पेशेवर रुपमा मोटरसाइकल चोरी गर्ने १२ जना पक्राउ



बुटवल । 

रुपन्देही जिल्ला आसपासबाट मोटरसाइकल चोरीका घटना बढेको गुनासोसँगै प्रहरीले विशेष अपरेसन सञ्चालन गरी एक महिनामा चोरी भएका १४ थान मोटरसाइकलसहित १२ जना अभियुक्त पक्राउ गर्न प्रहरी सफल देखिएको छ । इलाका प्रहरी कार्यालय बुटवलले आइतबार पत्रकार सम्मेलन गरी अभियुक्तसहित मोटरसाईकलहरु सार्वजनिक गरेको छ ।

विभिन्न समयमा विभिन्न स्थानबाट समूह बनाई चोरीमा संलग्न युवाहरुलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–३ ज्योति नगरका १९ वर्षीय तरुन राना, तिलोत्तमा नगरपालिका–६ का २५ वर्षीय हितेश राना, २४ वर्षीय दीपेश थापा, तिलोत्तमा–४ बस्ने १८ वर्षीय आकाश नेपाली, नवलपरासी रामग्राम नगरपालिका–१४ बस्ने ४३ वर्षीय सुनिल कुमार चौधरी, रामग्राम–१६ का २० वर्षीय करण थारु, गुल्मी घर भई हाल तिलोत्तमा ५ बस्ने २६ वर्षीय सरोज थापा, सोही ठेगानाका २६ वर्षीय दिपक रेगामी मगर, बाग्लुङ बरेङ गाउँपालिका ५ घर भएका १९ वर्षीय आशिष सामत उनका दाइ २० वर्षीय दिपक सामत, बरेङ ५ कै २९ वर्षीय गोरे भन्ने प्रमोद पुर्जा, र २२ वर्षीय मिलन खत्री रहेका छन् ।
पक्राउ परेका आरोपितहरुले आफूहरु बीच विभिन्न समूह बनाएर रुपन्देहीका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी विक्री गर्ने गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले पत्रकार सम्मेलनमा बताउनु भयो ।

पछिल्लो ३/४ महिनाको अवधिमा चोरीका घटना अत्यधिक बढेपछि प्रहरी अधिकृतको नेतृत्वमा विशेष अनुसन्धान टोलिनै गठन गरी उनीहरुलाई पक्राउ गर्न सफल भएको थापाले बताउनु भयो ।

उनीहरुलाई रुपन्देही सहित, काठमाडौँ, बागलुङ, नवलपरासी लगायतका जिल्लाहरुमा पुगेर पक्राउ गरी बुटवल ल्याइएको हो ।
पक्राउ परेका मध्ये केहीले पहिले नै ग्राहक खोजी गरी उनीहरुको माग अनुसारका मोडल तथा कम्पनीका मोटरसाइकल चोरी गरेको भेटिएको प्रहरीको बुझाई रहेको छ ।

केहीले चोरी गरेपछि ग्राहक खोजी गरेर विक्री गर्ने गरेको भेटियो । प्रनाउ थापाले उनीहरुले सार्वजनिक सवारीहरुमा सहचालक, मजदुरी लगायतका काम गर्ने र चोरीलाई नै आफ्नो मुख्य धन्दा बनाएको देखिएको बताउनु हुन्छ । यस क्षेत्रमा मोटर साइकल चोरी गर्ने अझै केही गिरोह सक्रिय रहेको बताउँदै उहाँले ती गिरोहहरुलाई समेत पक्राउ गर्ने गरी प्रहरीले अनुसन्धान र सक्रियता बढाएको दाबी गर्नु भयो ।

भेटिएका मध्ये ७ वटा मोटरसाइकलको सम्बन्धित धनी पत्ता लागेको र अन्यको समेत सवारी धनी पत्ता लगाएर जिम्मा लगाउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्