कानुन बनाउन बुटवलमा राष्ट्रिय पार्क सम्मेलन हुँदै, तयारी पूरा



बुटवल । देभैभर पार्कहरूले भोग्नु परेको कानुनी जटिलता र नीतिगत समस्याको पहिचान र समाधानका लागि साझा धारणा बनाउने उद्देश्यसहित बुटवलमा दुई दिने राष्ट्रिय पार्क सम्मेलन हुने भएको छ ।

यहीँ जेठ ६ र ७ गते हुने पहिलो राष्ट्रिय पार्क सम्मेलनको तयारी पूरा भएको आयोजकले आज (बुधबार) पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

बुटवलको मणिमुकुन्दसेन उद्यान र तिलोत्तमाको शंकर नगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)को नेतृत्वमा नेपालमै पहिलोपटक राष्ट्रिय पार्क सम्मेलन हुने भएको हो ।

सम्मेलनमा देशभरका करिब डेढ सय पार्कको व्यवस्थापन समितिका पदाधिकारी, सरोकारवाला निकायलाई सहभागी गराउने गरी तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।

मणिमुकुन्दसेन उद्यानका अध्यक्ष खेमप्रसाद लुइँटेलले हालसम्म नेपालमा पार्कसम्बन्धी कुनै कानुन, नियमावली नहुँदा जुनुसुकै क्षेत्रबाट सञ्चालित पार्कहरूको विकास र संरक्षणमा समस्या देखिएकोले नीतिगत तहमा समाधान खोज्न सम्मेलनको आयोजना गरिएको बताउनुभयो ।

देशको समृद्धिमा पर्यटन अभिन्न पाटो भएको र पर्यटनको आधार स्तम्भपार्कहरू भएकाले कानुनी र नीतिगतरूपमा सम्बोधनका लागि सम्मेलनले बाटो देखाउने र सरोकारवाला निकायको ध्यानाकर्षण हुने अप्रेक्षा गरिएको अध्यक्ष लुइँटेलले बताउनुभयो ।

सम्मेलनमा संविधानविद् काशीराज दाहाल र वरिष्ठ पत्रकार डिआर घिमिरेले कार्यपत्र पेश गर्ने र त्यसमाथि छलफल हुने कार्ययोजना रहेको छ ।

शंकर नगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)का अध्यक्ष वेलप्रसाद शर्माले पर्यटन, वातावरण संरक्षण, मानव स्वास्थ्य र ठाउँको सौन्दर्यताका लागि पार्कहरूको ठूलो भूमिका र योगदान भएपनि हालसम्म राज्यले कानुनी र नीतिगत रूपमा सम्बोधन नगरेको हुँदा आवश्यक कानुन र नीति निर्माणमा सम्मेलनले प्रभावकारी भूमिका निभाउने विश्वास व्यक्त गर्नुभयो ।

धेरैजसो पार्कहरू वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेलाबेलामा वनसँग हुने विवाद र द्वन्द्व अन्त्यका लागि पनि स्पष्ट कानुन जरुरी रहेको अध्यक्ष शर्माको कथन छ । सम्मेलनले नेपालपार्क महासंघ गठन गरी बुटवल घोषण पत्रसमेत जारी गर्ने मणिमकुन्द सेन उद्यानका प्रमुख कार्यकारी अधिकृत अनन्त सिलवालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्