संसदीय समिति सभापतिमा समझदारी



samsadiy samiti

काठमाडौं । संसदीय समिति सभापति चयनमा दलहरूबीच समझदारी हुने भएको छ । सभामुखको आह्वानमा मंगलबार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय समितिका सभापतिको चयन पुरानै सहमति कार्यान्वयन गर्ने सहमति गरेको हो ।

संसदीय समितिका सभापतिको चयन गर्ने विषयमा पुरानै कार्यान्वयन गर्ने सहमति भएको कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङले बताउनुभयो । यसअघि शीर्ष नेताहरूबीच सार्वजनिक लेखा समितिसहित तीन संसदीय समितिको सभापति प्रमुख प्रतिपक्षी नेकपा एमालेले लिने र बाँकी सत्ता गठबन्धनबीच बाँडफाँट गर्ने सहमति भएको थियो ।

बैठकमा सहभागी कानुन मन्त्री गुरुङले संसदीय समितिको सभापतिमा पुरानै सहमति कार्यान्वयन गर्ने शीर्ष तहमा सहमति भएको जानकारी दिँदै भन्नुभयो– ‘पहिलेकै सहमति कार्यान्वयन गर्न नेताहरूले सहमति जनाएका छन् ।,’

सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली, र कानुनमन्त्री धनराज गुरुङ सहभागी हुनुहुन्थ्यो ।

प्रतिनिधि सभाअन्तर्गत १० वटा विषयगत समितिहरू छन् । ती सबै संसदीय समितिका सभापति चयन भएका छैनन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका संयुक्त दुई समिति पनि सभापतिविहीन छन् । समितिको बैठक बस्दा बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्