ललिता निवासको जग्गा संरक्षण गर्न कामपा प्रहरी पस्यो

तीन जना पक्राउ



–सातदिने अल्टिमेटम
–टहरा खाली गर्न आज सूचना जारी गर्दै
–हिजैबाट नापजाँच शुरू
–तीन दिनभित्र तारबार शुरू हुने
–भाटभटेनी गोदाम र एनआरएनएको भवन खाली गर्न समन्वय गरिने
–कामपा प्रवक्ता भन्छन् : सार्वजनिक जग्गा संरक्षण गर्नु हाम्रो दायित्व हो

काठमाडौं । काठमाडौं महानगरपालिकाले बहुचर्चित ललिता निवासको जग्गा संरक्षण शुरू गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वालुवाटारस्थित ललिता निवासमा जग्गा घोटाला कसुरमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङ, धर्मप्रसाद गौतम र पूर्वनिर्वाचन आयुक्त सुधीर शाहलाई पक्राउ गरी अनुसान्धान शुरू गरेपछि कामपाले सो काण्डमा घोटाला भएको भनिएको जग्गा संरक्षण शुरू गरेको हो ।

सीआईबीले ललिता निवास परिसरको १ सय ४३ रोपनी जग्गा संरक्षण गर्न कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली आइतबार वालुवाटारस्थित ललिता निवासको जग्गामा पुगेको थियो । जग्गामा पुगेलगत्तै कामपाले नापजाँच शुरू गरेको थियो ।

नगरप्रहरी बल प्रमुख पाण्डेले सो जग्गामा रहेका ८ वटा ठुलो टहरा तत्काल खाली गर्न निर्देशन दिनुभएको थियो । टोलीले भाटभटेनीको गोदाम घर र एनआरएनएको मुख्यालय रहेको भवनको अवस्था पनि अवलोकन गरेको थियो । अवलोकनपछि कामपा प्रहरी प्रमुख पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अधिकांश भाग खाली देखियो । निर्माण गरिएको गोदाम घर हटाउन आदेश दिएका छौं ।’ उहाँले निर्माण सामाग्रीसहित विभिन्न वस्तु भण्डारण गरिएको ठुलाठुला टहरा हटाउन करिब एक साता समय दिने जानकारी दिनुभयो । कामपाको टोलीले हिजैबाट सो जग्गाको नापजाँच शुरू गरेको छ ।

एनआरएन र भाटभटेनीको गोदाम खाली गर्ने विषयमा कामपाले सरकारसँग समन्वय गर्ने भएको छ । महानगरले आज सार्वजनिक सूचना जारी गर्नेछ । सोमबार सार्बजनिक सूचना जारी भएपछि सोहीअनुसार कारबाही प्रक्रिया अघि बढाउने तयारी कामपाको छ । पक्राउ परेको भाटभटेनीका सञ्चालक गुरुङसहितको टोलीले एनआरएनएलाई बिक्री गरेको जग्गामा बनेको घरको लालपुर्जा र नक्सा पास भइसकेको छ ।

नापी कार्यालयले उक्त जग्गा रोक्का गर्ने प्रक्रिया अघि बढाइसकेको कारण तत्काल भाटभटेनीको गोदाम र एनआरएनएको भवन खाली गर्ने अवस्था छैन । यद्यपि, कसरी खाली गर्न सकिन्छ भन्ने विषयमा कामपाले आन्तरिक तयारी शुरू गरेको छ । कामपा प्रवक्ता नविन मानन्धरले सार्वजनिक सम्पत्ति संरक्षण गर्ने दायित्व कामपाको भएकोले सोहीअनुसार कारबाही शुरू गरेको जानकारी दिनुभयो । महानगरले आज सोमबार सूचना जारी गरी कति दिनमा टहरा खाली गर्ने भन्ने विषयमा जानकारी गराउने पनि उहाँले बताउनुभयो ।

कामपाले सो जग्गामा पहिलो चरणमा घेराबार गर्ने, भौतिक संरचना भए निर्माण रोक्न र भएको भवन खाली गर्न शुरू गरेको हो । जग्गा अवलोकन गर्न मेयर सचिवालय, नगर प्रहरी प्रमुख पाण्डेसहितको टोली, कामपा नक्सा विभागका इन्जिनियर, वडा नं ४ का जनप्रतिनिधि र प्रहरी टोली पुगेको थियो ।

महानगरले आज सोमबारबाट जग्गामा तारबार लगाउन शुरू गर्नेछ । त्यसपछि अदालतको निर्णयअनुसार कसरी अघि बढ्ने भन्ने विषयमा थप निर्णय हुने कामपाले जनाएको छ । सीआईबीले अनुसन्धान शुरू गरेपछि लालपुर्जा बदर गर्ने प्रक्रिया अघि बढीसकेको छ । यसअघि सरकारी जग्गा किर्ते गरेको आरोपमा ब्युरोले गत मंगलबार ७ जनालाई पक्राउ गरेको थियो । तर, अदालतको ‘स्टे अर्डर’ पाएको कारण ३ जनालाई भने कागज गराएर छाडिएको थियो ।

सीआईबीको अनुसन्धानमा पक्राउ परेका गिरोहले पहिलो चरणमा एक सय १२ रोपनी जग्गा किर्ते गरी आफ्नो नाममा सारेका थिए । पक्राउ परेका गुरुङ र उहाँको नातेदारको नाममा २९ रोपनी जग्गा देखिएको थियो । ललिता निवास प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरूङविरूद्ध मुद्दा चलाइसकेको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलिरहेको छ ।

गुरुङविरुद्ध अख्तियारले करिब ३९ करोड २७ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाएको छ । यसअघि उक्त मुद्दामा गुरूङ ३ करोड रूपियाँ धरौटी बुझाएर रिहा हुनुभएको थियो । हिरासतमा रहेका गुरुङसहित ३ जना अस्पतालमा उपचार गराइरहेका छन् ।

पक्राउ परेका गौतमको नाममा ३ रोपनी र शाहकी श्रीमती उर्मिलाको नाममा भने ५ रोपनी २ पैसा देखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो काण्डको अनुसन्धानमा कुनै दबाब नदिने बताएपछि सीआईबीको टोली थप सक्रिय भएको छ ।

काठमाडौं महानगरपालिकाले ललिता निवासको जग्गामा भवन निर्माणका लागि स्वीकृति नदिने भएको छ । महानगरपालिकाको ४ नम्बर वडामा पर्ने बालुवाटारस्थित ललिता निवास र त्यसले खर्चेको जग्गामा भवन निर्माण गर्न महानगरपालिकाले स्वीकृति नदिने भएको हो ।

अब उक्त जग्गामा बनेका संरचनाको निर्माण सम्पन्नाको प्रमाणपत्र समेत जारी नहुने महानगरपालिकाले जनाएको छ । उक्त क्षेत्रको कुनै जग्गामा भवन निर्माण कार्य भइरहेको भए सो कार्य रोक्का राख्न समेत सरोकारवालालाई जानकारी गराएको छ ।

तीन जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार थप तीन जनालाई पक्राउ गरेको छ ।

तत्कालीन वडा सचिव शिवजी भट्टराई, नापी कार्यालयका तत्कालीन कर्मचारी घमानकुमार कार्की र नक्कली मोही बनेका बाबुराजा महर्जनलाई पक्राउ गरिएको प्रहरी ब्युरोले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्