बुटवलमा प्रदेशस्तरीय जनस्वास्थ्य प्रयोगशाला स्थापना 

प्रयोगशालालाई रिसर्च सेन्टरको रूपमा विकास गर्न मुख्यमन्त्रीको निर्देशन



बुटवल। 

लुम्बिनीवासीलाई लक्षित गरी पहिलो पटक प्रदेश स्तरको सुविधा सम्पन्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवनको सेवा शुभारम्भ भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा स्थापना गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको  भवन सरकारलाई हस्तान्तरण गरेसँगै उद्घाटन गरिएको हो।

सोही समारोहमा बोल्दै मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आम नागरिकको स्वास्थ्य सेवामा पहुँच बनाउने गरी सेवा पुर्याउने लक्ष्य रहेको बताए । प्रयोगशालाको गुणस्तरलाई ध्यान दिन सुझाव दिँदै यसमा आवश्यक पर्ने सबै किसिमको गुणस्तरीयताप्रति सजग रहन निर्देशन दिए । ‘रिसर्च सेन्टरको रूपमा विकास गर्नुस्’—उनले भने । दक्ष जनशक्ति तयार गर्ने गरी यहाँबाट तालिम चलाउने, नयाँ दक्ष जनशक्ति तयार गराउने गरी लाग्न जरुरी रहेको औँल्याए । ‘यसमा प्रदेश सरकारको साथ र सहयोग रहने छ ।’

भर्खर भारत भ्रमण गरी फर्किएका मुख्यमन्त्री चौधरीले भारत भ्रमणको क्रममा मुक्तिनाथ सडक, लुम्बिनी र उत्पादनलाई जोड दिनुपर्ने सुझाव आएको बताए । रुपन्देहीलाई आर्थिक क्षेत्र बनाउने लक्ष्यलाई शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता विषयमा जोड्न जरुरी रहेको भन्दै उनले एक क्षेत्र एक उत्पादनलाई जोड दिनुपर्ने, आलोचना गर्नेभन्दा पनि सबै तहका सरकारबाट सुझाव र आवश्यक योजना ल्याउन सुझाव दिए ।

कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशको स्वास्थ्य सेवालाई मजबुत बनाउने गरी सेवा शुभारम्भ भएको बताए । दाताहरुको सहयोग र प्रदेश सरकारको समेत सहकार्यमा ८ करोड ७० लाख २० हजार ४सय ७० रुपैयाँको लागतमा तयार भएको प्रयोगशालालाई थप स्तर वृद्धि गर्ने  बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सुदर्शन बरालले स्वास्थ्य जनताको पहुँच भन्दा बाहिर गैरहेको र यसले निरपेक्ष गरिबीको रेखामुनि पुग्नेको संख्या बढाएको दुखेसो गरे । तत्कालीन समयमा प्रदेश सरकारबाट निर्णय भएर प्रादेशिक अस्पतालको सटर भत्काइएपछि दिनुपर्ने आवश्यक बजेट रोक्ने काम गलत भएको भन्दै  वर्तमान सरकारले आफ्नो क्षेत्राधिकार भन्दा बाहिरका केन्द्र स्तरको अस्पताललाई बजेट विनियोजन रोक्न सुझाव दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले रोगको शीघ्र र सही पहिचान नै विश्वसनीय र गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने सुझाव दिनु भयो । प्रदेशस्तरमा नै स्वास्थ्य समस्याको पहिचान गरी समयमा नै उच्च गुणस्तर युक्त उपचार उपलब्ध गराउने तर्फ जोड दिए ।

कार्यक्रममा प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव जर्नादन पन्थी, स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरी, पाल्पा स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरी,प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख रोशनाल चौधरी लगायतले आ आफ्नो भनाई राखेका थिए । बुटवल, १२ तामनगरमा निर्माण भएको यो प्रयोगशालाको तत्कालीन सामाजिक विकास मन्त्री सुदर्शन बरालले २०७८ सालमा शिलान्यास गरेका हुन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्यि जनस्वास्थ्य प्रयोगशालाको नेतृत्वमा भवन निर्माण भएको हो । जसमा सम्पूर्ण आर्थिक सहयोग एड्स तथा क्षयरोग र मलेरिया विरुद्धको ग्लोबल फन्डको अनुदान र सेभ द चिल्डेन्सको प्राविधिक सहयोगमा भवन निर्माण पुरा भएको हो।

प्रतिक्रिया दिनुहोस्