बेथान्चोकमा लक्जम्वर्गका मन्त्रीको अवलोकन (तस्बिरसहित )

कृषकका गोठ र खेतमा पुगे मन्त्री 

0
Shares

काभ्रे।

जिल्लाको बेथान्चोक गाउँपालिकाका विभिन्न परियोजनामा लक्जम्वर्गको सहभागितामा नागरिकहरूको सन्तुष्टि तथा आयोजनाको प्रभावका बारेमा सोही देशका विकास सहयोग र मानवीय मामिला मन्त्री फ्रान्ज फेयोटले अवलोकन गर्नु भएको छ ।

 

बेथान्चोक गाउँपालिकामा ग्रामीण विकास संस्थामार्फत गाउँपालिकाको सहयोगमा विद्यालय भवन निर्माण, सहकारी स्थापना गरी कृषि तथा फलफूलको व्यवसायी उत्पादन र बजारीकरण, जलवायु अनुकूलन कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । मन्त्री फ्रान्ज फेयोटले बेथान्चोकलाई मिनी लक्जम्वर्गका रूपमा विकास गर्न गाउँपालिका सँग समन्वय गर्ने बताउनु भयो । ‘सुन्दर र राम्रो वातावरण भएको बेथान्चोकलाई आवश्यक सहयोग प्रदान गर्न समन्वय गर्नेछु’– मन्त्री फ्रान्ज फेयोटले भन्नुभयो–‘गाउँपालिकाको समन्वयमा ग्रामीण विकास संस्था मार्फत हुने कार्यक्रमलाई थप प्रभावकारी बनाउने छु ।’ लक्जम्वर्गको उत्तरी भेग पनि बेथान्चोकको जस्तै आलु लगायतका तरकारी उत्पादन हुने स्थान भएकाले सोही क्षेत्र जस्तै बेथान्चोकलाई पनि कृषि उत्पादनका क्षेत्रमा अघि बढाउन सकिने मन्त्री फ्रान्ज फेयोटले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले लक्जम्वर्ग देशले एईआईएन लक्जम्वर्गको सहयोगमा ग्रामीण विकास संस्थाको समन्वयमा गरेका कार्यहरुको प्रशंशा गर्दै उत्त कार्यको निरन्तरता र थप कार्यक्रमका लागि मन्त्री फेयोटसँग अनुरोध गर्नु भएको थियो । ‘बेथान्थोक हावापानी तथा वातावरणका हिसाबले कृषि र पर्यटनका लागि उपयुक्त पालिका हो’–अध्यक्ष अधिकारीले भन्नुभयो–‘पालिकाको विकासका लागि लक्जम्वर्ग तथा विभिन्न निकायसँगको समन्वय गर्नेछौँ ।’ एईआइएन लक्जम्वर्गको सहयोगमा बेथान्चोक गाउँपालिकामा ग्रामीण महिला तरकारी तथा फलफूल सहकारी संस्थालाई तरकारी तथा फलफूल ढुवानीका लागि ढुवानी साधन उपलब्ध भएको थियो । ताजा तरकारी तथा फलफूल ढुवानीका लागि ‘तरकारी तथा फलफूल’ एम्बुलेन्सका रूपमा उक्त सवारी साधन सञ्चालनमा ल्याइएको छ । महिला सशक्तीकरण तथा आत्मनिर्भरका लागि व्यवसायी खेती गर्ने उद्देश्यले बेथान्चोक गाउँपालिकामा सहकारी मार्फत विभिन्न कार्यक्रम शुरु भएका छन् । मन्त्री फ्रान्ज फेयोटले सहकारी मार्फत भएका उपलब्धि, शेयर सदस्यहरुले भोगेका अनुभूतिहरू र उनीहरूको उत्पादनका बारेमा जानकारी लिनु भयो । कृषकको घरमै पुगेर मन्त्री फ्रान्ज फेयोटले करेसाबारी, व्यवसायी खेती, कृषि तथा पशुपालनका बारेमा जानकारी लिनु भएको थियो । तरकारी ढुवानीका लागि खरिद गरिएको सवारी साधनका लागि एईआइएन लक्जम्वर्गले २५ लाख ८० हजार उपलब्ध गराएको अध्यक्ष विमला अधिकारीले बताउनु भयो ।


