राष्ट्रपति पौडेललाई कोप-२८ मा निमन्त्रणा



काठमाडौँ।

राष्ट्रपति रामचन्द्र पौडेललाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय शिखर सम्मेलन (कोप-२८) मा निमन्त्रणा गरिएको छ ।

संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुँदैछ । नेपालका लागि यूएईका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अल शाम्सीले आज राष्ट्रपतिसँग भेट गरी सो निमन्त्रणा गर्नुभएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसेले जानकारी दिए ।

विश्व जलवायु कार्य शिखर सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले पठाएको पत्र राष्ट्रपति पौडेललाई राजदूतले हस्तान्तरण गरेका हुन् ।

राष्ट्रपति पौडेललाई जलवायु सम्मेलनका अवसरमा औपचारिक रूपमा सुरु हुने ‘वल्र्ड क्लाइमेट एक्सन समिट’ तथा डिसेम्बर १ र २ मा आयोजना हुने युएईको ५२औँ राष्ट्रिय दिवसको विशेष समारोहमा सहभागिताका लागि निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्