बालुवाटारमा सहमति बानेश्वरमा उल्लंघन



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बालुवाटारमा गरेको सहमति बानेश्वर पुगेर उल्लंघन गरेपछि सोमबारको प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । संसद्सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलहरूबीच सहमति भए पनि एमालेले उक्त सहमतिलाई उल्लंघन गर्दै सदन अवरुद्ध गरेपछि सोमबारका लागि तोकिएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

पछिल्लो समयमा एक सय किलो सुन कान्डलाई लिएर संसद् अवरोध भइरहेको सांसदहरूले जनाएका छन् । स्थगित प्रतिनिधिसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सुन तस्करीको सन्दर्भमा सरकारबाट भएका कारबाही र थप योजनाका विषयमा सदनलाई जानकारी गराउनसमेत नदिई अनुसन्धानलाई नै प्रभाव पार्ने गरी प्रतिपक्ष दलले संसद् अवरुद्ध गरिरहेको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘सरकारले सुन तस्करलाई पक्राउ गरी अनुसन्धानको क्रममा रहेको र सोही अनुसन्धालाई मिहिन बनाउँदै लैजादा धेरै मान्छेहरू पर्न सक्ने हँुदा एमालेले यो अनुसन्धानलाई कमजोर बनाउन निरन्तर संसद्मा बखेडा निकालिरहेको छ ।’

साउन १० मा एमालेले सुन तस्करी प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै संसद् अवरोध गरेको थियो । त्यतिबेला सभामुख देवराज घिमिरेले सोमबारका लागि बैठक गर्नुभएको थियो । संसद्को अवरोध खोल्ने विषयमा सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरी सदन सञ्चालन गर्ने सहमति भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारसँग समेत छलफल गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री संसदको अवरोध खुलाउने र सरकारले अगाडि बढाएका महत्वपूर्ण विधेयक अघि बढाउने विषयमा सकारात्मक भइदिन आग्रह गर्नुभएको थियो ।

माओवादी केन्द्रका मुख्य सचेतक पाण्डेका अनुसार प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच संसद्मा जारी अवरोध खुलाउने सहमति भएको थियो । शुरूमा एमालेको एक जना सांसद्ले बोल्ने र त्यसपछि सुन प्रकरणको विषयमा गृहमन्त्रीले जवाफ दिने विषयलाई सोमबारको संसद्को कार्यसूचीमा राखिएको थियो । उक्त कार्यसूचीअनुसार गृहमन्त्री नारायणकाजी श्रेष्ठले सदनलाई सूचित गराउने र सदन खुलाउन सबै दलहरू जिम्मेवार हुनुपर्ने दलहरूले सहमति गरेको जानकारी दिँदै पाण्डेले भन्नुभयो– ‘तर बालुवाटारमा भएको सहमति एमालेले बानेश्वर आएर उल्लंघन ग¥यो । शीर्ष तहमा सहमति भयो भनेर गृहमन्त्री जवाफ दिने तयारी गरेर दिउँसो १ बजे नै संसद् भवन आउनुभयो । तर, एमालेले बोली फेरेपछि बैठक नै स्थगित भयो ।’

एमालेले सुन तस्करी प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको जिकिर गर्दै एमाले प्रमुख सचेतक पदम गिरीले भन्नुभयो– ‘मंगलबारको बैठकमा समेत एमालेको मत फरक हुँदैन । सुन तस्करका विषयमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् चालु गर्ने विषय जटिल नै हुन्छ ।’

गत हप्ता राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुरक्षा घेरा तोडेर बाहिरिएको एक क्विन्टल सुन बरामद गरेको थियो । उच्च तहको संलग्नताबिना विमानस्थलबाट सुन तस्करी हुन नसक्ने भन्दै एमालेले यो विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि पनि प्रश्न उठाउँदै उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ । सुन तस्करी प्रकरणमा सरकारको जवाफ सुन्नुभन्दा पहिले समिति गठन हुनुपर्ने एमालेको अडान व्यावहारिक नभएको सत्ता गठबन्धनका सांसदहरूले बताएका छन् । एमाले अनेकन बहानाबाजी निकालेर जहिले पनि प्रतिनिधि बैठक सञ्चालनको बाधक बन्दै आएको नेकपा माओवादी केन्द्रका नेताहरूले बताएका छन् । सबै घटनामा उच्चस्तरीय छानबिन समिति गठन गर्नु उचित नहुने जिकिर गर्दै उनीहरूले सरकारी अनुसन्धान टुंगोमा पुगेपछि मात्रै संसद्ले छानबिन समिति बनाउन सक्ने बताए ।

संसद्को अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले समेत आवश्यक पहल गरेपनि संसद् अवरोध नहटेको संसद् सचिवालयले जनाएको छ । सोमबार कांग्रेस, एमाले, माओवादीलगायत शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार एमालेले सदन सञ्चालन गर्न कुनै अवरोध नगर्ने सहमति भएको भए तापनि संसद् भवन बानेश्वर पुगेपछि एमाले नेताहरूले उक्त शीर्ष सहमति तोडेको गठबन्धनका नेताहरूको आरोप छ । सोमबारको बैंठकमा सभामुखले विशेष समय र शून्य समयको विषयमा कुरा गर्दागर्दै एमालेका प्रमुख सचेतकले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् नचल्ने अडान राखेपछि सदन स्थगित गर्नुपरेको माओवादीका मुख्य सचेतक हितराज पाण्डेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्