निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचारी ठहर

प्राधिकरणका उपप्रबन्धक चौधरीलाई एक महिना कैद



काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले भ्रष्टाचार गरेको ठहर गर्दै एक वर्ष तीन महिना कैद हुने सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र खुसीप्रसाद थारूको इजलासले शुक्रबार यस्तो फैसला सुनाएको हो । खड्कासमेत चारलाई प्रतिवादी बनाउँदै अख्तियारले २३ पुस ०७५ मा दायर गरेको मुद्दामा फैसला गर्दै दोषी ठहर गरेको हो ।
विशेषका प्रवक्ता तथा उपरजिस्ट्रार दीपेन्द्रनाथ योगीले गोपाल खड्काको नाममा रहेको नौ करोड १९ लाख ६ हजार रुपियाँभन्दा बढी बिगोबमोजिम जरिवाना हुने फैसला भएको बताए ।

यसबाहेक मुद्दामा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएकी गोपालकी श्रीमती शर्मिला खड्का तथा अमिता लामा सोदेम्बाको नाममा रहेको सम्पत्ति जफत हुने भएको छ । उहाँले भन्नुभयो–‘प्रतिवादीकी श्रीमती शर्मिला खड्काका नाममा रहेको कित्ता नं. १४२२ र १४२३ मा रहेको घरजग्गा पनि जफत हुनेछ । अर्की प्रतिवादी अमिता लामाको नाममा रहेका वादी पक्षले मागदाबी लिएबमोजिमका जग्गाजमिन समेतका सम्पत्ति जफत हुने फैसलामा छ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध १८ करोड ६६ लाख रुपियाँभन्दा बढीको गैरकानुनी सम्पत्ति रहेको देखाउँदै मुद्दा चलाएको थियो ।

खड्का सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि २ चैत ०६९ सम्मको आय–व्ययको अनुसन्धान गरिएको थियो । जस क्रममा पुख्र्यौली घरबाहेक नै उनले तीनवटा घर निर्माण र खरिद गरेको भेटिएको थियो । साथै थप दुईवटा घर खरिद गर्न भुक्तानी दिएको अनुसन्धानले देखाएको थियो ।

खड्काले काठमाडौंका साथै ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा गरी ११ कित्ता जग्गा खरिद गरेको देखिएको थियो । उनको नाममा विभिन्न ५५ वटा बैंक र वित्तीय संस्थामा मौज्दात रकम रहेको भेटिएको थियो ।

प्राधिकरणका उपप्रबन्धक चौधरीलाई एक महिना कैद

नेपाल विद्युत् प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरी पनि गैरकानुनी सम्पत्ति मुद्दामा दोषी ठहर भएका छन् । २०७५ साल माघ १८मा उहाँसहित उहाँकी श्रीमती प्रियंकाकुमारी चौधरीमाथि मुद्दा दायर भएकोमा आरोप दाबी ठहर हुने फैसला भएको हो ।

विशेषका उपरजिस्ट्रार योगीका अनुसार चौधरीलाई एक महिना कैद र १७ लाख ७९ हजार रुपियाँभन्दा बढी रकम बिगोबमोजिम जरिवाना हुने आदेश भएको छ । विशेषका न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले शुक्रवार यस्तो फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्