सरकार र वित्तीय संस्थाको ज्यादतीले लुम्बिनीमा १२ हजार व्यवसायीको पेसा धरापमा : अध्यक्ष शर्मा 



बुटवल। 

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योगी व्यवसायी जोखिम र संकटको क्षेत्रमा रहेको बताउनु भएको छ । कोरोना महामारी, बैंक तथा वित्तीय संस्थामा उत्पन्न भएको तरलता अभाव तथा आर्थिक मन्दीका कारण उद्योगी व्यवसायी जोखिममा रहेको बताउँदै जोखिमबाट बचाउन सरकारले विशेष पहल गर्नुपर्ने बताउनु भयो ।

तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको शनिबार तिलोत्तमा स्थित संघको सभाहलमा आयोजना गरिएको आठौं तथा नवौं वार्षिक साधारण सभामा बोल्दै प्रदेश अध्यक्ष शर्माले उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बैकहरुको बेथितिका कारण लुम्बिनी प्रदेशमा करी १२ हजार उद्योगी व्यवसायीको पेसा व्यवसाय धरापमा परेको औँल्याउनु भयो ।

आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेटमा निजी क्षेत्रलाई सम्बोधन नगरिएको प्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष शर्माले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा पनि त्यति धेरै आशा गर्ने ठाउँ नभएको गुनासो गर्नुभयो ।

 कार्यक्रममा संघका अध्यक्ष गुणनिधि भण्डारी (माधव)ले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै राज्यले निजीक्षेत्र मैत्री वातावरण निर्माण गर्न नसकेसम्म आर्थिक विकास सम्भव नहुने बताउनु भयो । उद्योगी व्यवसायीले जुनसुकै काम गर्दा पनि सरकारी निकायबाट हुने झन्झटिलो प्रक्रिया र असहज वातावरणका कारण भ्रष्टाचारमा वृद्धि भएको उल्लेख गर्दै सरकारका विभिन्न निकायबाट हुने कानुनी प्रक्रियाका नाममा उद्योगी व्यवसायीलाई दुःख दिने र आर्थिक मारमा पार्ने कामलाई रोक्न आग्रह गर्नुभयो ।

अध्यक्ष भण्डारीले हाल मुलुकको बिग्रँदो अर्थतन्त्रलाई सुधार गर्न पुँजीगत खर्चमा वृद्धि, संस्थागत निक्षेपलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने, कृषि, पर्यटन, साना तथा मझौला उद्यम लगायतका उत्पादनमूलक क्षेत्रमा पुनः कर्जाको सीमा र अवधि बढाउन आग्रह गर्नुभयो ।

त्यस्तैगरी नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा उद्योग समितिका सभापति राजेशकुमार अग्रवाल र नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण राम्रो नभएको भनाई राख्नुभयो । उहाँहरुले मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढी निजी क्षेत्रको योगदान रहेको उल्लेख गर्दै यति धेरै योगदान गरेको निजी क्षेत्रको संरक्षण हुन सकेन भने देशको अर्थतन्त्र झनै बिग्रिँदै जाने उल्लेख गर्नुभयो ।

कार्यक्रममा आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख शान्तिराम निरौलाले ऐन कानुनको परिधिमा रहेर काम गर्दा कुनै समस्या नआउने बताउनुभयो । उहाँले उद्योगी व्यवसायीलाई परेका समस्या समाधान र नजानेका केही कुरा भए सिकाउन कार्यालय तयार रहेको भन्दै त्यसको व्यवस्थापन मिलाउन संघलाई आग्रह गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका निर्देशक सत्यन्द्रराज सुवेदीले उद्योगी व्यवसायीलाई मात्रै नभएर ब्याजदर बढाउनु बैंकका लागि पनि राम्रो नभएपनि देशको परिस्थितिका कारण ब्याजदर बढाउन बैंकहरु बाध्य भएको बताउनु भयो । उहाँले व्याजमा दायित्व बढ्दा त्यसको व्यवस्थापन गर्ने कुरामा अग्रगामी सोंच नहुँदा अहिले उद्योगी व्यवसायीलाई समस्या भएको भनाई राख्नुभयो ।

त्यस्तैगरी नेकपा माओवादी केन्द्रका तिलोत्तमा नगर अध्यक्ष बेलप्रसाद शर्मा, संघका कानुनी सल्लाहकार माधव घिमिरे, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, उद्योग उपाध्यक्ष सुरज पंगेनी, महासचिव राजकुमार पाण्डेलगायतले बोल्दै बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने कर्जामा एकल अंकको ब्याजदर कायम गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्