सय किलो सुन तस्करी प्रकरण : १८ जनाकै कल डिटेल्सका आधारमा दर्जनौं निगरानीमा

केही राजनीतिक व्यक्तिसमेत तानिने आशंका



–उच्च तहका व्यापारिक घरानासमेत तानिने

काठमाडौं । राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठुलो मानिएको १ क्विन्टल (सय किलो) सुन तस्करी प्रकरणमा पक्राउ परेका मुख्य डिजाइनरमध्येका एक मानिएका चिनियाँ नागरिक दावा छिरिङमा मुख्य अनुसन्धान केन्द्रित गरेको छ । दावासहित हालसम्म पक्राउ परेका १८ जनाकै कल डिटेल्स लिने काम सम्पन्न भएको र सोही आधारमा दर्जनौं व्यक्तिहरूलाई निगरानीमा राखेर थप अनुसन्धान अघि बढाइएको विभाग स्रोतले जानकारी दिएको छ । दावाको कलडिटेल्सका आधारमा केही राजनीतिक नेतृत्वसमेत निगरानीमा परेको हुन सक्ने स्रोतको दाबी छ । सोही आधारमा केही राजनीतिक व्यक्तित्व तथा उच्च तहका व्यापारिक घरानासमेत तानिनसक्ने देखिएको छ ।

विभाग स्रोतका अनुसार सुन तस्करीको मुख्य डिजाइनर मानिएका दावासँग सामान्य केरकार र सोधपुछ भइरहेको छ । उनीसँग विस्तृत बयान लिने काम भने बाँकी रहेको र छिटै बयान लिइने विभागस्रोतले जानकारी दिएको छ ।

दावाले प्रयोग गरेका सबै मोबाइलको कल डिटेल्स लिने काम गरिएको र सो आधारमा अन्य संकास्पद व्यक्तिलाई निगरानीमा राखिएको छ । यस्तै, दावाले प्रयोग गर्दै आएका सबै इलेक्ट्रिक डिभाइसहरू प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ ।

विभागका अनुसार दावासहित पक्राउ परेका १८ जनाकै कलडिटेल्स लिने काम सम्पन्न भइसकेको छ । दावासहितका १८ जनासँग विभिन्न समयमा फोन सम्पर्क गर्ने दर्जनांै व्यक्तिहरू विभागको उच्च निगरानीमा परेका छन् । यसरी निगरानीमा पर्नेमा केही राजनीतिक व्यक्तिहरू र व्यापापारिक घरानाहरू रहेको विभाग स्रोतले जानकारी दिएको छ । ‘१८ जनाकै कलडिटेल्स प्राप्त भइसकेको छ त्यसका आधारमा उनीहरूसँग कुराकानी गर्ने र सम्पर्क बढाउने व्यक्तिहरूलाई निगरानीमा राखेर थप छानबिन अघि बढाइरहेका छौं ।’ विभागका सूचना अधिकारी नवराज अधिकारीले नेपाल समाचारपत्रसँग भन्नुभयो । कल डिटेल्सका आधारमा कतिपय शंकास्पद व्यक्तिको घरमा समेत रेकी थालिएको बताइएको छ । त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट तस्करीको सय किलो सुन गत २ असारमा बरामद गरेको थियो । सो तस्करी प्रकरणमा संलग्न भएको आरोपमा राजस्व अनुसन्धान विभागको टोलीले सशस्त्र प्रहरीको सहयोगमा १८ जनालाई पक्राउ गरी छानबिन जारी राख्दै आइरहेको हो । पछिल्लो समय गत आइतबार तस्करी प्ररकणका मुख्य योजनाकारमध्येका एक दावा पक्राउ परेसँगै यसको थप जालो फेला पर्ने विश्वास विभागका अधिकारीको छ ।

विभागका अनुसार पक्राउ परेका दावाको काठमाडौंमा रहेका केही क्यासिनोहरूमा समेत लगानी रहेको बताइएको छ । यस्तै, अन्य केही होटलहरूमा समेत दावाको लगानी रहेको प्रमाणहरू फेला परेको विभागका अनुसन्धान अधिकृतहरूको भनाइ छ ।
विभागकै अनुसन्धान अधिकृतहरूका अनुसार तस्करीमा विशेषगरी तीन वटा मुख्य समूहको संलग्नता रहेको देखिन्छ ।

जसअनुसार चाइनाबाट कारोबार गर्ने, नेपालमा रिसिभ गर्ने र त्यसलाई भारतमा लगेर बिक्री गर्ने समूह सक्रिय रहेको अनुसन्धान अधिकृतहरूको विश्लेषण छ । तिनै समूहमध्येका एक प्रमुख दावा छिरिङ पक्राउ विभागका अनुसन्धान अधिकृतहरू सुन तस्करीको जालो फेला पर्न सक्ने आशामा देखिएको बताइएको छ । यद्यपि, विभिन्नखाले दबाबले अनुसन्धान प्रभावित हुन सक्छ कि भन्ने चिन्ता उनीहरूमा देखिएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्