सत्ताको छटपटीमा एमाले



काठमाडौं । संसद्को दोस्रो ठूलो एवं प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा सत्ताको छटपटी देखिन थालेको छ । नेकपा (माओवादी केन्द्र) लाई नेपाली कांग्रेससँगको गठबन्धनबाट टुटाएर आफ्नै सहयोगमा प्रधानमन्त्रीको जिम्मेवारी सुम्पिएको एमालेले माओवादीकै कारण संघीय सरकार हुँदै सातवटै प्रदेश सरकार गुमाउनुपरेपछि यस्तो छटपटी देखिएको हो । सातै प्रदेशबाट बाहिरिन पुगेको एमाले संवैधानिक तहबाट पनि बाहिरिने अवस्था आउन लागेपछि अझै अत्तालिएको छ ।

गत पुस १० गते नयाँ समीकरणका साथ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाएका एमालेका अध्यक्ष केपी शर्मा ओली प्रचण्डबाट धोका पाएपछि अहिले कांग्रेसलाई नै प्रधानमन्त्रीको प्रस्ताव गर्ने तहमा पुग्नुभएको छ । कांग्रेस र एमालेको सहकार्य हुने विषयमा केही दिनयता एमालेका नेताहरूले बारम्बार अभिव्यक्ति दिइरहका छन् । उनीहरूले वर्तमान सरकारप्रति असन्तुष्टि प्रकट गर्दै कांग्रेस र एमालेको सहकार्यमा जोड दिँदै आएका छन् । मुलुकका दुई ठूला दल मिलेर सरकार बनाउँदा अन्य बिचौलिया दलहरूलाई बाहिर राख्न सकिने भन्दै कांग्रेसलाई अघि सारेर सरकारमा जाने एमालेको दाउ छ । ओलीले सत्ता राजनीतिका माहिर खेलाडी कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सहयोग गर्ने लालच दिनसम्म भ्याइसक्नुभएको छ ।

सोमबार मात्रै ओलीले आफूलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गर्दै भन्नुभयो– ‘देश समृद्धि होस्, जनता सुखी रहुन् भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरू आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेका छन् ।’ उहाँले आफू सरकारमा सहभागी भएको बेला शुरू गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पु¥याउने लगायतका थुप्रै काम गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको भन्दै घुमाउरो भाषामा पटकपटक असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री ओलीलाई सत्ताबाहिर रहनुपरेको पीडाले पिरोल्न थालेपछि नयाँ कोर्सको अभ्यास गर्न खोजेकोे गठबन्धन दलका नेताहरूले बताएका छन् । कांग्रेसका एक सांसदले नेपाल समाचारपत्रसँग भने– ‘अहिले सरकार परिवर्तन र गठबन्धन फेरबदलको कुनै सम्भावना छैन । प्रधानमन्त्रीको प्रस्तावलाई स्वीकार गरेर गठबन्धन परिवर्तन गर्ने पक्षमा कांग्रेस छैन । एमालेका नेताहरूले सत्ताबाहिर रहनुपर्दाको पीडालाई मल्हम लगाउन केही उपाय निस्किहाल्छ कि भनेर प्रधानमन्त्रीको प्रस्तावको हल्ला गरेका मात्रै हुन् ।’

राजनीतिको मूल ध्येय सत्ता प्राप्ति नै ठानेर राजनीतिक जोड घटाउमा लागेका दलहरूलाई सत्ता बहिर्गमनको छटपटाहट हुनु स्वभाविक नै हो । त्यसमाथि सबै पुराना दलहरू सत्तामा बसिरहेको अवस्थामा एमाले मात्र बाहिर रहनुपर्दा छटपटी बढ्ने कुरालाई सामान्य रूपमा लिन सकिने राजनीतिक विश्लेषकहरू बताउँछन् । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले यो वा त्योभन्दा पनि नेपालका सबै राजनीतिक दलहरूको प्रवृत्ति सत्ता बाहिर रहन नचाहने खालैका रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘नेपालका राजनीतिक दलहरू जनसरोकार र राष्ट्रनिर्माणका विषयलाई भन्दा पनि कसरी सत्तामा पुगेर राज्यका सबै निकायमाथि हालिमुहाली गर्न पाइन्छ भन्ने मात्रै सोचका साथ अघि बढेको पाइन्छ ।’

एमालेका दोस्रो तहका नेताहरू कांग्रेससँग निकट रहेर छलफल गरिरहे पनि अहिले नै छलफल शुरु भइनसकेको एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले भन्नुभयो– ‘राजनीतिमा असम्भव भन्ने केही हुन्न, कांग्रेस माओवादीसँग मिल्दा एमालेसँग मिल्दैन र मिल्नुहुँदैन भन्ने कहाँ छ र ? । तर, यस विषयमा नेताहरूसँग छलफल शुरू भइहालेको अवस्था छैन ।’

एमालेका नेताहरूले लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेस र एमालेबीच छलफलका साथै सहकार्य आवश्यक रहेको समेत बताउन थालेका छन् । दुई दलको सहकार्य गरेर स्पष्ट बहुमतका साथ बाँकी रहेको साढे चार वर्ष जनताका पक्षमा काम गर्नेगरी सरकार चलाउने र अन्य दलहरूलाई आगामी निर्वाचनमा कमजोर तुल्याउने विषयले समेत चर्चा पाएको छ । यद्यपि, अहिले एमाले अध्यक्ष ओलीप्रति कांग्रेसको विश्वास कम रहेकाले अहिले नै एमालेसँगको सहकार्य हुने सम्भावना कम रहेको नेताहरूले बताएका छन् । तर, गठबन्धनकै कतिपय नेताहरूले भने कांग्रेस–एमालेबीचको सहकार्य भए मुलुकमा राजनीतिक स्थिरता हुने र जनअपेक्षाअनुसार देखिनेगरी काम गर्न सकिने बताउँदै आएका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दुई ठूला दलबीचको सहकार्य आवश्यक रहेको बताउँदै भन्नुभयो– ‘हामी कांग्रेससँग बसेर छलफल गर्न तयार हुन्छौँ । सबैभन्दा पहिले एजेन्डाको कुरा हो, सरकार परिवर्तनको कुरा होइन । पछिल्लो जल्दोबल्दो विषयमा काँग्रेसको दृष्टिकोण के हो ? कांग्रेस कसरी अगाडि बढ्न चाहन्छ ? आगामी बाटो ठीक भयो भने त्यसपछि छलफलको सार्थकता हुन्छ एजेन्डा बिनाको सरकार परिवर्तनले केही हुँदैन ।’ दुई दलका नेताहरूबीच छलफल गर्ने हो भने सबै विषयहरू निष्कर्षमा पुग्ने गरी अघि बढ्नसक्ने उहाँको भनाइ छ ।

एमालेसँग माओवादीलाई छुटाएर आफ्नो पक्षमा ल्याएको कांग्रेसलाई सत्ताबाहिर एकैछिन बस्न नसक्ने भन्दै कडा टिप्पणी गर्ने एमाले नेताहरूले अहिले सत्ताको बार्गेनिङका लागि कांग्रेस–एमालेबीचको सहकार्यले मात्रै मुलुकलाई स्थायित्व दिने दाबी गर्न थालेका छन् । माओवादीले सत्ता गठबन्धनभित्रकै दलहरूलाई समेटेर समाजवादी मोर्चा बनाएपछि एमालेले सोही विषयलाई उठान गरेर सत्ता परिवर्तनको पासो थाप्न खोजेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्