चितवन ।
कुनै समय अन्तर्राष्ट्रियस्तरमै ख्याति कमाएको चितवनको मेघौलीस्थित टाइगर टप्स होटल अहिले खण्डहरमा परिणत हुँदै गएको छ। विदेशी पर्यटकको बाक्लो आवागमन हुने यस होटलले मेघौली क्षेत्रलाई वन्यजन्तु पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न उल्लेखनीय योगदान पुर्याएको थियो। होटलसँगै चितवनको वन्यजन्तु पर्यटनले समेत अन्तर्राष्ट्रिय पहिचान बनाएको थियो।
तर, वि.सं. २०६९ सालदेखि होटल सञ्चालनमा छैन। सञ्चालन बन्द भएसँगै होटल परिसरमा रहेका भवन, आवासीय संरचना तथा अन्य भौतिक पूर्वाधारको नियमित मर्मतसम्भार हुन सकेको छैन। लामो समयसम्म प्रयोगविहीन अवस्थामा रहँदा होटलका संरचना जीर्ण बन्दै गएका छन्। कुनै समय पर्यटकको चहलपहलले भरिभराउ हुने होटल परिसर अहिले सुनसान छ। भवन तथा अन्य भौतिक संरचना भत्किने र बिग्रिने अवस्थामा पुगेका छन्।
वन्यजन्तु पर्यटनको इतिहास बोकेको टाइगर टप्सको वर्तमान अवस्थाले चितवनको पर्यटन इतिहाससँग जोडिएको एउटा महत्त्वपूर्ण सम्पदाको संरक्षणमा चुनौती देखाएको छ। दक्षिण एसियामै छुट्टै पहिचान बनाउन सफल यस होटलको ऐतिहासिक स्वरूप र भौतिक संरचनाको संरक्षण हुन नसक्दा कुनै समय चर्चित रहेको पर्यटन गन्तव्यको पहिचानसमेत ओझेलमा पर्दै गएको छ।








तपाईंको विचार लेख्नुहोस्