रुपन्देहीका १६ पालिकामध्ये तिलोत्तमाको बजेट सबैभन्दा बढी



बुटवल । रुपन्देहीका १६ वटा पालिकामध्ये सबैभन्दा बढी बजेट तिलोत्तमा नगरपालिकाले ल्याएको छ । जिल्लामा रहेको एक मात्र उपमहानगरपालिका बुटवलले भन्दा पनि कान्छो नगरपालिकाको रुपमा रहेको तिलोत्तमाले उपमहानगरपालिकाले भन्दा ३७ करोड बढीको बजेट प्रस्तुत गरेको छ । त्यतिमात्र होइन तिलोत्तमा नगरपालिकाले चालु भन्दा पुँजीगततर्फ २३ प्रतिशतले बढी वजेट विनियोजन गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपियाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख जागेश्वर चौधरीले नगरसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकमा आइतबार प्रस्तुत गर्नुभएको बजेटमा चालु खर्च १ अर्ब ६ करोड २४ लाख ५० हजार अर्थात् ३८ दशमलव ७९ प्रतिशत र पूँजीगत खर्च १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार अर्थात् ६१ दशमलव २१ प्रतिशत अनुमान गरिएको छ ।

तिलोत्तमाले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट चालु आर्थिक वर्षको भन्दा ६६ करोड ५ लाख ५६ हजारले बढी हो । चालू आर्थिक वर्षको बजेट २ अर्ब ७ करोड ७८ लाख ८३ हजार रहेको छ ।

बजेटमा आन्तरिक राजस्वतर्फ ४५ करोड २४ लाख ५० हजार आम्दानी हुने लक्ष्य राखिएको छ । यस्तै अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ७७ करोड ९१ लाख ४४ हजार ५ सय २९ रुपियाँ प्राप्त हुने लक्ष्य लिइएको बजेट सार्वजिनक गर्दै उपप्रमुख चौधरीले जानकारी दिनुभयो । बजेटमा आन्तरिक आयतर्फ अपेक्षा गरिएको रकम चालु आर्थिक वर्षको भन्दा ६६ लाख बढी हो ।

बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधारलाई जोड दिइएको उप—प्रमुख चौधरीले बताउनुभयो । बजेटमा स्वास्थ्यमा १४ करोड ३८ लाख ७७ हजार, शिक्षामा ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिंचाईमा ३ करोड २३ लाख ५१ हजार, भवन, सहरी विकास र पूर्वाधारमा २ अर्ब १५ करोड ९५ लाख विनियोजन प्रस्ताव गरिएको छ । यस्तै युवा, खेलकुद तथा मनोरञ्जनतर्फ ७३ लाख, लैङ्गिक समानता तथा सामाजिक समवेशीकरणतर्फ ३ करोड ६५ लाख ५९ हजार बजेट प्रस्ताव गरिएको छ ।

नगरबासीको तीव्र विकासको उत्कट चाहनालाई आत्मसाथ गरी सबै क्षेत्रको समतामुलक विकासलाई दृष्टिगत गरी बजेट तयार पारिएको उपप्रमुख चौधरीले उल्लेख गर्नुभयो । तिलोत्तमा नगरले स्थापित गरेको गरिमालाई थप उचाइँमा पुर्याउने गरी ल्याइएको बजेटले नगरभित्रका बहुआयामिक पक्षलाई सम्बोधन गरिएको उहाँको भनाइ छ । आइतबारको बैठकमा आर्थिक ऐन प्रस्तुत गर्दै बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक समेत रहनुभएकी उपप्रमुख चौधरीले आगामी आर्थिक वर्षको लागि करका दर अधिकांश यथावत् राखिएको र कतिपय छुटेका क्षेत्रलाई करको दायरामा ल्याइएको बताउनुभयो । तेस्रो अधिवेशनको शनिबार बसेको पहिलो बैठकमा नगर प्रमुख रामकृष्ण खांणले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति कार्यक्रम सर्वसम्मतले पारित गरेको थियो । आइतबार प्रस्तुत भएको बजेट तथा आर्थिक ऐनको दफाबार छलफलको लागि नगर प्रमुख खांणले असार १६ गते दिउँसो २ बजे नगरसभाको तेस्रो बैठक बोलाउनु भएको छ ।

बुटवलको बजेट २ अर्ब ३६ करोड

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै २ अर्ब ३६ करोड ५४ लाखको बजेट पेश गरेको छ ।

बुटवल उपमहानगरपालिकाको १३औं अधिवेशनमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै ९१ करोड आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य तय गर्दै शिक्षामा विद्यालय सुधार कार्यक्रम र स्वास्थ्यमा दुईवटा अस्पताल सञ्चालन गर्ने प्रस्ताव पेश गर्नुभएको हो ।

बजेटमा शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, समावेशीकरणतर्फ २७ करोड ४९ लाख, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि ४१ करोड १८ लाख, वडास्तरीय योजनाहरुको लागि १६ करोड ५० लाख, कृषि, पशुपंक्षी विकास, पर्यटन, उद्योग, वाणिज्य, सहकारी र रोजगारतर्फ ४ करोड ४० लाख, फोहोरमैला व्यवस्थापन तथा वातावरणतर्फ १ करोड ८३ लाख छुट्याइएको छ ।

