माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौं । प्रमुख सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ ।

आउँदो १७ गतेदेखि बस्ने पार्टी केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्न उक्त बैठक बस्न लागेको हो ।

बैठक आज (आइतबार) दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने महासचिव देव गुरुङले जानकारी दिए ।

केन्द्रीय कमिटी बैठकमा माओवादीले राजनीतिक परिस्थिति, सांगठनिक संरचना र नेताहरूको कार्यविभाजनबारे छलफल गर्ने तयारी गरेको छ ।

त्यसका लागि राजनीतिक प्रतिवेदनको मस्यौदा बनाउने जिम्मेवारी उपाध्यक्षहरू र सांगठनिक प्रतिवेदन बनाउने जिम्मेवारी उपमहासचिवहरूलाई दिएको छ ।

उपाध्यक्ष तथा उपमहासचिवहरूले तयार पारेको मस्यौदामा पदाधिकारी बैठकमा छलफल गरेपछि माओवादीले भोलि या पर्सिमा स्थायी कमिटी बैठक बोलाउने र बैठकबाट पारित भएको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश गर्ने महासचिव गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्