राजधानीमा शास्त्रीय रागको बहार



नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परम्परागत तथा शास्त्रीय संगीत विभागले शास्त्रीय संगीत प्रस्तुति कार्यक्रम सम्पन्न गरेको छ।
महांकालस्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा हालै सम्पन्न कार्यक्रम नेपाल शास्त्रीय संगीत समाजको सहआयोजनामा सम्पन्न भएको हो। प्रतिष्ठानका उपकुलपति शम्भु राईको सभाध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा सम्पन्न शास्त्रीय संगीत प्रस्तुति कार्यक्रममा शास्त्रीय रागमा आधारित चार सांगीतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। कार्यक्रममा सुगमा गौतमको गायन, शशांक सापकोटाको तबला वादन र यतिराज अधिकारीको भाइलिन वादनमा भिन्न षडज राग प्रस्तुत गरिएको थियो। त्यस्तै, नगेन्द्र विक्रम राईको बाँसुरी वादनमा मधुमद राग प्रस्तुत गरिएको थियो। उनीसँग नवराज गुरुङ तबला र गीता राईले तानपुरामा थिए।

शास्त्रीय संगीत पारखीको सहभागितामा सम्पन्न कार्यक्रममा सानु तामाङको समूहले मधुवन्ती राग प्रस्तुत गरेको थियो। सो प्रस्तुतिमा गायनमा सानु तामाङ, तबलामा पारसमणी सुवेदी, तानपुरामा गायत्री राना मगर र हार्मोनियममा नवराज सापकोटा थिए। त्यसैगरी, सन्तोषभक्त श्रेष्ठ र समूहले शुद्घ सारंग राग प्रस्तुत गरेको थियो। जसमा सन्तोषभक्त श्रेष्ठ ईशाराज वादन, विदुरराज कर्णिकार तबला र तानपुरामा सिर्जना दुलाल थिए।

कार्यक्रममा शास्त्रीय नृत्य पनि प्रस्तुत गरिएको थियो। झरना श्रेष्ठले भरत नाट्यम र कुमारी नृत्य प्रस्तुत गरेकी थिइन्। अन्तिम प्रस्तुतिस्वरुप जनकल्याण माविका विद्यार्थीले रेशम फिरिरी बोलको गीतमा सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले मानव सभ्यताको पुरानो कला संगीत भएको चर्चा गर्दै शास्त्रीय संगीतमा समय सापेक्ष परिवर्तनको खाँचो रहेको र यसलाई शिक्षासँग जोड्न जरुरी रहेको बताए। आयोजक प्रतिष्ठानका उपकुलपति शम्भु राईले प्रतिष्ठानले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमलाई अझ व्यवस्थित र आम जनतासँगको पहुँचमा पुर्याउने बताए। सह आयोजक नेपाल शास्त्रीय संगीत समाजका अध्यक्ष धनबहादुर गोपालीले शास्त्रीय संगीतबारे युवा पिढीलाई जागृत गर्नका लागि विद्यालयमा कार्यक्रम गरिएको बताए। शास्त्रीय संगीतकार विजय कुमार श्रेष्ठले शास्त्रीय संगीतका वास्तविक साधकमा विशेष प्रकारको गुण हुने चर्चा गरे। ञसंगीतकारले संसार बिर्सन सक्छ, संगीतका वास्तविक साधक सधैं मानिसको मनमा बस्छन्। सफलतामा हतार गर्नुहुन्न, सगरमाथा चढ्दा जुन पाइला बनाइन्छ, त्यसलाई पछ्याउँदै ओर्लने हो, हतारमा हामफाले कता पुगिन्छ थाहा हुन्न, उनले सचेत गराए। परम्परागत तथा शास्त्रीय संगीत विभाग प्रमुख प्राज्ञ डाक्टर राईले परम्परागत तथा शास्त्रीय संगीतका प्रस्तुतिलाई गाउँगाउँमा लैजाने योजना रहेको बताए।

प्रतिक्रिया दिनुहोस्