सिंहदबारको प्रबलीकरण असोजभित्रै सक्न मन्त्री गुरुङको निर्देशन



काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पश्चिम खण्डको प्रबलीकरणको काम आगामी असोजभित्रै सम्पन्न गर्न निर्देशन दिएकी छिन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पश्चिमी खण्डको प्रबलीकरणको कामको स्थलगत निरीक्षण गर्दै उनले आगामी तीन महिनाभित्रै काम सम्पन्न गर्न निर्देशन दिएकी हुन् ।

मन्त्री गुरुङले प्रबलीकरणमार्फत ऐतिहासिक सिंहदरबारलाई पुरानै संरचनामा निर्माण गर्नु सकारात्मक काम भएको बताइन् । उनले भनिन, ‘प्रबलीकरण निकै जटिल र संवेदनशील काम हो, पुरानो संरचनालाई जस्ताको तस्तै पुर्ननिर्माण गर्नु चुनौती थियो, विभिन्न चुनौतीलाई समाना गरेर भएपनि सिंहदरबार अब पुरानै अवस्थामा ढडिएको छ ।’ उनले बाँकी कामलाई छिटो भन्दा छिटो सम्पन्न गर्न निर्देशन दिँदै केही समस्या भए समाधान गर्न आफू तयार रहेको बताइन् ।

उनले भूकम्पले क्षति पुगेका घर तथा भवनलाई पनि प्रबलीकरण विधिमार्फत बलियो बनाउन सकिन्छ भन्ने सन्देश दिएको बताइन् । देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई प्रबलीकरण गरेर सञ्चालनमा ल्याउँदा आम नागकिरहरुलाई पनि प्रबलीकरणप्रति विश्वास बढाउने मन्त्री गुरुङले विश्वास व्यक्त गरिन् ।

निर्माण सुरु भएको सिंहदरबारको पश्चिम खण्डको काम हालसम्म ९२ प्रतिशत सम्पन्न भएको छ । करिब ५० करोड लगानीमा पश्चिम खण्डको प्रबलीकरणको काम भइरहेको छ । प्रबलीकरणको जटिल मानिएको काम सम्पन्न भएर हाल रंगरोगन र फिनिसिङको काम धमाधम भइरहेको छ ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पबाट क्षति पुगेको देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको प्रबलीकरण (रेक्ट्रोफिटिङ) विधिबाट पुनर्निमाणको काम अघि बढाइएको थियो । सिंहदरबारलाई भत्काएर नयाँ बनाउने कि प्रबलीकरण गर्ने भन्ने लामो बहसपछि अन्ततः तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विनाशकारी भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका ऐतिहासिक दरबारहरुको प्रबलीकरणमार्फत पुरानै शैलीमा निर्माण गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय महत्वको रुपमा रहेका ऐतिहासिक भवनहरुको मौलिकता बचाउँदै पुरानै निर्माण सामाग्री प्रयोग गरेर प्रबलीकरणमार्फत पुरानै स्वरुपमा निर्माण गर्ने काम भइरहेको केन्द्रीय आयोजना कार्यान्वय इकाईका आयोजना निर्देशक कोषनाथ अधिकारीले बताए । उनका अनुसार वैज्ञानिक विधिको प्रयोग गरि जीर्ण घर तथा भवनलाई सुरक्षित बनाउने विधिलाई ’रेट्रोफिटिङ’ अथवा ’प्रबलीकरण’ भनिन्छ । भूकम्पले क्षति पुर्याएका ऐतिहासिक भवनहरुलाई सरकारले थप मजुबद्ध बनाउने गरी आधुनिक र उच्च तहको प्रविधिको प्रयोग गरी प्रबलीकरण गरेको हो ।

प्रवलीकरणमार्फत सिंहदरबार ऐतिहासिक भवनभित्र रहेका वास्तुकला, सौन्दर्य र मौलिकता पुरानै अवस्थामा निर्माण गरिएको छ । नेपालमा राणाकालीन भवनहरुको विशिष्ट वास्तुशैली र पुरातात्कि महत्वका सम्पदालाई संरक्षण गर्ने कार्य अनुरुप सरकारले सिंहदरबारको प्रबलीकरण गरेको हो ।

निर्माण सम्पन्न उत्तर दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्रीहरु सिमेन्ट, बालुवा, छड, ‘बोण्डिङ केमिकल’ को प्रयोग गरी पुरानै स्वरुप नबिग्रिने गरी प्रवलीकरण गरिएको छ । पश्चिमी खण्डको भने भवनको डिजाइन, आर्किटेक्चर, मौलिक स्वरूपमा केही पनि परिवर्तन नगरी पुरानै शैलीमा चुना र सुर्कीको प्रयोग गरेर गरिएको छ ।

भवनमा काठ फलामको पाता, सुर्की चुना लगायतका निर्माण सामाग्रीको प्रयोग गरेर प्रबलीकरण गरिएको केन्द्रीय आयोजना कार्यान्वइन इकाई भवनका आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्मा बताउँछन् ।

उनका अनुसार भवनलाई भूकम्प प्रतिरोधी बनाउनका लागि भुइँतलाबाटै फलामको पाता प्रयोग गरेर चारैतिरबाट मजबुद्ध रुपमा कसेर निर्माण गरिएको छ । उनका अनुसार नेपालको सन्दर्भमा प्रबलीकरण निकै कठिन काम भएपनि पर्याप्त अध्ययन अनुसन्धानमार्फत झण्डै अस्तित्व नै लोप हुन लागेका ऐतिहासिक भवनलाई पुरानै स्वरुपमा उठाउन सफल भएका छौं ।

बहुमूल्य वस्तु, आकृतिहरु रहेकाले न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्तअनुसार विशेष सावधानी अपनाउँदै भवनको प्रबलीकरण गरिएको विश्वकर्माले बताए । शर्मा न्यू टेक्निकलले अहिले पश्चिमी खण्डको प्रबलीकरणको काम गरिरहेको छ । २०७६ असोज २७ बाट प्रबलीकरणको काम सुरु भएको थियो ।

वि.सं. १९६० सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले युरोपियन शैलीमा सिंहदरबार निर्माण गरेका थिए । वि.सं. २०३० सालमा आगलागी हुँदा दरबारको पश्चिमी मोहडाबाहेक उत्तर पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो ।

आगलागीबाट नष्ट भएका तीनवटा खण्डको वि.सं. २०३७ सालमा पुरानै शैलीमा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामाग्रीहरु प्रयोग गरी संरचनालाई भूकम्पीय जोखिम धान्न सक्ने गरी पुननिर्माण गरिएको छ । हाल सरकारले पश्चिम खण्डलाई पनि पुरानै शैलीमा पुननिर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्