सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकार उदासीन

0
Shares

काठमाडौं । सरुवाभन्दा नसर्ने रोगबाट मानिसको मृत्यु बढी हुने गरेको र त्यसको प्रमुख कारक तत्व सुर्तीजन्य पदार्थ भएको देखिए पनि यसको नियन्त्रणमा सरकारले गम्भीरता देखाएको छैन ।

नेपाल सरकारले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ लालमोहर लगाएको भए तापनि चलखेलका कारण यसको कार्यान्वयन हुन नसकेको सरोकारवालाहरू बताउँछन् ।

नेपालको अन्तरिम संविधान २०६३ को धारा ८३ को उपधारा १ बमोजिम संविधान सभाले बनाएको सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन २०६८ मा तत्कालीन राष्ट्रपति डा.रामवरण यादवले २०६८ साल वैशाख २६ गते लालमोहर लगाउनुभएको थियो । त्यसयता प्रत्येक वर्ष सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने माग उठे पनि अर्थमन्त्रालयले खासै ध्यान नदिएको सरोकारवालाहरू बताउँछन् ।

क्यान्सर रोगको प्रमुख कारकतत्व सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण र नियन्त्रण गर्न अति आवश्यक भएको भन्दै स्वास्थ्य विज्ञहरूले सरकारको ध्यानाकर्षण गराइरहेको जिकिर गर्दै एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनसम्बन्धी ऐन र कानुनको पूर्ण रूपमा पालना नगरेर सरकारले जनस्वास्थ्यमाथि खेलबाड गरिरहेको छ ।’ उहाँले बजेटमा चुरोटका साथै खैनी, गुट्खा, पानपराग तथा अन्य सुर्तीजन्य पदार्थहरूमा शत प्रतिशत कर लगाउने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालय, अर्थ मन्त्रालय र सरोकारवाला निकायमा ध्यानाकर्षण गराइएको भए पनि कार्यान्वय नभएको बताउनुभयो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न कम्तीमा ७५ प्रतिशत कर लगाउनुपर्नेमा जोड दिँदै आएको छ तर नेपालले भने करको दर झन्झन् घटाउन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले (डब्लूएचओको ७६ औं महासभालाई सम्बोधन गर्ने क्रममा नेपालले सुर्तीजन्य पदार्थमा आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा करको दर बढाउने प्रतिबद्धता गर्नुभएको केही दिनपछि आएको बजेटमा उल्टै करको दर अघिल्लो वर्षभन्दा ५ प्रतिशतले घटाइएको अध्यक्ष चन्दले बताउनुभयो । उहाँका अनुसार यो पछिल्लो १० वर्ष यताकै न्यून कर दर हो ।

ऐनमा धूम्रपान तथा सुर्ती सेवन मानव स्वास्थ्यको लागि अत्यन्त हानिकारक भएको र धुम्रपान तथा सुर्ती सेवनले सामाजिक, आर्थिक तथा सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पार्ने भएकाले सो कार्यलाई नियन्त्रण गरी सर्वसाधारणको स्वास्थ्य, सुविधा र आर्थिक हित अभिवृद्धि गर्न सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री–वितरण तथा सेवन कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्नेे सम्बन्धमा कानुनी व्यवस्था गर्न वान्छनीय भएको उल्लेख गरिएको छ ।

डब्लूएचओको प्रतिवेदनअनुसार सुर्तीजन्य पदार्थमा १०% ले कर बढाएमा ८ % ले माग घट्ने गरेको छ । सुर्तीजन्य पदार्थमा कर वृद्धि गरी करबाट उठेको रकम सुर्तीजन्य पदार्थको नियन्त्रणमा प्रयोग गर्न विश्व स्वास्थ्य संगठनले सुझाव दिएको छ ।

विश्वमा हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु सुर्ती सेवनकै कारण हुने विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये ८० प्रतिशत मृत्यु न्यून तथा मध्यम आय भएका मुलुकहरूमा हुने गरेको पनि प्रतिवेदनले जनाएको छ ।

नेपालमा कुल जनसंख्याको झण्डै २९ प्रतिशतले धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको तथ्य नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सन् २०१९ को सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

सुर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा वर्षेनी २७ हजार १ सय जनाको अल्पायुमै मुत्यु हुने गरेको छ । यो संख्या नेपालमा हुने कुल मृत्युको झण्डै १५ प्रतिशत हो । सुर्ती सेवनबाट लागेको रोगको उपचारका लागि प्रत्येक वर्ष झण्डै ४७ अर्ब रुपियाँ खर्च भइरहेको छ, जुन कुल ग्राहस्र्थ उत्पादनको १ प्रतिशतभन्दा बढी हो ।

नेपालमा दैनिक २४.१ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्यांकले देखाउँछ । त्यसमध्ये ४० दशमलव १ प्रतिशत पुरुष र १० प्रतिशत महिला रहेका छन् । यस्तै, २८ दशमलव ९ प्रतिशत मानिसले (धूम्रपान वा धूवाँरहित ) सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको र शून्य दशमलव ८ प्रतिशतले विद्युतीय चुरोट प्रयोग गर्ने गरेको अध्ययनले देखाएको छ ।

सुर्तीजन्य पदार्थको सेवनका कारण क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढ्दै गएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले बताउनुभयो । सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सके नसर्ने रोगको जोखिमबाट धेरै हदसम्म जोगिने उहाँको भनाइ छ । उहाँका अनुसार २० मिनेट मात्रै धूम्रपान नगर्दा पनि उच्च रक्तचाप, पल्स रेट र शारीरिक तापक्रम सामान्य अवस्थामा ल्याउन सकिन्छ । डा. कार्कीले आठ घण्टा धूम्रपान नगर्दा ९३ दशमलव ७५ प्रतिशत निकोटिन लेभल घट्ने जानकारी दिनुभयो । उहाँले चुरोटको धूवाँमा ४ हजार प्रकारका केमिकल हुने र तीमध्ये ५० वटाले क्यान्सर निम्त्याउने जानकारी पनि दिनुभयो ।

वागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले सुर्तीजन्य पदार्थको सेवनका कारण ९० प्रतिशत फोक्सोको क्यान्सर हुने गरेको जानकारी दिनुभयो ।