प्रमुख प्रशासकीय अधिकृत साहसहित सात जनाविरुद्ध मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहसहित सात जनाविरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मधेस प्रदेश सरकारको अनुदानबाट आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालित योजनाहरू सम्पन्न नगरी रकम भुक्तानी गरेको अभियोगमा नगरपालिकाका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

प्रतिवादी बनाइएकाहरूमा प्रमुख प्रशासकीय अधिकृत साहसहित कानुन, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, इन्जिनियर सुरेशकुमार यादव र सब–इन्जिनियर उपेन्द्र कुशवाहा रहेका छन्। त्यस्तै, उपभोक्ता समितिका अध्यक्ष सोनालालप्रसाद यादव, सचिव नन्दकिशोरसाह कानु र कोषाध्यक्ष गीताकुमारी साह रहेका छन्।

कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा सो नगरपालिकाको वडा नं. २ स्थित रानीवास खेल मैदान निर्माण कार्यमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे÷नगराएको परिमाणको कार्य भएको भनी नापी किताबमा चढाई, झुट्टा बिल भरपाई र गलत कार्य सम्पन्न प्रतिवेदन तयार पारेका थिए। त्यसरी झुट्टा बिल प्रतिवेदन तयार गरी १ लाख ५ हजार ६८ रुपिया“७५ पैसा हिनामिना गरेको आयोगको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

त्यसैगरी प्रतिवादी बनाइएकाहरू सुरेशकुमार यादव र उपेन्द्र कुशवाहाले सो निर्माण कार्यको गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरी गलत प्रतिवेदन दिने कार्य गर्नुभएको थियो।

उपभोक्ता समितिका पदाधिकारीहरूले नगरपालिकासँग भएको सम्झौताबमोजिमको शर्त पालना नगरी, लागत अनुमानबमोजिम गर्नुपर्ने सबै कामहरू नगरी कार्य सम्पन्न भएको भनी नभए नगरेको कार्यसमेत भए गरेको भनी प्रतिवेदन पेस गरेका थिए। सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसुर भएकोले सोही रकम बराबरको बिगो, जरिवाना र कैद सजाय मागदाबी लिइएको छ।

प्रतिक्रिया दिनुहोस्