काठमाडौंमा आजदेखि मलेसियन फुड फेस्टिभल, मलेसियाका विशेष परिकारको स्वाद लिन पाइने


काठमाडौं।

नेपाल र मलेसियाबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले काठमाडौंमा आजदेखि ‘अ टेस्ट अफ मलेसिया २०२६’ (A Taste of Malaysia 2026) नामक मलेसियन फुड फेस्टिभल आयोजना हुँदैछ।

काठमाडौंस्थित मलेसियाली राजदूतावासको आयोजनामा क्राउन इम्पेरियल होटलमा सञ्चालन हुने महोत्सव नोभेम्बर २६ देखि डिसेम्बर २ अर्थात् मंसिर १० देखि १६ गतेसम्म चल्नेछ।

राजदूतावासले जोम नेपाल प्रालि, स्टडी प्लस प्रालि, क्राउन इम्पेरियल होटल, एनआरएस ग्लोबल रिसोर्सेस र एजुकेसन मलेसिया ग्लोबल एजुकेसनसँगको सहकार्यमा पहिलोपटक यस्तो महोत्सव आयोजना गर्न लागेको हो।

साताव्यापी महोत्सवमा मलेसियाको समृद्ध तथा विविधतापूर्ण पाककला, मौलिक खानपान र सांस्कृतिक विशेषतालाई नेपाली समुदायमाझ परिचित गराइनेछ। महोत्सवको विशेष आकर्षणका रूपमा मलेसियाबाट आउने अनुभवी सेफहरूले परम्परागत विधिअनुसार विभिन्न मौलिक मलेसियन परिकार तयार गर्नेछन्।

मलय, चिनियाँ, भारतीय तथा विभिन्न आदिवासी समुदायको सांस्कृतिक मिश्रणबाट विकसित मलेसियन खानपान विश्वभर आफ्नो विशिष्ट स्वाद, सुगन्ध, मसला र पाककलाका कारण परिचित छ।

महोत्सवले खानपानको प्रवर्द्धनसँगै नेपाल र मलेसियाबीच सांस्कृतिक आदानप्रदान, आपसी समझदारी तथा जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास राजदूतावासले व्यक्त गरेको छ।

यसै अवसरमा नोभेम्बर २८ अर्थात् मंसिर १२ गते बिहान ८ बजे ललितपुरको कुपण्डोलस्थित पीसीपीएस कलेजबाट ‘भिजिट मलेसिया इयर २०२६ वाकाथन’ आयोजना गरिनेछ। त्यसलगत्तै इन्टरनेसनल क्लबमा ‘माया मलेसिया २०२६’ कार्यक्रम सञ्चालन हुनेछ।

यी कार्यक्रममार्फत स्वस्थ जीवनशैली, पर्यटन, खानपान, संस्कृति तथा मलेसियामा उपलब्ध उच्च शिक्षाका अवसरबारे जानकारी प्रदान गरिने राजदूतावासले जनाएको छ।

मलेसियाली राजदूतावासले सर्वसाधारण, कूटनीतिक समुदाय, व्यवसायी, सञ्चारकर्मी तथा मलेसियाका शुभेच्छुकहरूलाई कार्यक्रममा सहभागी भई मलेसियाको मौलिक स्वाद, संस्कृति र आतिथ्यको अनुभव लिन हार्दिक आह्वान गरेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।