३ करोड बिगो तोकिएका लालबहादुर निर्दोष साबित



  विराटनगर।

बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका लाल बहादुर विश्वकर्माले  अन्ततः  सफाइ  पाएका छन्  । उच्च अदालत विराटनगरले लालबहादुर विश्वकर्मासहितका तीन जनालाई सफाइ दिएको हो ।   तीन करोड बिगो जरिबाना तिर्न नसक्दा लालबहादुर जेलमा थिए ।

उच्च अदालत विराटनगरका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लाल बहादुर विश्वकर्मालाई बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा सफाइ दिएको हो । बिना इजाजत बैंक तथा वित्तीय कारोबारमा भने कृष्ण बहादुर विश्वकर्मा गजमेर र सीता विश्वकर्मालाई पनि सफाइ दिइएको छ । दीपक विश्वकर्माको हकमा भने बिना इजाजत बैंक तथा वित्तीय कारोबार र ठगीको दुवै मुद्दामा दोषी ठहर गर्दै सुनसरी जिल्ला अदालतकै फैसला सदर गरिएको छ ।

लालबहादुरको पक्षमा अधिवक्ताहरु मनबहादुर राई, निराजन ओझा तथा रास्वपा सांसद समेत रहेकी अधिवक्ता सोविता गौतम लगायतले वहस गरेका थिए  ।
२०७५ असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौजनाले २०७२ सालदेखि सञ्चालनमा आएको सिंहदेवी ज्वेलर्सविरुद्ध ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हालेका थिए । एक दिनपछि असार २१ गते जिल्ला अदालत सुनसरीमा त्यही ज्वेलर्सविरुद्ध अर्को मुद्दा दर्ता भयो । अदालतमा २ सय ७५ जनाबाट १० हजारदेखि १० लाख रुपैयाँसम्म रकम लिएर ठगी गरेको मुद्दा सिंहदेवी ज्वेलर्सविरुद्ध प¥यो । मुद्दा पर्नुभन्दा अढाई वर्ष अगाडिदेखि सोही ज्वेलर्समा कालिगडका रूपमा कार्यरत लालबहादुर विकलाई पनि विपक्षी बनाइयो । उक्त मुद्दामा २०७८ पुस १९ गते आएको फैसलामा १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम भयो भने उनलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिमाना र तीन वर्ष जेल सजाय सुनाइएको  थियो ।

यसअघि ७२ जनाले  प्रतिवादी गोपाल भन्ने लालबहादुर विश्वकर्मा ज्वेलर्सका कामदार हुन् । निजबाट म ठगिएको होइन बकपत्र  गरेपनि  न्यायाधीश निर्मला योङयाको फैसलाले लालबहादुरलाई दोषी ठहर्याइएको थियो । सोही फैसला आज उच्च अदालत विराटनगरले उल्टाउदै लालबहादुरलाई सफाई दिएको हो ।

यसअघि लालबहादुरको न्यायकालागि देशब्यापी रुपमा अभियान नै संचालन गरिएको थियो । जिल्लाले गरेको फैसलाविरुद्ध आफू निर्दोष रहेको बताउँदै विक उच्च अदालत गएका थिए । उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढे पनि धेरै पटक हेर्न नमिल्ने र स्थगित हुने गरेको यो मुद्दामा आज फैसला भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्