सुनकाण्डको अनुसन्धानमा आशंका



अहिलेसम्मकै सबैभन्दा ठूलो सुन तस्करी प्रकरणको पटाक्षेप कसरी हुन्छ ? यो आम नागरिकको चासोको विषय बनेको छ । सुन तस्करहरुले नेपाललाई गोल्डेन ट्रयाङ्गलको रुपमा प्रयोग गर्दै आएको विषयमा अब द्विविधा रहेन । राजस्व अनुसन्धान विभागले विमानस्थलबाट बाहिरिएको सुन समातेपछि नेपाल तस्करहरुका लागि स्वर्गजस्तै रहेछ भन्ने छर्लङ्ग भएको छ । राजनीतिक नेतृत्वमा देखिएको भ्रष्टीकरण र नेपालका सरकारी निकायमा कार्यरत उच्चपदस्थ अधिकारीहरु पैसाका लागि जे पनि गर्न तयार रहनुले विश्वका सामु नेपालीको शिर झुक्दै गएको छ । अहिले सार्वजनिक भएको सुन काण्डपश्चात् दलका नेताका समेत नाम आउन थालेपछि राजस्व अनुसन्धान विभागले शुरु गरेको अनुसन्धान पूरा होला भन्नेमा आशंका उत्पन्न भएको छ । विभागले नेपालमा हुने सुन तस्करीका विषयमा छानबिन गर्न टोली गठन गरे पनि यो टोली राजनीतिक हस्तक्षेपबाट मुक्त होला त ? आम नागरिकले अहिले यो प्रश्न गर्न थालेका छन् । विभाग हिजो १ सय केजी सुन बरामद गर्दा जति उत्साहित थियो अहिले शिथिल बन्दै गएको हो कि भन्ने शंकासमेत उत्पन्न हुन थालेको छ । नेपाल भ्रष्टहरुको देशको सूचीमा सूचीकृत हुँदै जाँदा पनि राज्य चलाउनेहरु अपराधमा संलग्नहरुलाई जोगाउने चलखेलमा लाग्नुले उनीहरु के चाहन्छन् भन्ने प्रस्ट हुन्छ ।

एक सय केजी सुन प्रकरणका बारेमा आएका नयाँ तथ्यले पनि नेपालमा विगतदेखि नै यस्ता क्रियाकलाप सञ्चालन हुँदै आएको रहेछ भन्ने प्रमाणित गरेको छ । तस्करीमा संलग्न रहेकाहरुले सबै सरकारी निकायलाई आफ्नो बनाउन सफल हुनुले पनि हाम्रो सरकारी संयन्त्र कस्तो रहेछ भन्ने प्रमाणित हुन्छ । विभागले सुन त समात्यो तर त्यो सुन कसको हो भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी नपाउनुले पनि यो अनुसन्धान भरियामा मात्र गएर अन्त्य हुने त होइन भन्ने आम नेपालीको बुझाइ रहेको छ । विभागले यो विषयलाई साँच्चिकै बाहिर ल्याउने हो भने जस्तोसुकै परिस्थितिको पनि सामना गर्नुपर्ने हुन्छ । तर हाम्रा सरकारी निकायमा कार्यरत कर्मचारीहरु दलीय नेताका अघि केही बोल्न नसक्ने परिस्थितिका कारण यो समस्या समाधान हुन्छ भन्नेमा विश्वस्त हुन सक्ने अवस्था देखिँदैन ।

विगतमा नेपालमा भएका ठूला–ठूला अपराधको विषयमा छानबिन भए पनि कोही कारबाहीको दायरामा नआउनुले नेपालमा यस्ताखाले भ्रष्टाचारले प्रश्रय पाउँदै आएको देखिन्छ । अहिलेको सुन काण्डमा सत्तारुढ दलका नेता तथा केही व्यापारीको संलग्नता रहेको घटनाक्रमले पुष्टि गरे पनि त्यसतर्फ छानबिन गर्न अहिलेको सरकार नै तयार भएको देखिँदैन । जबसम्म सरकारमा बस्नेहरुले तस्करहरुलाई संरक्षण गरिरहन्छन् तबसम्म यस्ता घटना दोहोरिरहनेछन् । त्यसैले सरकारमा बस्नेहरु नै चोखो हुनु जरुरी छ । नेपालमा भाषण मीठा र क्रान्तिकारी गर्ने तर काम भने अर्कै गर्ने प्रवृत्तिले प्रश्रय पाउने गरेको छ । मुलुकबाट भ्रष्टाचार उन्मूलन गर्ने हो भने दलीय नेता सच्चिनुको अर्को विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्