात्र देखिँदै आएको थियो । यस वर्ष वर्षा शुरु हुनुअघिदेखि हालसम्म ७० जिल्लामा ज्यान नै जाने गरी डेंगु फैलिसकेको छ । सरकारसँग डेंगुका कारण कतिको ज्यान गयो भन्ने यकिन तथ्यांक छैन । एक साताअघि मात्र डेंगु भएको एक बिरामीलाई ब्रेन ह्यामरेज भएर काठमाडौं मेडिकल कलेज, अल्का अस्पताल, अन्नपूर्ण न्यूरो चहार्दा चहार्दै मृत्यु भयो । यस्ता कैयौँ घटना सरकारको रेकर्डमा छैनन् ।

स्वास्थ्य महामारी नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयका साथ सिंगो सरकारको ध्यान पुगोस् र आम नागरिकको स्वस्थ भएर बाँच्न पाउने नैसर्गिक अधिकारको रक्षा गरियोस् । बिरामी कसरी बढाउने र त्यही नाममा विश्वसामु हात फैलाएर आम नागरिकको स्वास्थ्यलाई दाउमा लगाउने काम नगरियोस् । जनताको मृत्यु कुन रोगले भयो भन्ने थाहा नपाउने सरकारले सस्तो लोकप्रियताका लागि यति बेड फ्री गरियो, गाउँ–गाउँमा स्वास्थ्यकर्मीको व्यवस्था गरियो भन्नुभन्दा पनि बिरामीको संख्या घट्यो, अब स्वस्थ नागरिकहरुको देशका रुपमा छुट्टै पहिचान बनाउन लागिपरेका छौँ भनियोस् । यति बेला डेंगुको पीडाले छटपटिएका नागरिकले फ्री बेड हैन, रोगबाट मुक्ति कसरी पाउने र रोग नै नलाग्न के गर्ने भन्ने बारेमा घरमै सरकारको सेवा र उपदेश खोजेका छन् । सरकारको ध्यान जनतालाई रोगी बनाएर मागी खाने भाँडो बनाउने नभई रोग नै लाग्न नदिन के गर्न सकिन्छ र स्वस्थ नागरिकको पहिचानसहितको मुलुक बनाउन के गर्ने भन्नेतर्फ केन्द्रित होस् । नेपालले पनि विश्वले मनाउँदै आएका दिवसलाई नारामा हैन व्यवहारमा उतार्दै स्वस्थ नागरिकको परिकल्पनासहित डेंगु नियन्त्रणका लागि कटिबद्ध भएर लागोस् ।

प्रतिक्रिया दिनुहोस्