सूक्ष्म छानबिन गर



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुनले देश तताएको छ । प्रमुख प्रतिपक्ष दल एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै संसद् अवरुद्ध गरेको छ । एमालेको समर्थनमा राप्रपा र स्वतन्त्र पार्टीले समेत सुनकाण्डको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । उता सत्तारुढ दलको मुख्य घटक नेपाली कांग्रेसबाटै पनि गृहमन्त्रीको राजीनामा माग गरिएको छ । देशको शान्ति सुरक्षाको जिम्मा लिएको गृहमन्त्रीकै संलग्नतामा सुन तस्करी भएको आरोप एमालेको छ । संसद् अवरुद्ध गर्नु समस्या समाधान होइन । त्यस विषयमा सूक्ष्म अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नु सरकारको कर्तव्य हो ।

विमानस्थलको सुरक्षा व्यवस्था चुस्त पार्न प्रायः असफल सरकारले दैनिकजसो सुन भित्रिँदासमेत चुप लागेर बसेको देखिएको छ । पछिल्लो घटनाको रुपमा साउन ३ गते हङकङबाट काठमाडौं आएको क्याथे प्यासिफिकको उडानमा एयर कार्गोमार्फत ब्रेक सुमा लुकाएर ल्याएको एक क्विन्टल सुन विमानस्थलस्थित भन्सार गेटबाट पक्राउ गरेको थियो । प्रधानमन्त्री कार्यालयको मातहतमा रहेको राजस्व अनुसन्धान विभागको टोलीले सुन पक्राउ गरेपछि विमानस्थलबाट दैनिकजसो सुन पास भएको अनुमान गरिएको छ । विदेशमा होस् वा स्वदेशमा विमानस्थलमा आएका यात्रुको एक्सरे मेसिनबाट कडा चेकजाँच गरेर मात्र सामान पठाउने व्यवस्था छ । तर तस्करले क्विन्टल सुृन ल्याउँदासमेत सुरक्षा निकाय बेखबरजस्तै देखिएको छ । हुन त सुन प्रकरणमा २ विदेशीसहित १७ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान जारी छ । प्रतिपक्षले सुन ल्याउने भरियालाई मात्र पक्राउ गरेर सरकारले नाटक गरिरहेको बताएको छ । सुन तस्करीमा संलग्नलाई पक्राउ नगरेसम्म विमानस्थलबाट सुन तस्करी रोकिनेवाला छैन ।

यो विषयले संसद्देखि सडकसम्म प्रवेश पाएपछि गृह मन्त्रालयले अनुसन्धानलाई तीव्र पारेको छ । बुधाबार हङकङबाट नेपाल सुन भित्र्याउने कार्यमा सक्रिय रहेको आशंकामा प्रहरीले राजेश अदुकियाको घरमा छापा मारेको छ । छापा मार्ने क्रममा ६६ पोका ब्रेक सु बरामत गरेको छ । आफूमाथि अनुसन्धान शुरु गरेको जानकारी पाएपछि अदुकियाले नेपाल छाडिसकेका छन् । पक्राउ परेका उनको छोराको बयानको आधारमा प्रहरीले चिनियाँ नागरिकको फ्ल्याटबाट सुन गाल्ने मेसिन बरामद गरिसकेको छ ।

राजस्व विभागले अनुसन्धानमा सहयोग गर्न प्रहरीको साथ मागेको थियो । गृह मन्त्रालयले तत्कालै प्रहरी उपरीक्षक कृष्ण पंगेनीको नेतृत्वमा टोली खटाइसकेको छ । सोही टोलीले सुन लुकाइराखेको आशंकामा अदुकियाको घरमा छापा मारेर ६६ प्याकेट ब्रेक सु बरामत गरेको थियो । सुनकाण्डको बारेमा अनुसन्धानको क्रम जारी रहेको अवस्थामा सदन ठप्प पारेर र गृहमन्त्रीको राजीनामा मागेर समस्या समाधान हुँदैन । सरकारले अनुसन्धानलाई चुस्त पार्नुपर्छ भने प्रतिपक्षले संसद्को अवरोध हटाएर छानबिन गर्न सहयोग गर्नुपर्र्छ ।

प्रतिक्रिया दिनुहोस्