रास्वपाकी सांसद तोसिमा कार्कीका पीए रानाले डिलासैनीबाट बुझ्छन् भत्ता



धनगढी । बेलाबेला विवादमा परिरहने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधिसभा सदस्य तोसिमा कार्कीका पीए (बैतडी स्थायी घर भएका) श्रीकान्त रानाले बैतडीको डिलासैनी गाउँपालिकामा पनि नियुक्ति लिएको खुलेको छ । करिब ४÷५ महिना अघि रानाले डिलासैनीमा राजनैतिक नियुक्ति लिएको खुलेको हो ।

सद्भावना दूत एवं स्वयंसेवकका रूपमा रानाले नियुक्ति लिएर भत्ता लिइरहेको बताइएको छ । अहिले यस विषयलाई लिएर व्यापक आलोचना पनि भईरहेको छ । दोहोरो जिम्मेवारी लिएर सरकारी सेवासुविधा लिइरहेका उनको बारेमा विभिन्न टीकाटिप्पणी श्ुरू भएका छन् ।

जनप्रतिनिधि लगायतको ‘चाकडी’ गरेरै उनले उक्त नियुक्ति लिएको रानामाथि आरोपसमेत लागेको छ । यता गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले भने यस विषयलाई स्वभाविक लिनुपर्ने जनाएका छन् । उनले समाजमा रहेका विकृति न्यूनीकरण तथा सामाजिक सद्भाव कायम गर्नका लागि नियुक्ति दिएको बताए । उनका अनुसार अन्य ४ जना दूतका रूपमा क्रियाशील छन् ।

उनीहरूको सेवा सुविधाका सन्दर्भमा भने एउटा कार्यविधि बनाएर सोही अनुसार (भत्ता) दिने गरेको पालिकाका अध्यक्ष जोशीले बताए । तर, के कति भन्नेबारे भने उनले खुलाउन चाहेनन् । स्रोतका अनुसार रानाले काठमाडौंमै बसेर १५ हजार मासिक बुझिरहेका छन् ।

यस्तै डिलाशैनीकै कर्मचारीहरूले पनि यसको विरोध गरेका छन् । पालिकाका एक कर्मचारीले यो सबै कार्यकर्ता पोस्न गरिएको र यसरी राजनैनिक रूपमा नियुक्ति दिएको आरोप लगाए । गाउँकार्यपालिकाबाट कार्यविधि बनाएर उनीहरूलाई नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्