चुनाव हुने दिन कानुनमै तोक



काठमाडौं । निर्वाचन आयोगले चुनाव हुने दिन कानुनमै तोक्नुपर्ने बताएको छ ।

आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा समावेश गर्नुपर्ने विषयहरूबारे निर्णय गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार निर्वाचन हुने दिन र निर्वाचन प्रचारप्रसारको अवधि विधेयकमै किटान गर्नुपर्ने आयोगको निर्णय छ ।

त्यसै गरी विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली संकलन गर्ने र कूटनीतिक नियोगको सहयोगमा विदेशबाटै प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्ने समेत आयोगको निर्णय छ । आयोगले मतपत्रमा नो भोटको व्यवस्था गर्ने र स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरूका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गर्ने समेत निर्णय गरेको छ ।

त्यसै गरी आयोगले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । त्यसमा कुनै समानुपातिक निर्वाचन प्रणालीबाट दुई पटक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकमै उम्मेदवार हुन नसक्ने उल्लेख छ । आयोगले एउटा तहको निर्वाचनमा पराजित भएको व्यक्ति ५ वर्षसम्म अर्को तहमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ ।

संघीय संसद, प्रदेशसभा वा स्थानीय तह निर्वाचनमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपचुनावबाहेक कुनै पनि तहमा त्यो कार्यकाल उम्मेदवार हुन नपाउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्