प्रधानमन्त्रीका निजी सचिवलाई राजस्व अनुसन्धानको जिम्मा

विभाग अस्थिर बन्दा राजस्व छलीका मुद्दा प्रभावित



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयमा कार्यरत सहसचिव नवराज ढुंगानालाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाइएको छ । राजस्व अनुसन्धान विभागमा छोटो छोटो समयमा नेतृत्व परिवर्तन हुँदा विभागले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । जसका कारण राजस्व छली जस्तो संवेदनशील विषयमा मुद्दा दायर हुने क्रम अवरुद्धजस्तै बनेको छ । अस्थिरता र राजनीतिक हस्तक्षेपको शिकार बन्दै आइरहेको विभागले पछिल्ला दिनमा राजस्व छली गर्नेहरूविरुद्ध मुद्दा दायर गर्ने क्रमलाई तदारुकता दिन सकेको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलवार राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटालाई प्रधानमन्त्री कार्यालयमा तानेर उनको ठाउँमा प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयमा रहेका सहसचिव नवराज ढुंगानालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो । सापकोटा पाँच महिनाअघि मात्रै विभागको महानिर्देशकको रूपमा गएका थिए । विभागमा ढेड वर्षको अवधिमा ७ जना महानिर्देशक परिवर्तन भइसकेका छन् । जसका कारण विभागले राजस्व छली सम्बन्धमा महत्वपूर्ण अनुसन्धान गरी मुद्दा दायर गर्ने काम पूर्ण रूपमा प्रभावित हँुदै आएको छ ।

राजस्व अनुसन्धान विभागको महानिर्देशक बनेका ढुंगाना यसअघि भन्सार विभागमा रहँदा विवादित बनेका थिए । प्रधानमन्त्री प्रचण्डले आफ्नै निजी सचिवलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाउनुलाई शंकास्पद रूपमा हेरिएको छ । ढुंगानाले प्रधानमन्त्री प्रचण्ड सँगै रहेर ६ महिना बढी काम गरिसकेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागमा ढेड वर्षमा ७ जना महानिर्देशक फेरबदल भएका छन् । शुरूमा दीर्घराज मैनाली रहदा विभागमा राजश्व छली सम्बन्धमा मुद्दा दर्ता गर्ने क्रम अत्यधिक थियो । मैनालीपछि रामप्रसाद आचार्य महानिर्देशक भएर आएका थिए । आचार्य पनि छोटो समय मात्रै महानिर्देशकको रूपमा आए । आचार्य पछि महानिर्देशकको रूपमा प्रकाश पौडेल आएका थिए । पौडेल पनि ७–८ महिना मात्रै महानिर्देशकको रूपमा रहे । आचार्य र पौडेलले मुद्दा दायर गर्ने क्रमलाई केहि निरन्तरता दिए पनि त्यस पछि भने राजस्व छलीविरुद्ध मुद्दा दायर गर्ने क्रम ह्वात्तै घटेको छ । पौडेल पछि आएका झलकराम अधिकारी पनि लामो समय टिक्न सकेनन् । अधिकारी ४ महिना मात्रै विभागको महानिर्देशकको रूपमा रहे । उनलाई हटाएर ल्याइएका मदन दाहाल पनि ३ महिनादेखि टिक्न सकेनन् । राजनीतिक हस्तक्षेपको शिकार हुँदै आइरहेको राजस्व अनुसन्धान विभागमा दाहाल पछि नारायण सापकोटालाई महानिर्देशक बनाएर ल्याइएको थियो । सापकोटा पनि मुस्किलले पाँच महिना मात्रै महानिर्देशकको रूपमा रहे । अहिले उनलाई पाँच महिना नै हटाएर ढुंगानालाई महानिर्देशक बनाइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै एक उपसचिवका अनुसार राजस्व अनुसन्धान विभागलाई यसरी अस्थिर बनाउदा राजस्व छली गर्नेहरूको मनोबल उच्च हुने क्रम बढेको छ । राजस्व छली गर्नेलाई कारबाही गर्ने निकायमा नेतृत्व छिटो छिटो परिवर्तन हुँदा विभागले राम्ररी काम गर्न सक्दैन । जसले गर्दा राजस्व छली गर्नेलाई सहज हुने गरेको प्रधानमन्त्री कार्यालयका ती उपसचिवको भनाइ छ ।

ढेड वर्षमा सात महानिर्देशक :

दीर्घराज मैनाली
रामप्रसाद आचार्य
प्रकाश पौडेल
झलकराम अधिकारी
मदन दाहाल
नारायण सापकोटा
नवराज ढुंगाना

प्रतिक्रिया दिनुहोस्