पुरानै ग्रेडअनुसार २ दिनभित्र परीक्षाफल प्रकाशित हुँदै

कुन ग्रेड, कति जीपीए ?



–ई–ग्रेड ल्याउनेले पनि प्रमाणपत्र पाउने
–वैकल्पिक ५ केन्द्रको परीक्षाफल रद्द
–पुनः परीक्षा दिनेको दर बढ्ने भए पनि पुरानै ग्रेड लागु
–१ दशमलव ६ जीपीए ल्याउनेले ११ मा पढ्न पाउने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल दुई दिनभित्र प्रकाशित गर्ने भएको छ । सोमबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सबै प्रक्रिया पूरा गरेर परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारी गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले ढिलोमा शुक्रबारसम्ममा परीक्षाफल प्रकाशित हुने जानकारी दिनुभयो । स्रोतका अनुसार सम्भव भए आजै परीक्षाफल प्रकाशित गर्ने तयारी छ । अन्यथा बिहीबार वा शुक्रबारभित्र परीक्षाफल प्रकाशित हुने भएको छ । यसै विषयमा आज बोर्डको बैठक बोलाइएको छ ।

सोमबार बसेको बोर्डको बैठकले खुला विद्यालयका ४ सय २२ परीक्षार्थीको परीक्षा रद्द गर्ने निर्णय गरेको छ । तीमध्ये मोरङको मात्रै ५ वटा केन्द्रका छन् । मोरङको ५ वटा केन्द्रमा नक्कली परीक्षार्थीले परीक्षा दिएको कारण ती केन्द्रका परीक्षा रद्द गरिएको हो । बोर्डले मंगलबार मध्यरातसम्म अन्तिम रुजु गर्नुका साथै हाजिर नगरेका, एउटा विषय दिनुपर्नेमा अर्कै विषय दिएका विद्यार्थीको तथ्याङ्क तयार गरेको थियो ।

बोर्डले २०७९ सालको एसईईको नतिजा लेटर ग्रेडिङ निर्देशिका, २०७२ अनुसार प्रकाशन गर्नेछ । जसअनुसार ३० देखि ४० प्रतिशत अंक ल्याउने विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउनेछन् । अर्थात ११ कक्षा पढ्नलाई अनिवार्य रूपमा १ दशमलब ६ ग्रेड प्योइन्ट एभरेज (जीपीए) ल्याउनुपर्छ । २०७२ सालको निर्देशिका अनुसार ९० भन्दा माथि र १०० प्रतिशत कम अंक ल्याउने विद्यार्थीको जीपीए ए प्लस हुनेछ ।

एसईईको नतिजा संशोधन गरिएको निर्देशिकाबाट गर्ने कि पुरानो भन्ने विषयमा सरोकारवालाको बारम्बारको चासोपछि सोमबार बसेको बोर्डको बैठकले पुरानै निर्देशिकाअनुसार परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

बोर्डका एक सदस्यका अनुसार नयाँ ग्रेडिङ लागु भए धेरै विद्यार्थी अनुत्तीर्ण हुने भयले पुरानै निर्देशिकाअनुसार परीक्षाफल प्रकाशित गर्ने निर्णय गरिएको हो । नयाँ निर्देशिकामा सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था थियो । ३५ प्रतिशत अंक नल्याए नन् ग्रेडेड (एनजी) हुने र ती विषयमा पुनः परीक्षा दिनुपर्ने व्यवस्था थियो । बोर्डका अध्यक्ष शर्माले गएको शैक्षिक सत्रमा पुरानै पाठ्यक्रमअनुसार पठनपाठन भएको कारण पुरानै ग्रेड लागु गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यो वर्ष पुरानै निर्देशिकाअनुसार परीक्षाफल प्रकाशित भए तापनि आगामी वर्ष नयाँ निर्देशिकाअनुसार परीक्षाफल प्रकाशित गर्ने तयारी बोर्डको छ । यो वर्ष ८ सय पूर्णाङ्कको परीक्षा दिएका एसईईका विद्यार्थीले आगामी वर्ष ७ सय पूर्णाङ्कको परीक्षा दिने व्यवस्था छ ।

यसअघि २०७८ पुस ७ गते मन्त्रीस्तरीय निर्णयले पहिलो पटक लेटर ग्रेडिङ निर्देशिका, २०७८ जारी गरेको थियो । सो निर्देशका जारी भएको दुई महिना बित्न नपाउँदै फागुन १८ गते पहिलो संशोधन गरी सैद्धान्तिकतर्फ ३५ भन्दा कम अङ्क ल्याउने विद्यार्थीको नतिजामा एनजी लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरिएको थियो । यो वर्ष ‘ई’ ग्रेड पनि निर्धारण गरेर विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिन्छ । चैत १७ गतेदेखि २९ गतेसम्म भएको एसईई ४ लाख ८५ हजार विद्यार्थी सहभागी थिए ।

कुन ग्रेड, कति जीपीए

१. ९० देखि १०० प्रतिशतसम्म : अति उत्तम, ‘ए प्लस’ ग्रेड, ४ दशमलव ० जीपीए
२. ८० र सोभन्दा माथि ९० प्रतिशतभन्दा कम : उत्तम, ‘ए’ ग्रेड ३ दशमल ६ जीपीए
३. ७० र सोभन्दा माथि ८० प्रतिशतभन्दा कम : ंधेरै राम्रो, ‘बी प्लस’ ग्रेड, ३ दशमलव २ जीपीए
४. ६० र सोभन्दा माथि ७० प्रतिशतभन्दा कम : राम्रो, ‘बी’ ग्रेड, २ दशमलव ८ जीपीए
५. ५० र सोभन्दा माथि ६० प्रतिशतभन्दा कम : सन्तोषजनक, ‘सी’ प्लस ग्रेड, २ दशमलव ४ जीपीए
६.४० र सोभन्दा माथि ५० प्रतिशतभन्दा कम : स्वीकार्य ‘सी’ ग्रेड, २ दशमलव ० जीपीए
७. ३० र सोभन्दा माथि ४० प्रतिशतभन्दा कम : स्वीकार्य ंआंशिक, ‘डी’ प्लस ग्रेड, १ दशमलव ६ जीपीए
८. २० र सोभन्दा माथि ३० प्रतिशतभन्दा कम : अपर्याप्त, ‘डी’ ग्रेड, १ दशमलव २ जीपीए
९. २० भन्दा कम ः धेरै अपर्याप्त, ‘ई’ग्रेड, ० दशमलव ८ जीपीए

प्रतिक्रिया दिनुहोस्