अलिबाबाका मालिक ज्याक मा काठमाडौंमा



काठमाडौं । चिनियाँ कम्पनी अलिबाबा ग्रपका मालिक तथा चिनियाँ धनाढ्य ज्याक मा मंगलबार अपराह्न काठमाडौं आइपुग्नुभएको छ । अध्यागमनका अनुसार ज्याक मा बोइङ ७३७ म्याक्स चार्टर्ड जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो ।

पर्यटक प्रवेशाज्ञामा चालक दलका ६ सदस्यसहित बंगलादेशको ढाकाबाट काठमाडौं आइपुगेका ज्याक माले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथै विभिन्न उच्चस्तरीय भेटघाट गर्ने बताइएको छ ।

फोब्र्सको सन् २०१७ को सूचीअनुसार चीनका तेस्रो धनी व्यक्ति ज्याक माले सन् १९९९ मा अलिबाबा समूहको स्थापना गर्नुभएको हो । १८ जना साथीबाट जम्मा गरेको ६० हजार अमेरिकी डलरबाट शुरू भएको अलिबाबाले साना तथा मझौला चिनियाँ व्यवसायीका लागि इन्टरनेट बजार उपलब्ध गराउने काम गर्दछ ।

चीनको अमेजनको रूपमा चिनिएको उक्त कम्पनीको बजार मूल्य हाल १ खर्ब डलरभन्दा बढी छ । नेपालको तीन दिने बसाइपछि ज्याक माको बिहीबार काठमाडौंबाट पाकिस्तानको लाहोर जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्