‘इजरायली राजदूतको भ्रमण व्यक्तिगत र अनौपचारिक’–बेथान्चोक गाउँपालिका



काभ्रे।

बेथान्चोक गाउँपालिकाले २०८० जेठ २९ गते शुक्रबार मित्रराष्ट्र इजरायलका राजदूत हनान गोदारको भ्रमण व्यक्तिगत तथा अनौपचारिक भएकाले त्यसको अनर्गल प्रचार नगर्न अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको कूटनीतिक आचार संहिता २०६८ को दफा ९ र १० को प्रतिकुल कार्य विपरीत गाउँपालिकाले कुनै कार्य नगर्ने र नगरेको अध्यक्ष भगवान अधिकारीले बताउनु भएको छ ।

‘कूटनीतिक मर्यादा पालाना नगरी हाम्रो जस्तो स्थानीय तहले सिधै पत्राचार गर्दा यस अघि मुस्ताङको एक गाउँपालिकाका अध्यक्षलाई स्पष्टीकरण सोधिएको थियो’–अध्यक्ष भगवान अधिकारीले भन्नुभयो–‘दुई देश बीचको द्विपक्षीय सम्बन्ध कूटनीतिक मर्यादा र स्थानीय तहको अधिकार क्षेत्रको सीमाका बारेमा परराष्ट्र मन्त्रालयले सम्झाएको र सोही ब्यहोराका आधारमा गाउँपालिकाले इजरायली राजदूतलाई औपचारिक रुपमा कुनै निकायमा पत्र पठाएका छैनौँ ।’ बेथान्चोक गाउँपालिकाले इजरायली राजदूतलाई औपचारिक रुपमा कुनै निकायमा पत्र नपठाएको, आग्रह नगरेको अध्यक्ष अधिकारीले बताउनुभयो । ‘नेपालको संविधान २०७२, नेपाल सरकार कार्यसम्पादन नियमावली २०६४, नेपाल सरकार कार्य विभाजन नियमावली २०७४, कूटनीतिक आचार संहिता २०६८ अनुरुप नेपाल स्थित विदेशी नियोगका प्रतिनिधिहरुको औपचारिक भ्रमणका सन्दर्भमा परराष्ट्र मन्त्रालयको स्वीकृति अनिवार्य सर्त हो’–अध्यक्ष अधिकारीले भन्नुभयो–‘विदेशी नियोग तथा नेपाल सरकारका तर्फबाट औपचारिक पत्र आदान प्रदान हुने, सो को जानकारी परराष्ट्र मन्त्रालय मार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै स्थानीय तहमा हुने व्यवस्था छ । बेथान्चोक गाउँपालिका यो कुनै प्रक्रियामा सामेल भएको छैन ।’

गाउँपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले इजरायली राजदूत हनान गोदारलाई कानुनी रुपमा भेटघाटका लागि छलफल हुँदा हुँदै कानुन र मर्यादा नाघेर गाउँपालिका अध्यक्ष समेतको निमन्त्रणाको हवाला दिदै गरिएका टिप्पणी प्रति आपत्ति जनाएको छ । बेथान्चोक गाउँपालिका ३ निवासी कामना शर्माले इजरायली राजदूतसँगको व्यक्तिगत सम्बन्धका आधारमा गाउँपालिकाको भ्रमण गराउने चाहना व्यक्त  गरेकोमा अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षहरु समेतको छलफल भए पनि टुङ्गोमा नपुग्दै गाउँपालिका अध्यक्षको निमन्त्रणामा भन्ने पत्र दूतावासको तर्फबाट सार्वजनिक भएकाले त्यस्तो पत्र गाउँपालिकाले नपठाएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले बताउनु भयो ।

उक्त पत्रका बारेमा परराष्ट्र मन्त्रालयले अनुसन्धान गर्ने उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा उपाध्यक्ष तारा राना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, प्रवक्ता एवं वडा अध्यक्ष मधुसूदन तिमल्सिना लगायतका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनमा गाउँपालिकाले संघ, प्रदेश, कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, गैह्सरकारी संस्थासँग समन्वय गर्ने, निमन्त्रणा गर्ने र सहकार्यमा गाउँपालिकाको पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका कार्यमा संलग्न हुने अध्यक्ष अधिकारीले बताउनुभयो ।

बेथान्चोक गाउँपालिकाका विभिन्न कार्यक्रममा सहभागी हुन संयोजन गर्ने स्थानीय कामना शर्माले भने गाउँपालिकाका अध्यक्ष लगायतका पदाधिकारीहरुसँगको समन्वयमा नै राजदूत लैजाने कार्य तय भएको बताउनु भयो । ‘गाउँकै विकास र प्रचारका लागि राजदूतलाई लैजाने उद्देश्य बाहेक अरु कुनै स्वार्थ छैन’– कामना शर्माले भन्नुभयो–‘गाउँपालिकाले कूटनीतिक मर्यादाको कुरा गरेको भए पनि अनौपचारिक रुपमा पनि स्थानीय तहले चासो दिएन । तर पनि वडा नम्बर ३ का अध्यक्ष कुवेर ढकाल सहितका केही जनप्रतिनिधिहरुले स्वागत गर्नु भएको छ ।’

प्रतिक्रिया दिनुहोस्