गौरवका योजनामार्फत तारकेश्वरको विकास गरिरहेका छौं : प्रमुख प्रशासकीय अधिकृत डा. घिमिरे



काठमाडौंको सुन्दर र पर्यटकीय क्षेत्रका रूपमा रहेको तारकेश्वर नगरपालिकाले विकास निर्माणमा उल्लेखनीय सफलता हासिल गर्दै आइरहेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरे निजामती क्षेत्रमा अनुभवी र विकास योजना बनाउन दक्ष प्रशासकका रूपमा परिचित हुनुहुन्छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको सौहार्दपूर्ण र समन्वत्मक सम्बन्धका कारण पालिका विकास निर्माण कार्यमा अगाडि बढ्न सफल भइरहेको उहाँको बुझाइ छ । यसै सन्दर्भमा प्रमुख प्रशासकीय अधिकृत घिमिरेसँग नगरपालिकाका विकास योजना, सेवा प्रवाह, सुशासनलगायतका विषयमा नेपाल समाचारपत्रले गरेको कुराकानीको सम्पादित अंश :

डा. कृष्णबहादुर घिमिरे
प्रमुख प्रशासकीय अधिकृत
तारकेश्वर नगरपालिका, काठमाडौं ।

जनताको नजीकको सरकार भनेर चिनिने तपाईको स्थानीय तहले विकास निर्माण र सेवा प्रवाहलाई कसरी अघि बढाइरहेको छ ?

योजनाहरुको सफलताको लागि योजना छनौटको चरणबाट नै विशेष ध्यान दिई छनौट प्रकृया नै वडा तहबाट शुरु गरिन्छ । वडा तहबाट छनौट भएका र नगरसभाबाट पारित भएका योजनाहरु मध्ये जुन योजनाहरु लाभग्राही वा उपभोक्ता समिति आफैं गर्न तत्परता देखाउंछन् त्यस्ता योजनाहरु उपभोक्ता समितिसंग निश्चित समयावधि तोकी सम्झौता गरी कार्य प्रारम्भ गरिनेछ । यसरी कार्य प्रारम्भ गर्नु अघि उक्त योजनाहरुको प्राविधिक अध्ययनका आधारमा लागत अनुमान तयार गरी उक्त ल ई स्वीकृत गरिने र स्वीकृत लागत अनुमानका आधारमा सम्वन्धित वडा कार्यालयको शिफारिशमा नगरपालिकाले सम्वन्धित उपभोक्ता समितिसंग सम्झौता गरी वडा कार्यालय कै सम्वन्धित प्राविधिकको पूर्ण रेखदेख नियन्त्रण र निर्देशनमा योजनाको कार्यान्वयन गरिनेछ । यसरी कार्यान्वयनको चरणमा नगरबाट नगरप्रमुख, उपप्रमुख र आवश्यकता अनुसार अन्य कर्मचारीहरुले समेत अनुगमन गर्ने गरिन्छ । कामको गुणस्तर कायम गर्न प्राविधिक कर्मचारीहरुलाई विशेष सचेत गराईएको हुन्छ भने अनुगमनका चरणमा समेत गुणस्तरमा ध्यान दिईएको हुन्छ ।

नियमित अनुगमन र प्राविधिक रेखदेख तथा निरीक्षण पश्चात कार्य समपन्न भएमा प्राविधिक नापजांचका आधारमा फाईनल विल तथा कार्य समपन्न प्रतिवेदन तयार गरिन्छ ।

यस वीचमा वडा अध्यक्ष लगायत तोकिएको अनुगमन समितिले उक्त कार्य समपन्न भएको हो वा होईन पुन परीक्षण गरी काम समन्न भएको भएमा फरफारकका लागि अनुगमन प्रतिवेदन बुझाउनु पर्ने हुन्छ ।

