म्याग्दीको कालीपुल बसपार्कमा नवनिर्मित टर्मिनल भवन उद्घाटन 



म्याग्दी ।

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुल बसपार्क क्षेत्रमा नवनिर्मित टर्मिनल भवनको आज (बुधवार) उद्घाटन भएको छ । म्याग्दी जिल्लाभन्दा बाहिर लामो तथा छोटो दुरीमा चल्ने सवारीसाधनलाई एकै ठाउँबाट छुटाउने गरी बनाइएको भवनको औपचारिक उद्घाटन गरिएको हो ।

बेनी नगरपालिका–८, कालीपुल बसपार्क क्षेत्रमा नवनिर्मित टर्मिनल भवनको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले एक समारोहबीच आज उद्घाटन गर्नुभयो । सघन, सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङद्वारा निर्मित टर्मिनल भवनको निर्माण कार्य सकेर यसअघि गएको वैशाख १७ गते म्याग्दीको बेनी नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

टर्मिनल भवन बनाउन वि.सं. २०७८ सालको पुस महिनामा शुभ कन्स्ट्रक्सन र आयोजनाबिच दुई करोड ८५ लाख ४५ हजार रुपैयाँको बजेटमा ठेक्का सम्झौता भएको थियो । नवनिर्मित टर्मिनल भवनबाट देशका विभिन्न ठाउँमा छुट्ने यातायातका साधनको टिकट काउण्टहरु सञ्चालन गरिएको छ । वि.सं. २०६४ सालमा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो । बसपार्कमा निर्माण भएको एक तले भवनमा टिकट काउन्टर, शौचालय र यात्रु प्रतीक्षालय बनाइएको छ ।

भवन परिसरमा बसपार्कको आरसिसी ढलान गरिएको छ । अपाङ्गमैत्री भवनमा सुरक्षाको निगरानी गर्न सिसिटिभी क्यामेरा समेत जडान गरिएको छ । नवनिर्मित भवनबाट आजैदेखि टिकट काउन्टर सञ्चालन गरी यात्रुहरूलाई सेवा दिइएको छ । नवनिर्मित भवनको उद्घाटन गर्दै नगर प्रमुख केसीले अब एकै ठाउँबाट यात्रुहरूले सहज रूपमा टिकट काटेर यात्रा गर्न पाउने बताउनुभयो । उहाँले कालीपुल बसपार्क क्षेत्र म्याग्दी र मुस्ताङको प्रवेशद्वार समेत भएकाले सफा राख्न सके यहाँ आउने पर्यटकहरुमा सकारात्मक सन्देश जाने बताउँदै यसका लागि यातायात व्यवसायीले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

भवन उद्घाटन कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले निजी क्षेत्रले सञ्चालन गरेको यातायात व्यवसायलाई प्रतिस्पर्धाभन्दा पनि सेवा सुविधामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका बेनी नगरपालिका–८, बेनीका वडा अध्यक्ष उत्तम कुमार कर्माचार्यले नवनिर्मित भवनमा टिकट काउन्टरका लागि कोठा विभाजन र यात्रुलाई विश्राम गर्ने फर्निचर व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उहाँले बसपार्कलाई सफा र व्यवस्थित बनाउन ७ जना कर्मचारीहरू नियुक्त गरिएको हुँदा व्यवसायीहरूबाट सरसफाइ र पार्किङका लागि न्यूनतम शुल्क लिने निर्णय गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले बसपार्क क्षेत्रलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सरसफाइमा विशेष ध्यान दिन समिति र यातायात व्यवसायीलाई आग्रह गर्नुभएको थियो । यातायात व्यवसायी लालबहादुर थापाले टर्मिनल भवनबाहेक अन्य क्षेत्रबाट टिकट काउन्टर सञ्चालन नगर्न व्यवस्थापन समितिसमक्ष माग गर्नुभयो ।

सोही कार्यक्रमको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालले सातौँ म्याग्दी महोत्सवबाट भएको आम्दानीमध्ये ३५ हजार रुपैयाँ कालीपुल बसपार्क व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको थियो । बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने र प्रहरी नायव उपरीक्षक मदन कुँवरको विशेष उपस्थित रहेको कार्यक्रम वडा सदस्य यामबहादुर बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्