आयात घटाउन अर्थमन्त्रीको जोड



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पर्यटन, कृषि व्यवसाय, आईटी र हाइड्रोपावरको क्षेत्रमा लगानी बढाए प्रतिस्पर्धा बजारबाट फाइदा उठाउन सकिने बताउनुभएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) को २०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले सो कुरा बताउनु भएको हो ।

हामी कुन क्षेत्रमा प्रतिस्पर्धी हुनसक्छौं, कुनमा सक्दैनौं, त्यसको निक्र्योल सरकारले मात्र होइन, निजी क्षेत्रले पनि गर्नुपर्छ, ’ उहाँले भन्नुभयो–‘चलायमान अर्थतन्त्र निर्माणका लागि सरकार प्रतिबद्ध छ, साथै सरकार निर्यात बढाएर आयात घटाउन प्रतिबद्ध र जलविद्युत् निर्यात एउटा सम्भावित क्षेत्र हो ।’

‘हामीले जुन बजेट प्रस्ताव गरेका छौं, कतिपय उद्योगी व्यवसायी बेखुशी हुनुहुन्छ । विशेषगरी व्यापारमा संलग्न साथीहरु खुशी नहुन सक्नुहुन्छ । समग्रमा मन्दीबाट समृद्धिको कुरा, लगानीको नारा प्रस्ताव गर्नुभएको छ, त्यसका लागि त्यो आवश्यक थियो । ट्रेडिङ बेस सिस्टम, बेच्ने हाम्रो कम छ, किन्ने मात्रै छ, यसैमा आधारित हाम्रो अर्थतन्त्रलाई परिवर्तन गर्नुपर्ने अर्थमन्त्रीको भनाइ थियो ।

परिवर्तनको सुरुवात हामीले गरेका छौं, सुधारको पहिलो स्टेप चालेका छौं’ उहाँले भन्नुभयो, ‘सम्पूर्ण सुधारलाई हामीले एकैपटक लैजान सक्ने अवस्था थिएन, समय छोटो थियो, सुधारमा टेकेर हामी २०८१÷८२ मा पुग्दा अहिलेदेखि हामी होमवर्क गर्न थाल्नुपर्छ । हाम्रो आन्तरिक फाइनान्सियल सिस्टम रि–स्टक्चर गर्ने कुरा हो । के प्रभावकारी भयो, के भएन, त्यसको मूल्यांकनको आधारमा हामीले बजेटलाई नयाँ दिशा दिन जरुरी छ ।’

‘हामीले यसपटक कर बढाएका छैनौं । कति कमी वा बढी भयो भन्ने बारेमा तुलनात्मक अध्ययन गरौंला । अहिलेको बजेटमा करको दायरा विस्तार गर्ने कुरा गरेका छौं । भ्याटमा छुटको सूची प्रत्येक वर्ष बढ्दो छ, त्यो छुटको सूची बढ्ने क्रममा रोकेका छौं । एकाउन्टिङ सिस्टममा जान हिचकिच्चाएको देखिन्छ, समस्या त्यही छ’ मन्त्री डा. महतले भन्नुभयो ।

‘कतिपय उद्योग व्यवासयी साथीहरुले हामीलाई अर्को कर लगाइदिए हुन्छ, भ्याट लगाइदिनु भएन भन्नुभयो । भ्याट भ्यालु एडिसनमा मात्रै लाग्ने हो, ट्रान्जेक्सनमा लाग्दैन । नयाँ सिस्टममा जान जुन हिचकिचावट छ, यो पनि समस्या हो,’ मन्त्री डा. महतले भन्नुभयो– ‘नयाँ सिस्टममा हामी जानैपर्छ । सबैलाई यसमा बानी पार्नैपर्छ । जहाँसम्म केही वस्तुहरुमा नलागेको भए हुन्थ्यो भनिएको छ, त्यसमा पनि लजिकहरु छ । कतिपय ठाउँमा प्राविधिक रुपमा इरर भएको हुनसक्छ, समग्रमा हाम्रो अर्थतन्त्रलाई चलायमान गर्नेतर्फ बजेट उन्मुख छ ।’

अर्थतन्त्र अब चलायमान हुन्छ, मौद्रिक नीतिले थप कुरा ल्याउँछ भन्ने कुरामा मलाई विश्वास छ । हामीले पूँजीगत खर्चको स्पेस बढाउन सकिएन । साधारण खर्चअन्तर्गत सामाजिक सुरक्षा खर्चबाट पछि हट्ने सक्ने अवस्था थिएन । साधारण खर्च बढाउँदै जाने प्रवृत्ति रोकेका छौं । अर्कोतर्फ ऋण र ब्याज तिर्ने दायित्व हाम्रो बढ्दै गयो, अर्को वर्ष अझ बढ्दैछ । यो चाहिँ हाम्रा लागि चासो र चिन्ताको विषय हो । यसले पूँजी र खर्चमा दबाब अझ बढ्दै गएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्