ग्रामीण विकास संस्थाकी अध्यक्ष गीता शर्माले २०५० साल देखि संस्थाले निरन्तर ग्रामीण भेगमा नागरिकहरूको जनजीवन सहज बनाउन विभिन्न कार्यक्रम गरिरहेको बताउनु भयो । ‘संस्था स्थापना देखि नै बेथान्चोक लगायतका पालिकाहरुमा खानेपानी, शिक्षा, वातावरण तथा कृषि पशुपालनका क्षेत्रमा कार्य भएको छ’–अध्यक्ष शर्माले भन्नुभयो–‘विभिन्न दातृ निकायसँगको समन्वय तथा नेपालका तीन तहकै सरकारसँगको सहकार्यमा काभ्रेपलाञ्चोक, सोलुखुम्बु, भत्तपुर, दोलखा, गुल्मी, गोर्खा, ललितपुर लगायतका जिल्लामा भूकम्प तथा कोरोनाको विपदको अवस्थामा समेत नागरिकहरूको हितमा कार्य भएको छ ।’ बेथान्चोकका विभिन्न वडाहरुमा अहिले सञ्चालित कार्यक्रमहरुले ग्रामीण स्तरका नागरिहरुको दैनिक जीवनयापनमा थप सहज भएको महसुस गरिएको अध्यक्ष शर्माले बताउनु भयो । २०७८ बैशाख १ गते स्थापना भएको उक्त सहकारीमा १ हजार ७ सदस्य छन् । २८ लाख ८६ हजार ३ सय शेयर पुँजी, २६ लाख २ हजार २ सय २४ कुल बचत, ३४ लाख ४० हजार पुँजीगत अनुदान गरी ९६ लाख १२ हजार १ सय ८८ कुल कारोबार गरेको संस्थाले ६० लाख ३२ हजार ३ सय ३० ऋण १० प्रतिशत ब्याजमा लगानी गरेको छ । ग्रामीण विकास संस्था मार्फत ४१ घर धुरीमा १ हजार बोट किवी, ६९ घर धुरीमा १६ सय बोट कागती, ३१ घर धुरीमा ३१० बोट ओखरका बिरुवा वितरण गरेको छ । अर्ग्यानिक तरकारी उत्पादनका लागि आईपिएम कृषक पाठशाला सञ्चालन गरी जैविक विषादी उत्पादनका लागि आवश्यक पर्ने तालिम प्रदान गरेको छ । पशुपालनका लागि ५ हजार घाँसका बिरुवा वितरण गरेको छ । हात्तीपाइले, गोवन, निमारो, हाडेओखर, जिरा लगायतका घाँसका बिरुवाहरू उपलब्ध गराइएको छ ।

सदस्यहरुलाई ३५ वटा प्लास्टिक टनेल, ४२ वटा गोठ सुधार, ६० घरधुरीमा करेसाबारी निर्माण, ४ घरमा गोबरग्याँस, स्थायी पानी पोखरी मार्फत ६० रोपनी जमिन सिँचाइको कार्यक्रम सम्पन्न भएको छ । जसबाट २० घर परिवार लाभान्वित भएका छन् । जलवायु अनुकूलन कार्यक्रम बेथान्चोकका विभिन्न वडामा सञ्चालन भएका छन् । चार वर्षमा गाउँपालिकाका ४ सय ९७ घर धुरी प्रत्यक्ष प्रभावित हुने गरी कार्यक्रम सञ्चालन गरिएको ग्रामीण विकास संस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले बताउनु भयो । संस्थाकी रचना श्रेष्ठले महिलाहरुको आर्थिक सशक्तीकरणमा ढुवानी सवारी महत्त्वपूर्ण हुने बताउनु भयो । उत्पादित तरकारी तथा फलफूल सिधै बजारमा पु¥याउँदा बिचौलियाबाट ठगिने डर पनि नहुनुका साथै नगदमै कारोबार गर्न सहज भएको बताउनु भयो । बिचौलियाले सामान खरिद गर्दा उधारो लैजाने, कतिपय अवस्थामा सामानको उचित मूल्य पनि नदिने र सामान लगे पछि पैसा पनि नदिने अवस्थाको अन्त्य हुने श्रेष्ठले बताउनु भयो । संस्थाकी सञ्चालक पार्वती सापकोटाले उत्पादित सामाग्रीलाई बजारीकरण गर्न, तरकारीको बेर्ना उत्पादनका लागि नर्सरी निर्माण गर्न, सामुदायिक बिउ बैकको स्थापना गर्न, ज्ञान र सिपको तालिम प्रदान गर्न, महिला किसानहरुका लागि व्यवसायी खेती विस्तार गर्न, विपन्न महिलाहरूलाई आत्मनिर्भर बनाउन, नेतृत्व तथा व्यक्तित्वको विकास गर्न, तरकारी तथा फलफूलका लागि शितभण्डार स्थापना गरी नमुना गाउँ बनाउन आवश्यक सहयोगको अपेक्षा गरिएको बताउनु भयो ।