अनुगमन समितिको प्रतिवेदन प्राप्त भएपछि उक्त प्रतिवेदनका आधारमा मेजरमेन्ट किताव तथा कार्य समपन्न प्रतिवेदन सहित फाईनल विल भुक्तानीका लागि वडा कार्यालयको शिफारिस नगरपालिकामा प्राप्त हुन्छ । यसरी शिफारिश प्राप्त भए पश्चात कार्यालय प्रमुखले भुक्तानिका लागि पेश भएका कागजातहरु चेकजांचका लागि योजना शाखामा तोक आदेश गरी योजना शाखाको परीक्षण पश्चात आवश्यक कागजातहरु सहित प्रकृया पुगेको भएमा भुक्तानीका लागि निर्णायार्थ पेश गरिन्छ ।

सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन सवै भन्दा पहिले नागरिक वडापत्रमा प्रवाह गरिने सेवा र ती सेवा लिन पुर्याउनु पर्ने विधिका वारेमा उल्लेख गरिन्छ । नागरिक वडापत्रमा उल्लेख भएको विधि र प्रकृयाहरु कसैलाई अस्पष्ट लागेमा कार्यालयमा स्थापना गरिएको हेल्प डेस्कको कर्मचारीबाट आवश्यक पर्ने सहयोग उपलव्ध गराईन्छ । कुनैपनि सेवाग्राही कार्यालयमा सेवा लिन आउनासाथ उहांलाई उचीत आदर सम्मानकासाथ वसाई उहां के सेवा लिन पाल्नु भएको हो सोधपुछ गरिन्छ र उहांको सेवाका लागि पेश भएका कागजातहरु अध्ययन गरिन्छ । सेवा प्रवाह गर्न आवश्यक कागजातहरु पुरा भएमा तत्काल सेवा प्रदान गरिन्छ भने कुनै कागजातहरु अपुग भएका कारण सेवा प्रवाहका गर्न नसकिने देखिएको खण्डमा उक्त कागजात ल्याउन वा विधि प्रकृया पुरा गरी आउन सल्लाह प्रदान गरिन्छ । यसरी सेवाग्राहीलाई मैत्रीपूर्ण ढंङ्गबाट नगरपालिकाबाट प्रदान गरिने सवै किसिमका सेवाहरु सरल तथा प्रभावकारी ढंङ्गबाट प्रदान गर्ने गरिएको छ ।

बजेट, नीति तथा कार्यक्रममको कार्यान्वयन गर्न के–कस्ता योजना बनाउनुभएको छ ?

जनताका प्रत्यक्ष सरोकारका कार्यक्रम तथा योजनालाई नै नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्ने गरेका छौं । आगामी आर्थिक वर्षबाट आवधिक योजनाका आधारमा जनताका सरोकारका योजनाहरुलाई विधिसम्मत् ढंगबाट अगाडि बढाउने तयारी गरिएको छ ।

तारकेश्वरलाई नमुनायोग्य बनाउन विशेष कुनै कार्यक्रम ल्याउनुभएको छ ?

योजना निर्माणको चरणमा नै आफ्नो अधिकार सूचीको विषयमा ध्यान दिई उक्त सूचीमा उल्लेख भए बमोजिम आवधिक, वार्षिक, क्षेत्रगत योजनाहरु बनाउने गरिएको छ । साथै, संघ र प्रदेश सरकारको नीति, लक्ष्य तथा उद्देश्यसँग तादाम्यता कायम गर्दै वातावरण संरक्षण तथा जलवायु परिवर्तन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, विपद् ब्वस्थापन, सुशासन आदि विषयहरुलाई समेत ध्यान दिएका छौं । योजनाको छनोट गरेर कार्यान्वयन गर्ने सोचकासाथ कार्य गरिएको छ । आगामी आर्थिक वर्षबाट यस सोचलाई साकार तुल्याउन नगरको स्रोतभन्दा बाहिर गएर पनि नगरवासीका अत्यावश्यक आवश्यकताको परिपूर्तिका लागि नगर विकास कोषको अनुदान तथा ऋण रकमबाट सञ्चालन हुने दीर्घकालीन योजनाहरु छनोट गरी सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ । यस्ता योजनाहरु नगर गौरवका योजना र वडागत योजनाका रूपमा वर्गीकरण गरी नमुनाका रूपमा नगर विकास गर्ने लक्ष्यकासाथ अघि बढेको अवस्था छ ।

जनप्रतिनिधि विकास निर्माण, सेवा प्रवाह र सुशासन स्थापित गराउन कत्तिको संवेदनशील भएको पाउनुभएको छ ?

