बोक्सीको आरोपमा एकल महिलाको कपाल मुण्डन



बारा । बोक्सीको आरोपमा बाराको पचरौता नगरपालिका–२ श्रीनगर बैरियामा एकल महिलामाथि निर्धात रूपमा कुटपिट गरी कपाल मुण्डनसमेत गरिएको छ ।

स्थानीय भोला मिया अन्सारी, ओजिर मिया अन्सारी र भोलकी श्रीमतीले छिमेककी ५६ वर्षीया हिरवादेवी लोहारिनलाई बोक्सी आरोपमा आइतबार राति घरमै पुगेर कुटपिटसहित दुव्र्यवहार गरेका हुन् ।

‘राति घरमा एक्लै थिएँ’, पीडित लोहारिनले भन्नुभयो– ‘बोक्सी भन्दै एक्कासि भित्र पसेर कुटपिट गरे ।’ कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट बेहोरेकी लोहारिनको हाल कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।

सोही साँझ घर नजिकैको धानखेतमा जाँदै गरेको अवस्थामा भोला र ओजिरले गालीगलौज गर्दै उहाँलाई कुटपिट गर्ने प्रयास गरेका थिए । ‘खेतमा पनि बोक्सी भन्दै आक्रमण गर्न खोजेका थिए’, उहाँले भन्नुभयो– ‘तर भागेर ज्यान जोगाएँ, पछि घरमै आएर कुटे ।’ उहाँले यसअघि पनि उनीहरूले बोक्सी आरोपमा आफूलाई पटकपटक सार्वजनिक स्थलमा गालीबेइज्जत गर्दै आएको बताउनुभयो ।

बोक्सी आरोपमा महिलामाथि कुटपिट हँुदै गरेको खबर पाएपछि गाउँकै प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजीव सिंहको टोली पुगेर भोलालाई नियन्त्रणमा लिएको वडा अध्यक्ष मनोज यादवले बताउनुभयो । अर्का आरोपित ओजिर र भोलाकी श्रीमती भने फरार बनेका छन् ।

२ वर्षअघि पति रामाज्ञा ठाकुरको निधनपछि लोहारिन छोरा मिथिलेस शर्मासँगै घरमा बस्दै आउनुभएको थियो । २० वर्षीय छोरा मिथिलेस पनि घटनाको समयमा घर बाहिर रहेका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले घटनामा संलग्न रहेको आरोपमा एक पक्राउ परेको र घटनाको बारेमा थप अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयको टोली सोमबार घटनास्थल पठाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्