काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी) सँग दूरसञ्चार सेवा दस्तुर (टीएससी) सम्बन्धी विवरण माग्दा मर्मत–सम्भारको वास्तविक खर्च नखुलाउनुले राजस्व छलीलाई प्रश्रय दिन खोजिएको आशंका उब्जिएको छ।प्राधिकरणले मंसिर २ गते सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ र चालु आर्थिक वर्षको असोजसम्मको टीएससी विवरण १० कार्यदिनभित्र पेस गर्न निर्देशन दिएको थियो।

तर, मागिएको विवरणमा मर्मत–सम्भारबापतको आम्दानी मात्र उल्लेख गर्न भनिएको छ भने वास्तविक खर्चको विवरण मागिएको छैन।कानुनी व्यवस्थाअनुसार मर्मत–सम्भारमा भएको वास्तविक खर्चमा मात्र टीएससी छुट पाउने व्यवस्था छ। तर, अधिकांश आईएसपीको वार्षिक मर्मत–सम्भार खर्च कुल आम्दानीको ४ देखि ७ प्रतिशत मात्रै हुने गरेको दाबी गरिएको छ। यद्यपि, उपभोक्ताबाट इन्टरनेट सेवा शुल्कको शतप्रतिशतसम्म रकम मर्मत–सम्भार शीर्षकमा उठाइएको आरोप छ।

यसरी वास्तविक खर्चभन्दा बढी रकमलाई मर्मत–सम्भार आम्दानीका रूपमा देखाएर टीएससीको कर आधार घटाइएको र राज्यलाई अर्बौँ रुपैयाँ राजस्व नोक्सानी भएको विषयमा ठूला करदाता कार्यालय तथा आन्तरिक राजस्व विभागले समेत छानबिन गरेको बताइएको छ।प्राधिकरणले विगतको बक्यौता तथा जरिवाना असुलीमा प्रभावकारी पहल नगरेको अवस्थामा पुनः वास्तविक खर्चको विवरण नलिई सूचना जारी गर्नुले थप प्रश्न उठाएको छ।
त्यस्तै, आर्थिक ऐनले समग्र दूरसञ्चार सेवामा टीएससी लागू गरेको अवस्थामा प्राधिकरणले इन्टरनेट (इमेलसहित) सेवा प्रदायकलाई मात्र लक्षित गरी सूचना जारी गरेको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।राजस्व चुहावट रोक्न प्राधिकरणले सेवा प्रदायकसँग मासिक बिक्री तथा टीएससी दाखिला विवरणसँगै मर्मत–सम्भारको वास्तविक खर्च, बाँकी टीएससी र जरिवानाको बक्यौता रकमसमेत अनिवार्य रूपमा माग्नुपर्ने सरोकारवालाहरूको भनाइ छ।वास्तविक खर्चको सट्टा सेवा प्रदायकले स्वघोषणा गरेको मर्मत–सम्भार रकमकै आधारमा टीएससी छुट दिइए राज्यको राजस्वमा थप नोक्सानी हुने र उपभोक्तासमेत आर्थिक मारमा पर्ने जोखिम रहेको छ।








तपाईंको विचार लेख्नुहोस्