हालको नगर नेतृत्व विकास निर्माण लगायत समग्र नगर विकासको पक्षमा अत्यन्त सकारात्मक रहेको पाएको छु । उहाँहरु शिक्षित र युवासमेत हुनुहुन्छ र नगरका शिक्षा, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापन लगायत सबै किसिमका पूर्वाधार विकासमा गुणस्तरीयता सहितको विकासका कार्यमा रणनीतिक योजना सहित कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै संवेदनशील भएर काम गरिरहनुभएको छ ।

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो हुनुपर्छ जस्तो लाग्छ ?

जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध परिपूरक र सुमधुर हुनुपर्दछ । हामीहरुको साझा लक्ष्य नगर विकासको हो । जनप्रतिनिधिहरुबाट ल्याइएका योजना, नीति तथा कार्यक्रमलाई नेपालको प्रचलित कानुनका आधारमा पूरा गर्ने दायित्व कर्मचारी वर्गको हो । यसर्थ यो विषयको गाम्भीर्यता अनुसार अगाडि बढ्दा दुवै पक्षबीचको सम्बन्धमा कुनै पनि किसिमको असमझदारी हुनेछैन र भएको पनि छैन ।

विकास निर्माणमा जनसहभागिता कस्तो पाउनुभएको छ ?

यहाँको विकास निर्माणमा जनसहभागिता राम्रो रहेको छ । अधिकांश कार्य उपभोक्ता समितिमार्फत भएका छन् । केही कार्य ४०÷६० को अवधारणा अनुसार समेत भएका छन् । जनतासँग प्रत्यक्ष सम्बन्धित र उहाँहरुको मागमा आधारित योजनाहरु नगरसभाबाट स्वीकृत भए बमोजिम कार्यान्वयनको चरणमा छन् ।

जनसहभागिता जुटाउन के–कस्ता कार्यक्रम ल्याउनुभएको छ ?

आगामी आर्थिक वर्षदेखि जनचाहना बमोजिमका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिनेछौं । रणनीतिक आवधिक योजना बनाउने उद्देश्यकासाथ कार्य प्रारम्भ भएको छ । यस कार्यमा प्रत्यक्ष जनसहभागिताद्वारा योजनाको छनोटको अवसर दिइनेछ ।

तारकेश्वरमा बेरुजु र सार्वजनिक खरिदको अवस्था कस्तो छ ?

गत आवमा हाम्रो बेरुजु रकम एक प्रतिशतभन्दा कम रहेको थियो । बेरुजु फछ्र्याैटका लागि हामी सक्रिय रहेका छौ । हालको कुल बेरुजु रकमलाई कम्तीमा पनि ५० प्रतिशतभन्दा बढी घटाउने लक्ष्यका साथ काम भइरहेको छ । सार्वजनिक खरिदको कार्य हालको प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावलीका आधारमा मात्र गर्ने गरिएको छ ।

काम गर्दै जाँदा आएका समस्या के छन् ?

अन्य नगरपालिकामा जस्तै साझा समस्या यस नगरपालिकामा पनि छन् । खास गरी, स्रोतसाधन भनेको प्रायः सीमित नै हुन्छ । मागका आधारमा आपूर्ति पक्ष कम हुनु स्वाभाविक नै हो । नवनिर्वाचित जनप्रतिनिधि र जनताका असीमित चाहना सीमित स्रोत साधनबाट पूरा गर्न चुनौती छ । यस समस्याको समाधानका लागि आवधिक योजना तथा रणनीतिक योजनाबाट सम्बोधन गर्ने विचार गरिएको छ । जनसेवा प्रवाहका लागि सूचना प्रविधिको प्रयोगलाई महत्व दिई कार्यक्रम अगाडि बढाएका छौं ।

प्रदेश र केन्द्रीय निकायसँग अन्तरसम्बन्ध कस्तो बनाउनुभएको छ ?