त्यस्तै मन्त्री फ्रान्ज फेयोटले कपेर आधारभूत विद्यालय बेथान्चोक ५ कामीडाँडाको नव निर्मित भवनको अवलोकन गर्नु भएको थियो । २०७२ बैशाख १२ गतेको भुकम्पले विद्यालयको भवन क्षतिग्रस्त भए पनि पुनर्निर्माण भएको थिएन । १ करोड २७ लाख ८० हजार खर्च भएको उक्त भवन गाउँपालिका, वडा कार्यालय र ग्रामीण विकास संस्थाको संयोजनमा निर्माण गरिएको हो । दुई तल्लाको ६ कोठे पक्की भवन निर्माण भएसँगै बालबालिकाहरुलाई शिक्षा प्राप्तीका लागि सहज भएको छ । ‘भवन बन्दैमा शिक्षा गुणस्तर हुन्छ भन्ने होइन’– संस्थाका कार्यकारी निर्देशक डिएन तिमल्सिनाले भन्नुभयो–‘नमुना विद्यालय निर्माणका लागि शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुनु पर्छ ।’ बेथान्चोक गाउँपालिकामा ग्रामीण विकास संस्थाले सामाजिक परिचालन मार्फत महिला शशक्तिकरण, सहकारीबाट उत्पादित तरकारी ढुवानीका लागि बजारीकरणमा सहज होस भन्ने उद्देश्यले सवारी साधनको उपलब्धता, बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि विद्यालयमा ट्याब्लेट वितरण, जलवायु अनुकूलन विभिन्न कार्यक्रम सञ्चालन तथा गोठ सुधार, पानी पोखरी लगायतका निर्माण कार्य गरिएको तिमल्सिनाले बताउनु भयो ।

कार्यक्रममा लक्जम्वर्गका लागि नेपाल प्रतिनिधि रमेश त्वयना, बेथान्चोक गाउँपालिका निर्वतमान अध्यक्ष प्रेमबहादुर तिमल्सिना, वडा अध्यक्षहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


त्यस्तै मन्त्री फ्रान्ज फेयोटले पार्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने प्राथमिक तहका ६ देखि १० वर्ष उमेर समूहका बालबालिकाहरुका लागि अध्ययन गर्न सहज होस् भन्ने उद्देश्यले हस्तान्तरण गरिएको ट्याब्लेट र त्यसबाट हुने उपलब्धीका बारेमा जानकारी लिनु भएको छ । लक्जम्वर्गका प्रतिनिधिहरूले पार्वती माध्यमिक विद्यालय बेथान्चोकमा अध्ययन गर्ने बालबालिकाहरुका लागि ८ थान ट्याब्लेट उपलब्ध गराएका थिए । ‘हाम्रो देशमा यो ट्यावलेटमा भएको एप प्रयोग गरेर धेरै बालबालिकाहरुको सिकाई सहज बन्यो’– प्रतिनिधि फ्रान्कोले भन्नुभयो–‘नेपालमा पनि बालबालिकाहरुको सिकाई सहज होस् भन्ने उद्देश्यले ६ वर्ष देखि १० वर्ष उमेर समूहका बालबाकिलाहरुको प्रयोगका लागि ट्यावलेटका माध्यमबाट उक्त एप प्रयोग उपलब्ध गराइएको हो ।’ बालबालिकाहरुलाई कक्षा कोठामा अध्ययनको समयमा ट्याब्लेट प्रयोग गरेर एपको माध्यमबाट गणित शिक्षालाई प्रविधि मैत्री रूपमा शिक्षण गर्न सहज हुने प्रधानाध्यापक गोविन्द शर्माले बताउनु भयो । १ सय ३० जना बालबालिकाहरुले ट्याब्लेट प्रयोग गर्ने छन् ।