ब्रोकर लाइसेन्स पाउन आर्थिक चलखेल : न्यू स्टक ब्रोकर एसोसिएसनद्वारा आरोप प्रमाणित गर्न स्टक ब्रोकर्स एसोसिएसनलाई चुनौती



काठमाडौं । नयाँ ब्रोकर लाइसेन्सका लागि पूर्वस्वीकृति (एलओआई) पाएका ४३ वटा ब्रोकरहरुको संगठन न्यू स्टक ब्रोकर एसोसिएसन नेपालले विद्यमान स्टक ब्रोकर्स एसासिएसनले लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ ।

नयाँ ब्रोकर लाइसेन्स पाउन आर्थिक चलखेल भएको भन्दै स्टक ब्रोकर्स एसासिएसन अफ नेपालले विज्ञप्ति जारी गरेपछि त्यसको प्रतिवाद गर्दै नयाँ खुल्न लागेका ब्रोकर कम्पनीहरुले आरोप प्रमाणित गर्न चुनौती दिएका हुन् ।

नयाँ खुल्न लागेका ब्रोकरहरु नयाँ संगठन पनि खोलेका छन् । ५६ लाख लगानीकर्ताको हित र पुँजी बजारको समग्र विकासका लागि नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र कमोडिटी एक्सचेन्ज अपरिहार्य भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नयाँ ब्रोकर कम्पनीहरु आउन लागेपछि सिन्डिकेट गर्न पल्केकाहरु आत्तिएको समेत दाबी गरिएको छ । पुँजी बजारमा नयाँ प्रडक्ट, नयाँ प्रविधि भित्र्याइ लगानीकर्तालाई सेवा र सुविधा दिन अपरिहार्य भएको समेत न्यू स्टक ब्रोकर एसोसिएसनले बताएको छ ।

‘भ्रामक, कवोलकल्पित, आधारहीन विज्ञप्तिले सम्पूर्ण ५६ लाख लगानीकर्ताहरुले गरेको अपेक्षामा तुषारापात गरेको छ,’ नयाँ एसोसियसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । धितोपत्र बजारको विकास र विस्तारको लागि नियामक निकायले लिएको सकारात्म कदमलाई पनि हाल सञ्चालनमा रहेका ब्रोकरहरुले नकारात्म रुपमा टिकाटीप्पणी गरेको नायाँ स्टक ब्रोकर एसोसिएसनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्