स्थानीय, प्रदेश र संघसँगको अन्तरसम्बन्ध तथा समन्वयको संयन्त्र कानुनद्वारा नै निर्धारण भएको छ । कानुनी र व्यावहारिक दुवै माध्यमको प्रयोग गरी अन्तर तहको अन्तरसम्वन्ध तथा समन्वयको कार्य भइरहेको छ ।

प्रदेश र केन्द्रीय तहबाट के–कस्तो सहयोग र समन्वय पाउनुभएको छ ?

आवश्यकता अनुसार सहयोग र समन्वयको कार्य भइरहेको छ ।

तारकेश्वरले भोग्नुपरेका मुख्य समस्या के छन् ?

उल्लेख्य समस्या खासै छैनन् । तापनि कार्यालय भवन पुरानो हुनु र अपर्याप्त कोठाका कारण कर्मचारी तथा शाखा–उपशाखालाई उचित स्थान दिन सकिएको छैन । आवश्यक संख्यामा कर्मचारी र नगर प्रहरीको पदपूर्ति हुन नसक्नु पनि संगठन विकासका केही मुख्य समस्या पहिचान गरिएको छ ।

समस्या समाधान गर्न के–कस्ता कार्य गरिरहनुभएको छ ?

समस्या समाधानका लागि संगठन तथा व्यवस्थापनको सर्भे गरिएको छ । प्रचलित कानुनका आधारमा समस्याको हल खोज्ने गरेका छौं ।

तारकेश्वरलाई देशभर चिनिने बनाउन विशेष कुनै योजना बनाउनुभएको छ ?

तारकेश्वरलाई नमुनाका रूपमा विकास गर्न नगर नेतृत्व क्रियाशील रहेको छ । यसका लागि आवधिक रणनीतिक योजनाका आधारमा वार्षिक बजेट तथा कार्यक्रम ल्याइएको छ । शिक्षाको जग दह्रो बनाउन सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि प्रयास थालिएको छ । स्वास्थ्यको क्षेत्रमा पनि उल्लेख्य बजेट विनियोजन गर्ने लक्ष्य लिइएको छ । नगरपालिकाको स्रोतको कमी पूरा गर्न नगर विकास कोष अधिकारसम्पन्न वागमती एकीकृत समिति काठमाडांै, उपत्यका विकास प्राधिकरण सडक डिभिजन कार्यालय लगायत प्रदेश सरकार तथा सघीय सरकारका विभिन्न मन्त्रालयहरुसँग विभिन्न शीर्षकमा बजेट विनियोजनका लागि समन्वयकारी भूमिका निर्वाह गरिएको छ । हाम्रो नगरपालिकालाई चिनाउने तारकेश्वर मन्दिर, शान्ति धाम, भुवनेश्वरी मन्दिर लगायतका थुप्रै धार्मिकस्थल र पर्यटकीय स्थल छन् । यसै मार्फत पर्यटक भित्र्याउने योजना बनाएका छौं ।

पालिकाको स्रोत वृद्धि गर्न के–कस्ता पहल गरिरहनुभएको छ ?

करको दायरा बढाउनुका साथै व्यवसाय दर्ता, घरबहाल कर तथा फोहोरमैला व्यवस्थापनका क्षेत्रमा आवश्यक कार्यहरु प्रारम्भ गरिएको छ ।

अन्त्यमा विशेष केही भन्नु छ कि ?

स्थानीय तहको विकासका लागि सबैको व्यवहार र आचरणमा सुधार आवश्यक छ । कानुनी राज्यको अवधारणालाई आत्मसात गरी कर्मचारी जनप्रतिनिधि र नागरिकको आचरण तथा व्यवहारमा सुधार आए विकासले गति लिनसक्छ । तर, एकले अर्कोलाई दोषारोपण मात्र गर्ने हो भने अपेक्षा गरेको कार्य सफल हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्