बजेटले स्वास्थ्यतर्फ बुटवल १३ र १७ मा १५÷१५ शैय्याका अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्न २ करोड बजेट छुट्टिएको छ । वडा– १३ को अस्पताललाई चौबिसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न र बुटवल–१४ सेमलार स्वास्थ्य चौकीको स्तरोन्नति गर्दै बर्थिङ सेन्टरलाई चौबीसै घण्टा सञ्चालन गर्ने, बुटवलबासीलाई उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ निशुल्क गराउने घोषणा बजेटमार्फत गरिएको छ ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाका लागि सबै खालको खर्च निःशुल्क गराउन नगरप्रमुख आमा सुरक्षा कार्यक्रम सञ्चालनका लागि १ करोड रुपियाँ बजेट छुट्याइएको उपप्रमुख अर्यालले बताउनुभयो ।

नवजात शिशु र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन जनही २ हजार रुपैयाँका दरले प्रदान गर्ने गरी नगरप्रमुख स्वस्थ शिशु सुत्केरीलाई पोषण कार्यक्रमका लागि १ करोड रुपैयाँ छुट्याइएको छ । यस्तै, १८ वर्षमुनिका एचआइभी संक्रमित बालबालिकालाई पोषणस्थिति सुधार गर्न मासिक रु. ३ हजार दिने, स्तनपान गराउने आमाहरुका लागि उपप्रमुख दुग्धवर्धक जडिबुटी वितरण कार्यक्रम सञ्चालन, नगरवासीलाई जटिल रोगहरु (मुटुरोग, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनेमिया) को उपचारमा जनही १७ हजार रुपैयाँ दिइने राहत अनुदान दिने कार्यक्रमले निरन्तरता पाएका छन् । उज्यालो बुटवल कार्यक्रमअन्तरगत मुख्य मुख्य चोकहरुमा हाइमास्ट लाईट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाईट र सौन्दर्यीकरणका लागि ४ करोड २५ लाख रुपैयाँ छुट्याइएको छ ।

बुटवलको मुख्य सडकक्षेत्रलाई व्यवस्थित र बहुउपयोगी बनाउन पैदलयात्री लेन, साइकल लेन, पार्किङ लेन तय गर्ने र त्यसको व्यवस्थापन तथा सहकार्यमा नगरले जनशक्ति परिचालन गर्ने कार्यक्रम ल्याएको छ ।

नगरक्षेत्र भित्रका सडकहरुमा स–साना खाल्टाखुल्टी पुरी आवतजावतमा सहजता ल्याउन नगरप्रमुख पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्न २ करोड, वडाहरुको समग्र विकासका लागि १६ करोड ५० लाख छुट्याइएको छ । यस्तै, बुटवलमा पार्किङ्ग व्यवस्थापन गर्न सार्वजनिक र निजी जग्गाको उपयोग गर्ने कार्यक्रम नगरले ल्याएको छ ।

महिलाहरुलाई उद्यमी बनाउन प्रोत्साहन गर्नका लागि उपप्रमुख उद्यमशीलता कार्यक्रम, एकल महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउन क्षमता विकास, अपाङ्गता भएका व्यक्तिहरुलाई सीप र रोजगारसँग जोड्ने कार्यक्रम बजेटमा ल्याइएको छ ।

एकल महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्ति इरिक्सा र टेम्पुको सवारी धनी भई स्वयम् चालक भएकाहरुलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र स्वरोजगार महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिने भनिएको छ ।

बजेटपछि संक्षिप्त प्रतिक्रिया दिदै नगर प्रमुख पाण्डेयले यसपटकको बजेटले उज्यालो बुटवल बनाउने, सडकहरुको सौन्दर्यीकरण गर्ने, बसपार्कको सौन्दर्यीकरण गर्ने, सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम र पारामेडिकल शिक्षा शुरु गर्ने, छाडा चौपायाको दीर्घकालीन व्यवस्थापनका लागि गाई राष्टिय निकुञ्ज स्थापनाका लागि प्रदेश सरकार र स्थानीय सरकारहरुसँग पहल गर्ने कार्यक्रम ल्याइएको बताउनुभयो ।

ब्रेकर–२ लुम्बिनीको बजेट ८२ करोड ९९ लाख

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷८१ लागि ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो । जसमा संघको समानीकरण अनुदानतर्फ १७ करोड एकतिस लाख, सशर्त अनुदानतर्फ ३४ करोड ३२ लाख राजस्व बाँडफाडतर्फ १४ करोड ४१ लाख ९७ हजार समपुरक अनुदानतर्फ १ करोड ३० लाखको अनुमान गरिएको छ ।

ब्रेकर–३ ओमसतियाको ४७ करोड ६६ लाख

ओमसतिया गाउँपालिकाको १३औं गाउँसभाले ४७ करोड ६६ लाख ९६ हजार १ सय ७ रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बजेट सार्वजनिक गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले आर्थिक बर्ष २०८०÷८१ मा सो बराबरको अनुमानित आयव्यय पेश गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्