यस्तो आज दिनभरको मौसम



काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रहि कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त विभागका अनुसार आज (आइतबार) दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । यसका साथै सातै प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन् ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

तसर्थ यस कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको र हावाहुरीको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्