बेनीमा आयुर्वेद सेवासम्बन्धी कार्यक्रमको समीक्षा गोष्ठी



म्याग्दी ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा आयुर्वेद सेवासम्बन्धी समन्वयात्मक गोष्ठी सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७९/०८० मा आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत सञ्चालित वार्षिक कार्यक्रमहरूको विषयमा समीक्षा गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले आयुर्वेदका औषधीहरूको खुलेआम बिक्री वितरण भइरहेकाले यसलाई रोक्न सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट उपलब्ध सेवा सुविधा र कार्यक्रमहरूको विषयमा ग्रामीण भेगसम्मै प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै विद्यालय तहबाट आयुर्वेदको विषयमा जानकारी गराउँदा धेरै प्रभावकारी हुने बताउनुभयो ।

सोही कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले पूर्वीय दर्शनको हजारौँ ज्ञान तथा सिपसहित आयुर्वेद आएको भन्दै आगामी दिनमा यसलाई अझ उत्प्रेरित भएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आयुर्वेदको नाममा गलत तरिकाले कसैले कामकारवाही गरेमा त्यसलाई नियन्त्रण गरिने बताउँदै दर्ता नगरिकनै सञ्चालन भएका आयुर्वेदसम्बन्धी औषधालय तथा पसलहरुलाई नियमन गरिने बताउनुभयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष जीवनबहादुर विश्वकर्माले आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा विस्तार तथा उचित प्रचारप्रसारका लागि आवश्यक पहल गरिएको जानकारी दिनुभयो । उहाँले आउँदा दिनमा स्रोतसाधनहरुको व्यवस्थापन गरेर थप सेवा विस्तार गर्न लागिएको बताउँदै आयुर्वेदको बदनाम गर्नेहरुलाई कारवाहीको साथै उनीहरुलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले आयुर्वेदसम्बन्धी कार्यक्रमको प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।

आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मधुरजी ढकालले समीक्षा गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्दै कार्यक्रमहरूको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको उद्घाटनसत्र व्यवस्थापन समितिका अध्यक्ष विश्वकर्माको अध्यक्षता, स्वास्थ्य केन्द्रका लेखापाल सुवासचन्द्र पौडेलको सञ्चालन र कविराज निरीक्षक दामोदर शर्माको स्वागतमा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीमार्फत सञ्चालित कार्यक्रमहरूको बारेमा जानकारीसहित समीक्षा गरिएको थियो भने जिल्लाको मंगला, मालिका र धवलागिरि गाउँपालिकामा स्थापना गरिएका नागरिक आरोग्य केन्द्रबाट पनि भएका कार्यसम्पादनको बारेमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्