कक्षा ११ को छात्रवृत्ति परीक्षा : गल्ती विवरण पेस गरे परीक्षा र भर्ना रद्द हुने

करिब ४ हजार २ सयले छात्रवृत्ति पाउनसक्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षामा गलत विवरण पेस गरे भर्ना नै रद्द गर्ने भएको छ । कामपाको शिक्षा शाखाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थी छनोटको लागि एकीकृत परीक्षा सञ्चालन गर्न लागेको छ ।

साउन २० गते हुने परीक्षाको लागि विद्यार्थीले गलत विवरण पेस गरी झुठो ठहरिए आवेदन फारम रद्द गरिनुका साथै भर्ना भइसकेको भए पनि भर्नासमेत रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्कासन गर्ने निर्णय गरेको छ । कामपा शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले छात्रवृत्ति परीक्षाको लागि फारम भर्दादेखि परीक्षा दिँदासमेत परीक्षाको महत्वलाई ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।

कामपाले संस्थागत विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये संख्याको आधारमा १० प्रतिशत छात्रवृत्ति दिन परीक्षा लिन लागेको हो । अघिल्लोवर्ष भनसुनको आधारमा मनपरी रूपमा छात्रवृत्ति दिने प्रचलन थियो । सो प्रचलन खारेज गरी छात्रवृत्ति वितरण प्रणालीलाई प्रभावकारी ढंगले सञ्चालन गर्न नयाँ प्रणाली शुरू गरिएको हो । महानगरले योग्यता सूचीको आधारमा विद्यालय छनोट गरी विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था गरेको छ ।

छात्रवृत्ति छनोटसम्बन्धी व्यवस्थाअनुसार संस्थागत विद्यालयले उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिलाई सत्प्रतिशत मानेर निर्णय गरेको छ । जसअनुसार सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि ४०, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेकालाई ५, महानगरमा स्थायी बसोबास भएकालाई ९ र ल्यान्डफिल साइट प्रभावितक्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययनरत विद्यार्थीको लागि १ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

थप ४५ प्रतिशत छात्रवृत्तिमध्ये छात्रालाई ३३, खस आर्यलाई १७, आदिवासी÷जनजातिलाई १५, मधेसीलाई १२, दलितलाई ९, थारू र पिछडिएका क्षेत्रका व्यक्तिलाई गरी ४÷४, मुस्लिम र थारूलाई २÷२ र सहिद र बेपत्ता परिएका नागरिक र द्वन्द्वपीडित नागरिकका परिवारलाई २ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ । पिछडिएको क्षेत्रका व्यक्तिका रूपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिनेछ ।

छात्रवृत्ति परीक्षामा सहभागी हुन अनिवार्य रूपमा १ दशमलव ६ जीपीए ल्याउनुपर्ने व्यवस्था गरेको छ । विभागले छात्रवृत्ति परीक्षासम्बन्धी व्यवस्थाअनुसार परीक्षा शुरू हुनुभन्दा एक घण्टाअघि उपस्थित हुनुपर्नेछ भने परीक्षा शुरू भएको १५ मिनेटपछि आउने विद्यार्थीले परीक्षा दिन पाउने छैनन् ।

परीक्षामा निर्धारित समय दुई घण्टापछि मात्र परीक्षा हलबाट बाहिर निस्कन पाइने व्यवस्था गरेको छ । कक्षा १०को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०÷३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिनेछन् । उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्छ । गलत उत्तरका लागि ‘नेगेटिभ मार्किङ’ हुनेछैन ।

विभागका प्रमुख कोइरालाका अनुसार सूचना जारी गरेको ८ दिनमा अर्थात बिहीबारसम्म १ हजार ८३ जनाले अनलाइन आवेदन दर्ता गरेका छन् । असार २८ गते बिहान १० बजेबाट आवेदन खुला गरिएको थियो । यसमा सबैभन्दा धेरै आवेदक विज्ञान विषयका छात्र ५ सय ४९ जना र छात्रा २ सय २७ जना छन् । दोस्रोमा व्यवस्थापन विषयका लागि २ सय ३९ जनाले अनलाइन फारम भरेका छन् । यसमा छात्रको संख्या १ सय ४८ जना र छात्राको संख्या ९१ जना छ ।

प्राविधिक विषयका लागि २४ जना छात्र र १७ छात्रा गरी ४१, कानुन विषयका लागि १६ छात्रा र ७ छात्र गरी २३, मानविकीमा १ छात्र र १ छात्रा तथा शिक्षामा १ छात्र र १ छात्राको आवेदन परेको छ । आवेदन दर्ता साउन २२ गतेसम्म गराउन सक्ने व्यवस्था छ ।

कक्षा ११ मा करिब ४ हजार २ सय सिटमा छात्रवृत्ति उपलब्ध गराउन सकिने विभागले जानकारी दिएको छ । शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले साउनको दोस्रो सातासम्ममा कुन विद्यालयमा कति संख्यामा छात्रवृत्ति प्राप्त हुन्छ, त्यसको विवरण सार्वजनिक गरिने छ ।

विभागले विद्यालयहरूबाट चारित्रिक प्रमाणपत्र दिन कुनै न कुनै कारणले ढिला भएकोले आवेदन दिन कठिन भएको गुनासो आएपछि अब चारित्रिक प्रमाणपत्र बिना पनि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्