कक्षा ११ मा छात्रवृत्ति- एकीकृत परीक्षा लिएर योग्यताक्रमका आधारमा छात्रवृत्ति दिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति पाउन योग्य विद्यार्थीका लागि एकीकृत परीक्षा सञ्चालन गर्ने भएको छ । कामपा शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले निजी उच्चमाध्यमिक विद्यालयले छात्रवृत्ति उपलब्ध गराउँदा मनपरी गरेको गुनासो आएपछि छात्रवृत्तिलाई एकरूपता दिन एकीकृत परीक्षा शुरू गर्न लागेको जानकारी दिनुभयो ।

माविसम्मको शिक्षा स्थानीय निकायमा आएपछि वडा अध्यक्षको अध्यक्षतामा हुने समितिले छात्रवृत्ति दिने व्यवस्था गरेको छ । कामपाले मात्र परीक्षा लिएर योग्यता क्रमका आधारमा छात्रवृत्ति दिने तयारी गरेको छ । एक साताअघि भर्ना शुल्क विवरण माग गरेको कामपाले पहिलोपटक परीक्षा लिएर छात्रवृत्ति छनौट गर्न लागेको हो ।

शिक्षा विभाग प्रमुख कोइरालाका अनुसार छात्रवृत्ति पाउन योग्य विद्यार्थीले मापदण्डअनुसार अनलाइनमा परीक्षा फारम भर्नुपर्नेछ । त्यसका लागि शिक्षा विभागले कार्यविधि तयारी गरिरहेको छ । फारममा विद्यार्थी आफूले पढ्न चाहेको विद्यालयको नाम क्रमैसँग उल्लेख गर्ने व्यवस्था गरिएको छ । भर्नापछि विद्यार्थीले पाएको अंकको आधारमा योग्यता क्रमको सूचीअनुसार छात्रवृत्ति पाएका विद्यार्थीलाई अवसर दिनेछ । शिक्षा विभाग प्रमुख कोइरालाले भन्नुभयो– ‘हामीले सफ्टवेयर तयारी गरिरहेका छौं । एसईईको परीक्षाफल प्रकाशित भएलगत्तै छात्रवृत्ति परीक्षा लिएर भर्ना गर्नेछौं । वडा अध्यक्ष र विद्यालय प्रतिनिधिको रोहवरमा वडाले भर्ना भएकामध्ये १० प्रतिशतलाई छात्रवृत्तिका लागि सिफारिस गर्नेछ ।’

उच्च शिक्षा तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान)का अध्यक्ष रमेश सिलवालले ऐनविपरीत छात्रवृत्ति परीक्षा लिएर भर्ना गर्न नमिल्ने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो– ‘वडा अध्यक्षको अध्यक्षतामा बसेको बैठकले गर्ने निर्णयलाई उल्ट्याएर कामपा शिक्षा विभागले एकीकृत परीक्षा लिएर छात्रवृत्ति दिनु गतल हो, यसको हामी विरोध गर्नेछौं ।’ शिक्षा विभाग प्रमुख कोइरालाले भने कामपा शिक्षा ऐनमा टेकेर छात्रवृत्ति परीक्षा लिने व्यवस्था गर्न लागेको दाबी गर्नुभयो । उहाँका अनुसार यो वर्षदेखि पहिलोपटक अनलाइनमा आधारित परीक्षा लिएर मेरिटका आधारमा छात्रवृत्ति उपलब्ध गराउने निर्णय भइसकेको छ । विभागले चिकित्सा शिक्षा आयोगको विधिअनुसार परीक्षा लिन लागेको छ । विभागले प्रश्नपत्र निर्माण, उत्तरपुस्तिका परीक्षण, परीक्षाफल प्रकाशन, भर्ना सिफारिसलगायत सबै विधि आयोगकैअनुसार गर्न लागेको छ ।

हिसान अध्यक्ष सिलवालले हाल भइरहेको विधि वैज्ञानिक भएको बताउँदै सोही आधारमा छात्रवृत्तिमा भर्ना लिने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘कानुनले जे निर्देशित गरेको छ, सोहीअनुसार परीक्षा लिने व्यवस्था हुनुपर्छ । कसैको लहडको आधारमा भइरहेको परम्परालाई तोडमोड गरेर मनपरी रूपमा परीक्षा सञ्चालन गर्ने प्रवृत्ति मान्य हँुदैन ।’

तथ्याङ्कअनुसार महानगरक्षेत्रमा करिब सयको हाराहारीमा ११ र १२ कक्षा मात्र पढाउने उच्च माविहरू छन् । तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्ले विद्यार्थीले फारम भरेको आधारमा छात्रवृत्ति दिने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्