गौरवमय सांस्कृतिक मानचित्र उपराष्ट्रपतिलाई हस्तान्तरण



काठमाडौं । 

विवेकशील साझाले प्रकाशन गरेको गौरवमय सांस्कृतिक मानचित्र उपराष्ट्रपति यादवलाई हस्तान्तरण गरेको छ । अखण्ड, स्वायत्त एवं सार्वभोैम नेपालको गोैरवमय ईतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात् गराई धरातलीय यथार्थ बुझाउन विवेकशील साझा पार्टीले प्रकाशन गरेको ऐतिहासिक नेपालको गोैरवमय सांस्कृतिक मानचित्र उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई हस्तान्तरण गरेको हो ।

पार्टी अध्यक्ष समीक्षा वास्कोटा,उपाध्यक्ष प्रकाशचन्द्र परियार,महासचिव रञ्जु दर्शना, प्रवक्ता आशुतोष प्रधान र केन्द्रीय सदस्य नवराज थापा सम्मिलित टोलीले उपराष्ट्रपति यादवलाई उक्त मानचित्र हस्तान्तरण गरेर अभियान सुरु गरेको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए ।

एशीयाको प्राचीन राष्ट्र नेपालको सुगोैली सन्धी अगाडीको भू–भाग र वर्तमान भु–भागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरुलाई समेटेर निर्माण गरिएको मानचित्रमा सगरमाथा देखि वोैद्ध स्तुपा सम्म, पशुपतिनाथदेखि काँक्रेविहार सम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएको उनको दाबी छ ।

उक्त मानचित्रमा मानसरोवरदेखि गंगा मैदान सम्मका धरोहरलाई नक्सांकन गरिएको छ भने धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्विक सम्पदालाई झल्काईएको छ । विवेकशील साझा पार्टीले सरकारले निर्वाह गर्नु पर्ने दायित्व स्मरण गराउँदै नेपालको सांस्कृतिक मानचित्र सार्वजनिक गरेर सरोकारवालाहरुलाई स्मरण गराउने अभियान बमोजिम यो अभियान थालेको परियारले न्युज अफ नेपाललाई  बताए ।

प्रतिक्रिया दिनुहोस्